To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, April 6, 2011

मत विभाजनः तराजुमा दलहरू.... चुनावी युद्ध शुरू, तैनाथ प्रशासन.... साङ्‌सेरमा गोरामुमो शाखाले पालन गर्‍यो स्थापना दिवस ....मोर्चालाई घेर्ने काम गर्दैछ-भूजेल .. Gorkha Forum in Congress campaign .... PC to visit hills, focus on Gorkhaland

मत विभाजनः तराजुमा दलहरू
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,5 अप्रेल|बङ्गालको विधानसभामा पहाड़ी विधायक बन्नको निम्ति प्रतिद्वन्द्विहरू चुनाउ मैदानमा उत्रिसकेका छन्‌। कंग्रेसले भीड़न्तको निम्ति तयार रहेको हात उठाएर सूचित गरिसकेको छ। भाकपाका उम्मेद्वार सिलगढ़ीबाट नै कालेबुङ आसनमा विधायकत्व हत्याउन कालेबुङ धाइरहेका छन्‌ भने मूल थलोबाट राजनैतिक रूपले निर्वासित गोरामुमो उम्मेद्वार चङ्गामा चढ़ेर युद्धको निम्ति सिलगढ़ीबाट पहाड़ प्रस्थान गरिसकेका छन्‌। शुरूमा बङ्गालको भोट नलड्ने प्रतिबद्धता जनतामा राखेर राजनैतिक वर्चस्व कायम राखिसकेको पहाड़कै बलियो मानिएको गोजमुमो, राजनैतिक परिस्थितिसित जुझ्नैको निम्ति चुनाउ लड्ने सम्झौताको टेबलमा आइसकेको छ। गोजमुमोसित मुद्दा छुट्टै राज्य निर्माण रहेको छ। यद्यपि, मोर्चालाई सोझै गोर्खाल्याण्ड हुने कुरामा विश्वास छैन। गोर्खाल्याण्ड अघि कुनै पनि व्यवस्था स्वीकार गर्नुपर्ने बाध्यता रहने कुरालाई अघि राख्दै, मोर्चाले सैद्धान्तिक कसरत कायम राखिरहेको छ।
छुट्टै राज्य मात्र होइन, शान्ति र गणतन्त्रलाई खोज्न, गोर्खालीग पनि मोमबत्ती बोकेर मैदानमा देखापरेको छ। राजनैतिक पर्यवेक्षक वा समीक्षकहरूले विधानसभा चुनाउको बहानामा मुख्य रूपले तीनोटा नयॉं परिस्थिति निर्माण हुने अनुमान गरिरहेका छन्‌। एक हो, गोरामुमो जो चुनाउकै बहानामा, पहाड़मा गुमेको दलीय गरिमा फर्काइल्याउने मनोस्थितिमा छ। पहाड़को राजनैतिक क्षेत्रबाट झन्नै चुड़िएको चङ्गा झैं भइसकेको गोरामुमो चङ्गामा नै चढ़ेर राजनैतिक वर्चस्व पुनर्स्थापित गर्ने ताकमा छ। दोस्रो हो, गोर्खालीग जसलाई जनता बिनाको दल भनेर गोर्खा जनमुक्ति मोर्चाले आरोप लगाउने गरेको छ। अहिलेसम्म गोर्खालीगले आफ्ना समर्थकहरूलाई लिएर शक्ति प्रदर्शन गरेको छैन, यसैले मोर्चाको आरोपलाई नकार्न कतैबाट पनि सकिँदैन। गोर्खालीग यही चुनाउको माध्यमबाट दलीय शक्ति परिक्षण गर्न मैदान उत्रिएको छ। विधानसभाबाट न त गोर्खाल्याण्ड ल्याउन सकिन्छ, न त शान्ति र गणतन्त्र पहाड़मा स्थापित नै गर्न सकिन्छ, सकिन्छ भने केवल आफ्नो पक्षमा जनमत चुड़ान्त पार्न सकिन्छ। दलमा जनताको पक्ष प्रमाणित गर्न सकिन्छ।
