To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, December 26, 2011

पर्यटन उत्सवमा डुब्यो कालेबुङ पवनहंशको फूल बर्साइ अनि मधिसे रिक्सा बन्यो मुख्य आकर्षण...चिया अनि पर्यटन उत्सव बगानको दुःखमा शहरको नाचगान ....चिया अनि पर्यटन उत्सव आन्दोलनबाट जनताको ध्यान हटाउने चाल-गक्रायुमो

पर्यटन उत्सवमा डुब्यो कालेबुङ पवनहंशको फूल बर्साइ अनि मधिसे रिक्सा बन्यो मुख्य आकर्षण
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 26 दिसम्बर। आजदेखि कालेबुङमा शुरू भएको चारदिने चिया अनि पर्यटन उत्सवको प्रथम दिन कार्यक्रममा हवाइजहाज पवनहंशको फूल बर्साइ अनि मधिसे रिक्सा मुख्य आकर्षण बन्यो। पहाडमा मधिसे रिक्सामा चडेर नानीहरूले नगर परिक्रमा गर्नु कालेबुङवासीको निम्ति नौलो अनुभव रह्यो। कार्यक्रम अवधी हवाइजहाज पवनहंशले आकाशबाट फूल बर्साउदा झनै कार्यक्रमको रौनकता बढेको थियो। यसबाहेक पनि आज सोही पवनहंशमा नै धेरैले 10 मिनटको कालेबुङ नगर परिक्रमा गर्ने सुयोग पाए। जिल्ला प्रशासनको तत्परतामा दार्जीलिङमा 20 देखि 5 दिसम्बरसम्म चल्ने यस चिया अनि पर्यटन उत्सव आजदेखि कालेबुङमा शुरू भएर 29 दिसम्बरमा समापन हुने भएको छ।

Photo: Mani Tamang
आज प्रथम दिनको कार्यक्रममा मुख्य अतिथि 27 माउण्टेन डिभिजनका मेजर जेनरल बबी म्येथ्यु रहेका थिए भने जिल्लापाल सौमित्र मोहन विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। स्थानीय थाना डॉंडा परिसरमा मख्य अतिथिले झण्डा फहराएपछि नगरमा विभिन्न प्रदर्शनीहरूको आयोजना गरिएको थियो।  प्रदर्शनीमा झॉंकीसँगै जादुगर, रिक्सा, घोडा, शान्ताक्लज, इस्नो लायन, चार्ली च्याप्लिन, लम्बु, मिक्की माउस आदि रहेको थियो। सोही प्रदर्शनीअवधी विभिन्न सम्प्रदायका मानिसहरूले आ-आफ्ने वेशभूसा, बाजागाजाहरूसँगै नॉंच्दै-गाउँदै निस्केको झॉंकी प्रदर्शनीसँगै आर्मी पेरेडले अझ कार्यक्रमलाई आकर्षक बनाएको थियो। पर्यटन उत्सवको निम्ति श्रृंगारिएको जनमुक्ति पार्क अनि कुरकुटी हाउसको आयोजनामा रोरिकको चित्रकला प्रदर्शनीको पनि आज मुख्य अतिथिले उद्घाटन गरे। यसरी नै मेलाटारमा गुन्द्रिबजार, फोटो अनि कला प्रदर्शनी, बन विभागको प्रदर्शनी, हस्तकला, सांस्कृतिक खानपान आदि पनि राखिएको छ।  
Photo: Mani Tamang