यो विधानसभा चुनाउ गोर्खालीगको निम्ति अग्निपरीक्षा नै बन्नेछ किनभने मोर्चाको जनताहीन दल-को आरोपबाट लीगलाई मुक्त हुनु छ। लीग आफ्नो पक्षमा जनता कति छ भन्ने कुरा प्रमाणित गर्न कम्मर कसेरै अघि आएको छ। लीग यो परीक्षामा कुन दर्जामा उत्तीर्ण हुन्छ, मतगणनाको  दिन नै तय हुन्छ। तेस्रो हो गोजमुमो, जो यो चुनाउलाई आन्दोलन मानेर उत्रिएको छ। मोर्चाले आन्दोलन यसकारण मानेको छ कि मोर्चाले पहाड़को जनमत गोर्खाल्याण्डको पक्षमा पूर्ण प्रतिशत रहेको देखाउनुपर्नेछ। यसपल्ट धेरै दल चुनाउ मैदानमा रहेकोले मत विभाजनको स्थिति छ। यस्तोमा लोकसभा चुनाउमा झैं मोर्चाले यसपल्ट पूर्ण प्रतिशत मत पाउने कुरा निक्कै अविश्वसनीय बनेको छ। यता मोर्चाले सोझै गोर्खाल्याण्ड हुँदैन पनि भनिरहेको छ, अर्कोतिर विधानसभामा जनमत पनि विभिन्न मुद्दामा विभाजित भइरहेको छ।
मत विभाजन नै सोझै गोर्खाल्याण्ड पुग्ने मार्गको बाधा त बन्दैन? निःसन्देह यो प्रश्नको उत्तर खुबै जटिल छ। यसरी देखिएकै राजनैतिक परिस्थितिलाई विश्लेषण गर्दै क्रामाकपाले जनतालाई भोट नहाल्ने अपील त गरिरहेको छ तर क्रामाकपाले भोट हाल्दा र नहाल्दा मुद्दालाई कहॉंनेर फाइदा र नोक्सान छ स्पष्ट पार्न सकेको छैन। क्रामाकपाले भोट हाले पनि नहाले पनि पहाड़को तीन आसनबाट विधायक त जान्छन्‌ नै, यस हिसाबले क्रामाकपाले दलको छबीलाई अक्षुण्ण राख्ने कुटनीति नै विधानसभा चुनाउमा अप्नाएको पर्यवेक्षकहरूको धारणा छ।
हार र जीत कसको हुन्छ, यी कुराहरू साह्रै महत्त्वपूर्ण होइनन्‌ तर यही विधानसभा चुनाउले गोर्खाल्याण्ड आन्दोलनको उमेर निर्धारण गर्ने भने पक्कापक्की छ। दलीय भीड़न्त निक्कै चाखलाग्दो त हुने नै छ, गम्भीर पनि हुनेछ। दलीय वर्चस्वको खेलमा दलीय अन्तरविरोधको हिलोले पहाड़को गरिमालाई कलङि्‌कत पार्ने चलखेल चर्किने सम्भावना छ। यसैकारण नै प्रशासन निक्कै तैनाथ बसेको छ। सुरक्षा बल वा पुलिसका जवानहरूलाई परिस्थिति नियन्त्रण र सहज परिवेश निर्माण गर्नको निम्ति प्रशिक्षण दिइने क्रम जारी छ। गोजमुमोले जनताको मुद्दालाई टेबलमा ल्याएर कसरी मन्थन गर्ने हो, लीगले मोमबत्तीको उज्यालोमा जनताको आकांक्षा भेट्‌ने हो, होइन, गोरामुमो चङ्गा झैं बत्तिएर कतै हराउने हो वा चङ्गामा चढ़ेरै अस्तित्व निर्माणमा सफलता प्राप्त गर्ने हो जनताले यसै विधानसभा चुनाउबाट सबै कति पानीमा छन्‌ छर्लङ्ग हुने गरी देख्न पाउनेछन्‌।

चुनावी युद्ध शुरू, तैनाथ प्रशासन
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,5 अप्रेल|यसपल्टको विधानसभा चुनाउ लड्न पॉंचवटा दलले उम्मेद्वारहरू खड़ा गरेको छ। गोजमुमोबाट डा. हर्कबहादुर छेत्री, अभागोलीबाट त्रिभुवन राई, गोरामुमोबाट प्रकाश दाहाल, कंग्रेसबाट शान्तिकुमार शर्मा अनि माकपाबाट विक्रम छेत्री एकअर्कामा भिड्नेछन्‌। कट्टर विरोधी शक्तिहरू एकार्कामा भीड्ने भएकोले परिस्थिति जटिल बन्ने सम्भावना छ। यद्यपि महकुमा अधिकारीले सबै दलले चुनाउ आयोगले लागू गरेको चुनाउ आचार संहितालाई अक्षरस्‌ पालन गर्नुपर्ने सुझाव दिएका छन्‌।
महकुमा अधिकारी शेर्पाले कालेबुङ विधानसभा समष्टिमा 19 वटा संवेदनशील बुथ रहेको जनाएका छन्‌। तिनी अनुसार यो समष्टिमा 24 वटा बुथ दुर्गम क्षेत्रमा रहेका छन्‌। संवेदनशील अनि दुर्गम दुवै क्षेत्रमा शान्ति कायम राख्न प्रशासनिक पहललाई तीब्र राखिएको छ। 18 अप्रेलको दिन विधानसभामा पहाड़का जनताले आफ्नो मत खसाल्नेछन्‌। यस अवधि कते पनि अशान्ति हुन नदिने पक्षमा प्रशासन कटिबद्ध छ। शान्ति र गणतान्त्रिक परिवेशलाई अक्षुण्ण राख्न उम्मेद्वारहरूले आचार संहितालाई पालन गर्ने अपील गरि गरिएको छ। यस अवधी कुनै पनि उम्मेद्वारले प्रशासनिक अनुमति बिना वाहन समेत प्रयोग गर्न पाउने छैनन्‌। अनुमतिबिना नै प्रयोग गरे कार्वाही हुने चेतावनी दिइएको छ। चुनाउलाई लिएर राजनैतिक हावा निक्कै तात्तिएको छ।
दलहरूले आफ्नो उम्मेद्वारहरूलाई विधानसभा पठाउन राजनैतिक कसरत तीब्रता दिइसकेको छ। दलहरूले प्रचार अभियान पनि शुरू गरिरहेको छ भने चुनाउमा शान्ति कायम राख्न प्रशासन पनि तयारीमा छ। पहाड़मा शान्ति बनाइराख्न सबै पुलिङ बुथहरूमा अर्द्धसैनिक बल तैनाथ राख्ने कार्य प्रशासनले शुरू गरिसकेको छ। हाल प्रशासनले कतै पनि अशान्ति हुन नदिन विभिन्न क्षेत्रहरूमा नाका निरीक्षण, फुट पेट्रोलिङ, मोबाइल चेकिङ तथा विभिन्न जॉंच कार्यलाई तीब्रता दिइरहेको छ। यहॉंको मेला ग्राउण्डमा आज पनि पुलिसकर्मीहरूलाई चुनाउ अघि शान्ति कायम राख्न प्रशिक्षण दिइयो।
साङ्‌सेरमा गोरामुमो शाखाले पालन गर्‍यो स्थापना दिवस
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,5 अप्रेल|दार्जीलिङ अनि खरसाङतिर गोरामुमोले शक्ति प्रदर्शन गर्दै आफ्नो कार्यक्रमहरू गरिरहेको भए पनि कालेबुङमा अहिलेसम्म गोरामुमोले कुनै कार्यक्रम गरेको थिएन तर आज साङसेर सिन्कोना बगानका गोरामुमो समर्थकहरूले लोवर मन्सीधुरामा अवस्थित पार्टी कार्यालयमा दलको 31औं स्थापना दिवस पालन गरेर कालेबुङमा पनि गोरामुमोको वर्चस्व अझ पनि रहेको स्पष्ट सङ्‌केत दिएको छ। साङसेर गोरामुमो शाखाको आयोजनामा सम्पन्न भएको आजको कार्यक्रममा कालेबुङ, मन्सोङ नयॉं कमान आदि क्षेत्रका 50-60 जना समर्थकहरूको उपस्थिति रहेको थियो। साङसेर शाखा अध्यक्ष धन प्रधानले भने, आजको कार्यक्रममा जनसाधारणलाई समावेश नगरी केवल प्रतिनिधिहरूलाई मात्र लिएर आयोजना गरिएको हो। उनले पहिला गणतन्त्र फर्किनु जरूरी रहेको बताउँदै त्यसपछि मात्र चुनाउलाई प्राथमिकता दिने बताए। तिनले अहिले परिस्थिति अनुकूल रहेकोले आफूहरू खुलेर अघि आएको बताए।  निर्वासित गोरामुमोका नेताहरू जबसम्म पहाड़ चढ्दैनन्‌ तबसम्म गोरामुमो समर्थखहरू खुलेर अघि आउन नसक्ने जनगुनासो रहेको पनि तिनले जनाए।