आज अपरान्ह मेलाटारमा विभिन्न सम्प्रदायहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने बेलुकी स्थानीय रिभुलेशनरी व्याण्डले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे। मेलाटारमा सम्पन्न कार्यक्रमअवधी सम्बोधन गर्दै मुख्य अतिथि मेजर जेनरल बबी म्येथ्युले भने, कालेबुङ एक सुन्दर हिल स्टेशन रहेछ। यहॉं हेर्न लायकको धेरै ठाउँहरू रहेको छ, मानिसहरू राम्रा रहेछन्‌, स्त्रीहरू  औधी सुन्दर छन्‌, कालेबुङमा पर्यटकहरू आउनसक्ने थुप्रै सम्भावना रहेको छ। यति हुँदाहुँदै पनि कालेबुङलाई किन  पर्यटनको मुख्य केन्द्र बनाउन सकिरहेको छैन। विभागसँगै जनताले पनि जागरूकता देखाए कालेबुङ अवश्य पनि एक सुन्दर पर्यटकीय स्थलको रूपमा स्थापित हुने पनि तिनले बताए। तिनले अन्तमा भने, यदि कालेबुङलाई प्रशिद्ध पर्यटकीय स्थलको रूपमा स्थापित गर्न नसके, भगवानले भन्नेछ, मेलै कालेबुङलाई यति सुन्दर बनाएर पनि त्यसको कदर भएन। गोवामा जस्तो पर्यटक उत्सव आगामी दिनमा कालेबुङले पनि गर्नसक्नुपर्छ भन्ने तिनले सुझाउ राख्दै आजदेखि कालेबुङमा पर्यटक उत्सव शुरू भएको औपचारिक घोषणा गरे। 
यसरी नै आयोजक पक्षको सभापतिको पक्षबाट बोल्दै महकुमा अधिकारी एलएन शेर्पाले कोशिशले नै समाजमा परिवर्तन ल्याउन सकिने बताउँदै भने, पर्यटकहरूलाई पहाड भित्राउन जेसुकै होस्‌ कोशिश अवश्य गर्नुपर्छ विभागले मात्र गरेर हुँदैन  सर्वसाधारणले पनि साथ दिनु जरूरी छ। चित्त ठूलो राख्नुपर्छ, पर्यटन भित्राउने बलिया प्रस्तावहरू मानिसहरूले हामीलाई दिनपर्छ। पर्यटकहरू पहाड भित्रिँदा विभागलाई मात्र फाइदा नहुने बताउँदै होटल मालिक, व्यवसाय, चालक लगायत सर्वसाधरणलाई प्रत्यक्ष अथवा परोक्ष रूपमा लाभ हुने पनि अधिकारीले बताउँदै कार्यक्रम सफलिभूत भएकोमा तिनले सबैप्रति आभार प्रकट गरे। 
चिया अनि पर्यटन उत्सव बगानको दुःखमा शहरको नाचगान
Photo: Mani Tamang
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 26 दिसम्बर। कुनै पनि चिया श्रमिकहरू अनि विदेशी पर्यटकहरूको विना संलग्नता कालेबुङमा चिया अनि पर्यटन उत्सव शुरू भयो। कालेबुङ महकुमामा चारवटा चियाबारी छन्‌। सामसिङ, कुमाई, मिशनहिल अनि सामावियोङ तर यी चारवटामा कुनै पनि चियाबारीका श्रमिकहरूको संलग्नता चिया अनि पर्यटन उत्सवमा थिएन न त विदेशी पर्यटकहरूकै संलग्नता थियो। कालेबुङका स्थानीय मानिसहरूको उपस्थितिमा नै उत्सव त भयो तर स्थानीय मानिसहरूले नौलो कुनै पनि प्रस्तुति देख्न पाएनन्‌। हेलिकप्टरबाट फूल छर्ने कार्यक्रम हेर्न मात्र मानिसहरूको घुँइचो लागेको थियो। जुन उद्देश्यले उत्सव गरियो त्यसले आखिरमा कसैलाई पनि फाइदा नपुग्ने देखियो।