मोर्चालाई घेर्ने काम गर्दैछ-भूजेल
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,5 अप्रेल|मोर्चाको चुनाउ समिति अध्यक्ष डा.आर.बी भूजेलले अहिले मोर्चालाई दुर्वल बनाउनको निम्ति चारैतिरबाट आक्रममण गर्ने कार्य भइरहेको जनाएका छन्‌। हिजो क्रामाकपा प्रतिनिधिहरूले मोर्चाले चुनाउ नलड्ने भनेर जनतामा कटिबद्धता देखाइसकेपनि चुनाउ लड़ेको अनि जसको चुनावी घोषणापत्रमा बङ्गभङ्ग हुँन नदिने भनेर उल्लेख गरिएको छ उसैलाई तराईमा समर्थन गरेर मोर्चाले मुद्दा होइन सत्ता केन्द्रित राजनीति गरिरहेको आरोप लगाएका थिए। भूजेलले आज सोही आरोपको खण्डन गर्दै मोर्चाले भोट नलड्ने भने पनि अघिल्ला दिनहरूमा चुनाउ नलड़ेर गरेको भूल मोर्चाले नहोर्‍याउने भएको स्पष्ट पारे। तिनले भने, चुनाउलाई बङ्गालले मुद्दा विथोेल्न हतियारकोरूपमा प्रयोग गर्छ भने चुनाउलाई नै हतियार बनाएर त्यसको जवाब दिन मोर्चा चहान्छ।
तिनले मुद्दाको निम्ति जनमत विना नै बोलेको भन्दा जनमत पाएको बोलेको कुरामा ओजन हुने भएकोले नै मोर्चा चुनाउ लड्न तयार रहेको बताए। तिनले भने, अहिले चुनाउ लड्ने नलड्ने दलहरूले मोर्चालाई विथोल्न चारैतिरबाट आक्रमण गरिरहेको छ। तरै पनि 90 प्रतिशत मत दिएर मोर्चा आफ्ना विधायकहरू पठाउन मोर्चा कटिबद्ध छ। तिनले कंग्रेसलाई तराईमा समर्थन गरेकोमा आपत्ति गर्ने दललाई मोर्चाले आन्दोलन दिल्ली केन्द्रित गरेको अनि मोर्चाले दिल्लीमा केन्द्र सरकारको ढोका खोल्ने रणनीति अप्नाएको  जनाए। प्राधिकरणबारे पनि प्रश्नहरू उठाइने गरेको भन्दै तिनले मोर्चाले विधानसभा अधि मोर्चाले दाबी गरेको अनुसार व्यवस्था दिएको भए ग्रहण गर्ने भनेको तर त्यसो नभएकोले मोर्चाले प्राधिकरणको कुरालाई त्यागि सकेको स्पष्ट भनिसकेको पनि बताए। तिनले मोर्चाको कदमलाई सबैले बुझ्ने कोशिष गरेर मोर्चालाई बाधा नपुर्‍याइदिने अपील पनि गरेका छन्‌।
पश्चिम बङ्गाल विधानसभा चुनाउ-2011ः कालेबुङ विधानसभा समष्टी जनताकै मुद्दालाई सम्बोधन गरेर जनता तान्ने लड़ाईमा प्रतिद्वन्द्विहरू
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,5 अप्रेल|जनताको मूल आकांक्षा छुट्टैराज्य रहेको छ अनि यही मुद्दालाई चुनाउसित जोड़ेर जनमत संग्रह गर्न यसपल्टका विधानसभाको चुनावी मैदानमा प्रतिद्वन्द्विहरू उत्रिसकेका छन्‌। गोर्खाल्याण्डको मुद्दालाई अघि राखेर गोर्खा जनमुक्ति मोर्चा र अखिल भारतीय गोर्खालीग मैदानमा छन्‌। त्यही मैदानमा गोर्खाल्याण्डको मुद्दा भन्ने वित्तिकै जनताको समर्थन पाउन सकिने सूत्रलाई चुनौती दिँदै बेग्लै मुद्दा साथ लगाएर उत्रिएका छन्‌ भारतीय कम्यूनिष्ट पार्टी, राष्ट्रिय कंग्रेस र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका प्रतिनिधिहरू। लीग र मोर्चा गोर्खाल्याण्डको निम्ति राज्य सरकारमा दबाव बनाउन कटिबद्ध छन्‌ त्यसरी नै अहिलेको निम्ति छैटौं अनुसूची अनि पछि त्यसैबाट गोर्खाल्याण्ड पुग्न चहान्छ गोरामुमो।
कंग्रेस भने यदि गोर्खाल्याण्ड हुनै नसके त्यसको विकल्पमा युटीको मुद्दा बोकेर चुनाउ मैदानमा छ। भाकपासित कुनै ठूलो मुद्दा छैन तर पहाड़का विकासले नै सबै आकांक्षा पूर्ण गर्ने विश्वासमा छ। कुनै दलको यस्तो मुद्दा छैन जसलाई जनताले सोझै खारेज गरोस्‌। गणतन्त्र बहालीदेखि विकास,विकासदेखि छुट्टै राज्यसम्म नै जनताका समस्यासित जोड़िएका कुरा हुन्‌। सबैले चुनाउ चिह्न पाइसकेका छन्‌। मोर्चाले यही चुनाउद्वारा जनाकांक्षालाई टेबलमा ल्याएर छिनाफान गर्ने भएको छ भने गोर्खालीग मोमबत्तीबोकेर छुट्टैराज्यसित नै गणतन्त्र र शान्ति पनि खोज्ने बएको च। गोरामुमो भने चङ्गामा चढ़ेर दल पुनर्थापित गर्ने ताकमा छ। अब जनताकै मुद्दालाई अघि लगाएर आफ्नो दलप्रति मत तान्न दलहरूबीच भीड़न्त हुनेछ। यसमा कुन दल कति बलियो छ भन्ने कुरा स्पष्ट हुनेछ भने कुन उम्मेद्वार कति पानीमा छन्‌ भन्ने कुरा पनि छर्लङ्ग हुनेछ।
मैदान उत्रिएका प्रतिद्वन्द्विहरू के भन्छन्‌?
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,5 अप्रेल|
कंग्रेसः शान्तिकुमार शर्मा
सम्पूर्ण गोर्खाहरूको साझा सवाल नै छुट्टैराज्य हो। अहिलेसम्म छुट्टैराज्य गठनको निम्ति कुनै प्रक्रिया हुन सकेको छैन। यदि यो सम्भव नभए कंग्रेससित विकल्प मुद्दा छ, त्यो हो युनियन टेरीटोरी-यसो भन्छन्‌ कंग्रेस उम्मेद्वार शान्तिकुमार शर्मा। यिनी कालेबुङ समष्टिबाट कंग्रेसको टिकटबाट विधानसभा चुनाउ लड़िरहेका छन्‌। कंग्रेसको हाइकमाण्डले तिनलाई टिकट दिएको हो। कालेबङको सिन्देबुङ भन्ने गॉंउमा बसोबासो गर्ने शर्मा चालिसवर्षदेखि राजनीतिमा छन्‌। तिनले दल फेरेनन्‌। 1972 मा कंग्रेसमा लागे। तबदेखि अहिलेसम्म तिनी कंग्रेसमा नै छन्‌। बी.ए.सम्म शिक्षा लिएका शर्मा आफ्ना पिता हरिलाल शर्माको सामाजिक चरित्रको कारण जनताको काम गर्ने क्षेत्रमा आउन प्रेरित बने। तिनी सामाजिक अनि राजैतिक दुवै क्षेत्रमा समानरूपले काम गरिरहेका छन्‌। दस बर्षसम्म तिनी सिन्देबुङ ग्रामपञ्चायतका प्रधान रहे। लगातार दुइपल्ट नै तिनले ग्रामपञ्चायत चुनाउ जितेका थिए। तिनलाई चुनाउको अनुभव यहीँदेखि छ। कंग्रेसमा लागेर 67 वर्षे शान्तिकुमार शर्मालेे चालिसवर्षको अनुभव लिइसकेका छन्‌ भने तिनी अहिले जिल्ला कंग्रेसको साधारण सचिव, प्रदेश कंग्रेसका सदस्य अनि खण्ड कंग्रेसको अध्यक्ष हुन्‌।