होटलहरूमा केही स्वदेशी पर्यटकहरूले बुकिङ गरेको भए पनि उनीहरूबाट खासै लाभ कालेबुङवासीलाई छैन किन भने उनीहरू सीमित लक्ष्य र केवल मनोरञ्जनको निम्ति आउने भएकोले उनीहरूबाट न त बजार तातिने गरेको छ न त कालेबुङका वाहन चालकहरूले नै पर्यटक घुमाउन पाइरहेका छन्‌। यो उत्सवले चार दिन 12 हजार चालकहरूको रोजीरोटीमा ताला लगाउने छ। तलैबाट वाहन लिएर आउने, तलैबाट खाने कुरा लिएर आउने अनि होटलमा बसेर दृश्यलोकन गरेर मात्र फर्किने पर्यटकहरू मात्र कालेबुङ आउने गरेका छन्‌। किन भने सरकारले अहिलेसम्म कालेबुङको पर्यटन उत्थानको निम्ति कुनै पनि पर्यटनस्थलको विकासको निम्ति खर्च गरेको छैन। खर्च गरेको छ भने नाचगानको निम्ति मात्र। छुट्टै राज्य हुँदैन भनेर घोषणा गर्दा नाचगान गर्नेहरूको निम्ति पर्यटन उत्सव पनि नाचगानको गतिलो मञ्च बनेको देखिएको छ। कालेबुङमा पर्यटनस्थलहरू डेलो, दूर्विन, टिस्टा, कफेर, लाभा, रेली प्रमुख रहेको छ तर यी सबै आफैआफमा पर्यटनस्थलकोरुपमा स्थापित छन्‌। कफेर धेरै राम्रो पर्यटनस्थल रहेको छ तर यहॉं जॉंदा पर्यटकहरूले वान्ता नगरी हुँदैन। न त बाटो राम्रो छ न त पर्यटनीय व्यवस्थापन नै छ।

Photo: Mani Tamang
वास्तवमा कालेबुङको प्राकृतिक स्थलहरूले नै पर्यटन तान्ने गरेको छ। कालेबुङमा भएको उत्सवले पर्यटकहरू तान्ने होइन स्थानीयहरूको रोजी रोटी नै सुकाउने मेलो गरेको नाम बताउन नचाहने एक वाहन चालकले बताएका छन्‌। चारदिनको कमाई वाहन चालकहरूले गुमाउन परिरहेको छ किन भने उत्सवसित वाहन चालकहरूको फाइदाको कुरा केही जोडिएको छैन। बरु उनीहरूको चलिरहेको काम पनि उत्सवले रोकिरहेको छ। 'भन्नु भएको छैन, पोलिटिकल कुरो भइहाल्छ'-एक चालकले भने। मुख्यगरी लोकल खेप्ने चालकहरू, उनीहरूको रोजीरोटीमा नै उत्सवले धक्का दिइरहेको छ। 'खै सबै रमिता हेर्छन्‌, यस्तोमा बिक्रि बट्टा नै ठप्प हुन्छ, हामीलाई के को उत्सव?'-एक पसलेले पनि यसो भनेका छन्‌। महकुमा अधिकारी एलएन शेर्पाले भने, जनताले सहयोग गरे, कालेबुङलाई पर्यटनस्थल बनाउन सकिन्छ। तिनले यसरी भनिरहेका थिए कि पर्यटनस्थल बनाउन कालेबुङवासीले बाधा गरिरहेको छ। केवल पर्यटन उत्सव मनाउँदैमा कालेबुङ पर्यटनको केन्द्र बन्न सक्दैन भन्ने कुरा बुझ्न नसकेका सरकारी अधिकारीहरूले सरकारको आदेशलाई मात्र पालन गर्दै उत्सवको औपचारिकता पालन गरिरहेको सबैको आँखा साम्मुने रहेको छ।
Photo: Mani Tamang