मेरो पिता पनि कंग्रेसमा नै थिए। म पनि कंग्रेसमा नै छु। कंग्रेसप्रति मेरो पुस्तेनी विश्वास छ। मेरो यही कटिबद्धतालाई विश्वास गरेर हाइकमाण्डले टिकट दिएको छ। जनताको काम गरिसकेकोले मलाई जनताले जिताउने छ-भन्छन्‌ तिनी। जिल्ला केन्द्रिय सहकारी व्याङ्‌कबाट 2005 मा नै सेवानिवृत्त शर्माले अबको रहल जीवन राजनीतिमा बिताउने निश्चय गरेका छन्‌। विकासका सबैपक्ष जो अहिलेसम्म पहाड़मा हुन सकेका छैनन्‌, सबैलाई विशेष मुद्दा बनाउने अनि विधानसभामा उठान गर्ने बताउँदै तिनी भन्छन्‌-गोर्खाल्याण्ड भएन भने युटी बहालीको निम्ति मेरो प्रयास अघि बढ्नेछ।
गोरामुमोःप्रकाश दाहाल
गोर्खाल्याण्ड माग्नेलाई पहाडबाट खेदायो, त्यसमा म पनि एक थिएँ। 2007देखि निर्वासित जीवन सिलगढ़ीमा बिताइरहेको छु। म फेरि जनताको दाबीलाई बुलुन्द गर्न चुनाउ लड़िरहेको छु-गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका उम्मेद्वार प्रकाश दाहाल यसो भन्छन्‌। तिनले सिलगढ़ीबाट आएर नै नामाङ्‌कन पत्र भरेका छन्‌। धेरैसमय मौन रहेर गोजमुमोको आन्दोलन हुन दिइरहेको भए पनि गोरामुमो प्रमुख सुबास घिसिङले बङ्गाल विधानसभा चुनाउको ठीक मौकामा उम्मेद्वारहरू खड़ा गर्दै तिनको मुद्दा छैटौं अनुसूचीलाई सम्बोधन गरिरहेका छन्‌। प्रकाश दाहाललाई कालेबुङ समष्टीका उम्मेद्वारकोरूपमा सुवास घिसिङले नै छनौट गरेका छन्‌। बोङबस्ती निवासी प्रकाश दाहालले जीवनमा राजनीति गरेको नै गोरामुमोबाट हो। गोरामुमोले गोर्खाल्याण्डको कुरा गरेकोले म यो दलमा आए-भन्छन्‌ तिनी। तिनले 1985देखि गोरामुमोबाट राजनैतिक जीवन शुरू गरे।1986 मा तिनलाई गोरामुमो बोङ समष्टीको डेभलोपमेन्ट कमिटीको चेयरम्यान नियुक्त गरियो। त्यसपछि 2000 देखि तिनी सात वर्षसम्म दागोपापको पार्षद बने। त्यसबेला मैले समाजको निम्ति धेरै काम गरेको छु, जसको कदर यो चुनाउमा जनताले गर्लान्‌-तिनी यसो पनि भन्छन्‌। एसयुएमआईबाट माध्यमिक दिएका दाहालले बाह्यबाट स्नातक गरेका हुन्‌। 49 वर्षीय दाहाल भन्छन्‌-गोर्खाल्याण्ड सोझै सम्भव छैन। धारा 244 को अनुच्छेद 2 को आधारमा, छैटौं अनुसूची अन्तर्गत दार्जीलिङ हिल काउन्सिलको दाबी हामी गरिरहेका छौं। किन भने छैटौं अनुसूचीबाट नै नर्थइष्टमा छुट्टै राज्यहरूको गठन भएको उदाहरण छ। सोझै राज्य हुन सक्दैन भने किन छैटौं अनुसूचीबाट नजाने, किन भने यो वैधानिक पनि छ। चुनाउमा छैटौं अनुसूचीबारे स्पष्ट अवगत गराइने अनि यसको निम्ति मत जनतासित मागिने छ।
अखिल भारतीय गोर्खा लीगः त्रिभुवन राई।