'नाचगानमा खर्च गर्नु भन्दा कफेर जाने बाटो बनाउनु नी, त्यसले पर्यटकहरूलाई फाइदा हुन्छ' कफेरबाट उत्सव हेर्न आएका एक व्यक्तिले भने। तिनलाई पनि नाचगान गर्नुलाई उत्सव भनिन्छ भन्ने कुरा पचेको रहेनछ। उत्सव भनेको चिया श्रमिकहरूको हितमा कम्पनीले सहुलियतहरू प्रदान गरेर उन्नत चियाको उद्योग बढाउनुमा श्रमिकहरूलाई प्रोत्साहित गर्नु हुने लागेको रहेछ। तिनले भने, 'बोल्यो कि भिक्टिमाइज भइहालिन्छ, नाम चॉंही नछापिदिनु होला नी।' पर्यटनस्थलको विकास चॉंही नगर्ने अनि चियावगानमा श्रमिकहरुलाई भने लाखौं दुःख रहेको अवस्थामा शहरमा उत्सव मनाउनु पनि राम्रो नलागेको मिशनहिलका एक श्रमिकले बताए। तिनले भने, उत्सव मनाउनेहरू आएर श्रमिकको घर परिवार हेरोस्‌, मञ्चमा ठूल्ठूलो कुरा गर्नेहरूले श्रमिकहरू नै देखेका छैनन्‌, यसैकारण पालन गर्छन्‌ उनीहरू उत्सव।श्रमिकको दुःखमा खुशी मनाउनेहरूलाई भन्नु केही छैन। यो उत्सव चिया श्रमिकहरुको खिल्ली उडाइएको हो। चिया श्रमिकहरुको हितमा कार्य गर्दै आइरहेका जनम राई कमानेले नामै लेखिदिने शर्तमा भने, जहॉं मर्दको सुत्केरी भत्ता काटिन्छ, त्यहॉं उत्सव? शहर बजारेले देखेको छ चियाको बोट र उनीहरूले मनाउँछ उत्सव? यो उत्सव केवल मालिकहरूलाई नाफा दिने अनि श्रमिकहरूलाई शोषण गर्नेहरूको चलखेल मात्र हो। आज उत्सव त भयो तर यो उत्सव कसको निम्ति हो? भन्ने प्रश्न उठाएर नै शुरू भयो। किन भने नाचगान बाहेक उत्सवमा नयॉं केही थिएन। के नाचगान नै उत्सव हो? त्यो नाचगान जसलाई हेर्ने न त पर्यटक थिए न त श्रमिकहरू।
चिया अनि पर्यटन उत्सव आन्दोलनबाट जनताको ध्यान हटाउने चाल-गक्रायुमो

Photo: Mani Tamang
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 26 दिसम्बर। चिया बगानहरू बन्द छन्‌। श्रमिकहरू भोकभोकै छन्‌। न त अस्पताल छ न त औषधी। श्रमिकहरूले पाउनु पर्ने सहुलियत नदिएर मालिकपक्षले श्रमिकहरुको शोषण गरिरहेको छ। विश्वमा ब्राण्ड बनिसकेको दार्जीलिङ चिया उमार्ने श्रमिकहरुको अवस्था नाजुक छ। यता सरकारले श्रमिकको हकहितको निम्ति काम नगरेर करोडौं खर्च गरेर गोर्खाहरूलाई नाच्न गाउनको निम्ति उत्सव गरिरहेको छ। यो केही होइन, हो भने छुट्टै राज्यको निम्ति भइरहेको आन्दोलनबाट जनताको ध्यान अर्कोतिर मोड्‌नु मात्र हो- गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव अरुण घतानीले आज यसो भने। जुन जनताले बङ्गालबाटको मुक्तिको कुरा गरिरहेको छ, उनीहरूलाई पैसा छरेर सरकारी एजेन्टहरू लगाएर भुल्याउने कार्य गरिरहेको बताउँदै तिनले भने, श्रमिकहरू मरिरहेको बेला के को चिया उत्सव?