पहाड़मा शान्ति वहाली, सभ्य-भयमुक्त समाजको निर्माण अनि छुट्टै राज्य गठन नै पार्टीको मूल लक्ष्य हो-भन्छन्‌ त्रिभुवन राई। तिनी गोर्खालीगद्वारा खड़ा गरिएका कालेबुङ विधानसभा क्षेत्रका उम्मेद्वार हुन्‌। गत 31 मार्चको दिन नामाङ्गन पत्र बुझाएर तिनी चुनावी मैदानमा ओर्लिसकेका छन्‌। क्रामाकपा गोर्खालीग अनि अन्य विपक्षी दलहरूमा मतभेद सृजना भएपछि अन्तमा लीगले आफ्नै प्रार्थी खड़ा गर्ने घोषणा गर्दै कालेबुङबाट त्रिभुवन राईलाई खड़ा गर्‍यो। 4 अप्रेलपछि दलको घोषणापत्र जारी गर्दै प्रचारमा ओर्लनको निम्ति तम्तयारी गरिरहेका राई गुम्बाहट्टा निवासी हुन्‌। तिनी 2004 देखि नै राजनीतिमा आए। मदन तामङको पारदर्शी आचरण, स्पष्टवादिता अनि क्षमताशील व्यक्तित्वले मलाई लीगमा तान्यो-भन्छन्‌ तिनी। लीगको इतिहास पढ़ेर लीग नै उपयुक्त राजनैतिक सङ्गठन लागेकोले राजनीतिमा आएका राई अहिले मल्ली जुनियर बेसिक स्कूलका हेडमास्टर हुन्‌। शिक्षण पेशासित संलग्न रहेका राई भन्छन्‌- शिक्षानीति, समाजनीति, अर्थनीतिलाई राजनीतिले नै सहीरूपले व्यवस्थापन गर्न सक्छ। दबिएको समाजलाई राजनीतिले नै माथि उठाउँछ। तर हाम्रा नेताको हत्या गरियो। तिनी गोर्खाल्याण्डको निम्ति मरे। तिनको सपना पूर्ण गर्नको निम्ति म कटिबद्ध छु। सिक्किमको छुजाचेनमा जन्मिएका राई नेपालीमा एम.ए. हुन्‌।
भारतीय कम्युनिष्ट पार्टीःविक्रम छेत्री।
मोर्चासित मेरो विचार मिलेन, तराईमा गोर्खाहरूले धेरै कुराको तालमेल गरेर राजनीति गर्नुपर्छ। सोंचेको जस्तो नभएकोले अनि राष्ट्रिय दलले नै गोर्खाल्याण्ड दिनसक्ने बुझेपछि म भाकपामा आएको हुँ-विक्रम छेत्री भन्छन्‌। तिनी मार्क्सवादी कम्युनिष्ट पार्टीद्वारा समर्थित भारतीय कम्युनिष्ट पार्टीका कालेबुङ विधानसभा समष्टीका उम्मेद्वार हुन्‌। 31 वर्षीय युवा नेता विक्रम छेत्री एम.ए. हुन्‌। सिलगढ़ी कलेज पढ्दा कलेजमा नेपाली भाषामा पठनपाठन हुनुपर्ने विषयमा आन्दोलित भएदेखि नै तिनमा राजनैतिक चेतना विकसित बनेको तिनी ठान्छन्‌। सिलगढ़ी 2 माइल निवासी विक्रम कालेबुङ आसनको निम्ति लड़िरहेका छन्‌। तिनी गोजमुमो गठनभएदेखि नै मोर्चाका कट्टर समर्थक थिए। सिलगढ़ीमा मोर्चाको कार्यनीति उचित नभएको लागेपछि तिनले 2009 देखि मोर्चाबाट सम्बन्ध विच्छेद गरेका हुन्‌। सोही वर्ष नै तिनी भाजपामा आए। अहिले तिनी भाजपा अल इण्डिया युथ फेडरेशनको वर्किङ प्रेसिडेन्ट छन्‌।  पहाड़मा पिउने पानीको समस्या छ, जसको समाधानको निम्ति उचित पहल हुन सक्नेको छैन। कृषि उत्थानको निम्ति उन्नयनमूलक कार्य हुनसक्नेको छैन। पहाड़मा विकास कार्यलाई प्रोत्साहित नगरिएको अनि सरकारी राशिको दुरूपयोग गर्ने शक्तिको विकास भएकोले यहॉंको अर्थनीति कमजोर छ। म यसको निम्ति कार्य गर्नेछु- भन्छन्‌ तिनी। तिनी पहाड़मा त्रिस्तरीय पञ्चायत व्यवस्था बहाली हुने हुनु अनिवार्य मान्छन्‌। विकासको निम्ति आधारभुत कुराहरूलाई अन्देखा गरिएको छ। मलाई विधायक बनाएर जनताले पठाएको खण्डमा पहाड़को अर्थनैतिक विकासको निम्ति म लड्‌ने छु-भन्छन्‌ तिनी।
गोर्खा जनमुक्ति मोर्चाःडा.हर्कबहादुर छेत्री।