बाटो घाटो भने घोडा हिड्‌न लायकको पनि छैन, के को पर्यटन उत्सव? सरकारले पर्यटन उत्सवबाट फाइदा हेरेको छ भने केवल राज्यवको निम्ति, श्रमिक र स्थानीय मानिसहरूको निम्ति के गरेको छ? तिनले भने, श्रमिकहरुको रोज जमाना अनुसारको छैन, रोजवृद्धि नगरेर किन करोडौं नाचगानमा खर्च गरिरहेको छ? जुन चिया विश्वमा वेचिन्छ, त्यो उमार्ने श्रमिक नै थला परेका छन्‌ भने उत्सव के को निम्ति? तिनले स्पष्ट पारे वास्तवमा सरकार पहाडमा भइरहेको छुट्टै राज्यको आन्दोलनदेखि असाध्यै डराएको छ। तिनले बताए अनुसार मोर्चालाई किनेर सरकारलाई लागेको थियो कि अब छुट्टै राज्यको मुद्दा सकियो तर अहिले राष्ट्रियस्तरमा छुट्टै राज्यको आन्दोलन अनि जीटीए विरुद्धको आन्दोलन शुरू भएपछि जनताको ध्यान आन्दोलनतिर जान्छ भनेर नै करोडौं खर्च गरेर औचित्यहीन उत्सव पहाडमा मनाइरहेको छ। तिनले भने, ममता व्यानर्जीलाई थाहा छ, डुब्दाडुब्दै पनि नेताले आफू डुबेकोमा ताली मार्छ, कम्मर मर्काउँछ। जनतालाई नाचगान भयो भने केही चॉंहिदैन। अहिले छुट्टैराज्यको आन्दोलनकारीहरूलाई लगाम लगाउने सोझै नसक्ने भएपछि नाचगान गरेर आन्दोलनलाई बाधा गर्न मात्र होइन जनताको ध्यान अर्कोतिर मोड्‌न सकिन्छ भन्ने सरकारलाई लागेको छ। तर उत्सव पालन गर्दैमा श्रमिकहरूले आवाज उठाउँदैन भन्ने सोंच गलत हो।

युवा मोर्चाको आन्दोलन नाटक
अर्कोतिर घतानीले मोर्चाको युवा सङ्गठनले गरिरहेको छुट्टै राज्यको आन्दोलन रोक्ने मोर्चालाई दिएको चुनौती हॉंस्यस्पद रहेको बताएका छन्‌। तिनले भने, सबैलाई थाहा छ युवा मोर्चाको आन्दोलन नाटक मात्र हो। अब ममता व्यानर्जीको एकै वाक्यले युवा मोर्चालाई मात्र होइन केन्द्रिय कमिटीको धमासमा नै चाबी लाग्ने छ। वास्तवमा यी सबै चलखेलहरू मात्र हुन्‌। तिनले भने अनुसार जीटीएमा हस्ताक्षर गरेर मुद्दा बेच्नेले आन्दोलन नै गर्न सक्दैन। जीटीए नै गोर्खाल्याण्डको समाधान हो भनेर मोर्चाले केन्द्रलाई बुझाएको कुरा गतल हो भन्न क्रामाकपा र गोर्खाल्याण्ड टास्क फोर्स सक्षम बनिसकेको छ। क्रामाकपा अनि फोर्सले आन्दोलन शुरू गरेपछि ऐठनमा पर्ने डरले मात्र युवा मोर्चालाई लगाएर गोर्खाल्याण्ड भनिरहेको छ। ममता व्यानर्जीको एकै वाक्यले अब युवा मोर्चा थन्को लाग्ने छ। तिनले के पनि भनेका छन्‌ भने अब युवा मोर्चालाई देखाएर क्रामाकपा र फोर्सको आन्दोलन विथोल्ने चाल सरकारले मोर्चाको सहयोग लिएर नै गर्न शुरु गरिरहेको छ। युवा मोर्चाको आन्दोलनलाई रोक्ने वहानामा सरकारले असली आन्दोलनलाई विथोल्ने षयन्त्र गरिरहेको छ। युवा मोर्चाको आन्दोलन यसै कारण नक्कली हो कि आन्दोलन दबाउनमा यसले सरकारलाई सहयोग गर्ने छ।

No comments:

Post a Comment