लेखनक्षेत्रमा खुवै नाम कमाएका लेखक डा.हर्कबहादुर छेत्री राजनीतिमा पनि एक सक्रिय नाम हुन्‌। मैले लेखेर पाठकलाई राजनैतिक सचेत बनाउने कार्य गरें, म जुन जनविरोधी शक्तिसित लेखेर लड़िरहेको थिएँ, त्यसैको विरूद्धमा राजनैतिक क्षेत्रमा नै ओर्लिएर काम पनि गरिरहेको छु-तिनी भन्छन्‌। डा.छेत्रीले दार्जीलिङ कलेजमा पढ़िरहेको बेला सन्‌ 1981 मा कलेजको छात्र सङ्गठनमा लागेर राजनीतिमा प्रवेश गरेका हुन्‌। त्यसबेला संयुक्त विद्यार्थी सङ्घको छात्र आन्दोलनमा तिनी सक्रिय थिए। तिनी सोही छात्र सङ्गठनबाट कलेजको छात्र संसद तथा सङ्घको उपाध्यक्ष पनि बनेका थिए। 53 वर्षिय कालेबुङवासी डा.हर्कबहादुर छेत्री विभिन्न राजनैतिक सङ्गठनसित जड़ित रहेपनि गोर्खा जनमुक्ति गठन भएपछि यसको सदस्य रहे। तिनको कार्यकौशलको कारण नै तिनलाई मोर्चाले दल प्रवक्ता पनि बनायो। गोरामुमोकालमा तिनले गोरामुमोको गलत कार्यको पर्दाफास गर्दै कालो शासनको विरोध गरेका हुन्‌। तिनलाई एक राजनैतिक सचेत मात्र होइन साहित्यिक सचेत व्यक्तिकोरूपमा पनि हेरिन्छ। आलोचना गर्न रुचाउने अनि सही कुरा अघि ल्याउन छेत्रीले राजनैतिक-साहित्यिक दुवै किसिमका आलोचनाहरू लेखेका छन्‌। तिनी सेन्टजर्ज स्कूल पेदोङका शिक्षक हुन्‌।
दार्जीलिङ सरकारी महाविद्यालयबाट बोटानीमा एमएससी गरेका हुन्‌ भने उत्तरबङ्गाल युनिवर्सिटीबाट पर्यावरणमा विद्यावारिधी प्राप्त गरेका हुन्‌। 1986मा गोरामुमोको आन्दोलनलाई पूर्णसमर्थन दिएपनि पछि यसै दलको कार्यनीतिको विरोध गरे। मोर्चा गठनअघिसम्म तिनले गोरामुमोको आलोचना गरेका हुन्‌। कालो शासनको अन्त गरेर जनप्रिय शासनको स्थापना गर्नु थियो, त्यसैकारण म मोर्चामा आएर जनताको निम्ति पूर्णरूपले समर्पित भएर काम गरिरहेको छु-भन्छन्‌ तिनी।  1991 मा भुटानी विद्यार्थीहरूको निम्ति गठित स्पोर्ट अर्गनाइजेशन फर भुटानी रिफ्युजी नामक संस्थाका सदस्य बने।तिनी सम्पादक अनि पत्रकार पनि बने। 1999मा दागोपाप चुनाउमा तिनले प्रतिद्विन्द्विता पनि दिए, नगरपालिका चुनाउमा पनि उठे। 2004मा तिनी गोर्खालीगको महासचिव थिए भने पीडीएफका संयोजक पनि भए। मोर्चा प्रवक्ता छेत्रीले केन्द्र र राज्यसित भएका प्राय सबै वार्तामाहरूमा भाग लिइसकेका छन्‌ भने मोर्चाबाट नै तिनी अहिले कालेबुङ समष्टीबाट विधानसभा चुनाउ लड़िरहेका छन्‌। समाजलाई दिइएका योगदानको कदर मलाई जनताले गर्नेछन्‌। छुट्टैराज्य गोर्खाल्याण्डको निम्ति म चुनाउ लड़िरहेको छु। बङ्गालमा मुद्दाबारे बङ्गाली बुद्धिजीवीहरूलाई शिक्षित गराउने कार्य गर्नेछु। सही र असल काम गर्न नसके फर्किने छु। विमल गुरूङले जतिबेला भन्छन्‌, त्यतिबेला नै विधायकबाट राजीनामा पनि दिन तयार छु-भन्छन्‌ डा.छेत्री।

The writing is on the wall: Face the hill posts






No comments:

Post a Comment