To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, April 16, 2011

दुइभागमा लेप्चा मत एसोसिएसनद्वारा चुनाउ बहिष्कारःफोरमद्वारा भोट हाल्ने घोषणा ...एकै मञ्चबाट कंग्रेस, गोर्खालीग अनि गोरामुमोले मागे भोट

दुइभागमा लेप्चा मत
एसोसिएसनद्वारा चुनाउ बहिष्कारःफोरमद्वारा भोट हाल्ने घोषणा
मनोज वोगटी, कालिम्न्युज, कालेबुङ, 16 अप्रेल| भोट हाल्नु वा नहाल्नु भन्ने कुरामा अल्झिएको इण्डिजिनस  लेप्चा ट्राइवल एशोसिएसनले अन्तमा गरिएको घोषणालाई नै चुडान्त गर्‍यो। 60 वर्षदेखि पहाड़का भूमिपुत्र लेप्चा समुदायका समस्या समाधानको निम्ति राज्य र केन्द्र सरकारले कुनै पनि पहल गरेको अनि अहिलेसम्म लेप्चा समुदायको कुरालाई कुनै पनि दलले सम्बोधन नै नगरेको कारण गरिएको चुनाउ बहिष्कारको घोषणाबाट एशोसिएसन पछि हटेन। हिजो इल्टाको बैठकबाट चुनाउ बहिष्कारको घोषणा यथावत नै रहेको बताइएको भए पनि यसको चुड़ान्त निर्णय आज गरिने भएको थियो।आज बसेको इल्टाको कार्यकारी समितिको बैठकमा चुनाउ वहिषकारको घोषणालाई नै चुड़ान्त गरिएको इल्टाका अध्यक्ष ल्याङसोङ तामसाङले बताएका छन्‌। 
सिलगढ़ीमा जनसभा गर्दै एसोसिएसनले यसपल्टको विधानसभा चुनाउ बहिष्कार गरेपछि चुनाउ लड्ने दलहरूबीच सनसनी मच्चिएको थियो। लेप्चा समुदायबाट यस्ता खाले घोषणा हुने वित्तिकै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले लगत्तै कालेबुङको दौडाहा गर्दै एसोसिएसनका अध्यक्षसित गोप्य बैठक गरेका थिए। सोही दिन जिल्लाभरिका लेप्चा समुदायसित पनि गुरूङले भेटघाट गर्दै चुनाउ बहिष्कारको कुरा गलत पहल हुने बताउँदै लेप्चाहरूको समस्या ठूलो नरहेको अनि मोर्चाले यसको समाधानको निम्ति पहल गर्ने जनाइएको थियो। यसैबीच गुरूङले कालेबुङको चुनावी जनसभाबाट जिल्लाका दस लेप्चा बहुल प्राथमिक पाठशालामा  मासिक दुइ हजार वेतन दिएर लेप्चा शिक्षकहरू नियुक्त गर्ने अनि मोर्चाका उम्मेद्वारहरूलाई  विधानसभामा विजयी बनाएर पठाए विधायकहरूले नै गोर्खा सर्टिफिकेट दिने घोषणा गरेका थिए। यति धेरै भइसकेर पनि लेप्चा एशोसिएसनले आफ्नो घोषणालाई नै स्थिर राख्यो। तामसाङले भने, चुनाउ बहिष्कार कुनै दललाई फाइदा र हानी पुर्‍याउन गरिएको होइन। 
लेप्चाहरूको निम्ति केन्द्र र राज्य सरकारले केही नगरेकोले त्यसको प्रतिवाद गर्दै लेप्चाहरूको विरोधिता प्रकट गरिएको हो। यसकारण बहिष्कार नै एशोसिएसनको चुडान्त निर्णय हो। तामसाङले यसबीच विभिन्न भिलेज समितिले चुनाउमा भागलिने भनेर प्रस्ताव लिइरहेको सन्दर्भमा प्रश्न गर्दा तिनले थोरै प्रतिशतमा यस्ता घटना भएको सुनिएको तर एसोसिएसनलाई कुनै प्रकारको प्रस्ताव नआएको तिनले जनाए। इल्टाले चुनाउ बहिष्कार गर्ने नै निधो गर्ने वित्तिकै यता इल्टाकै अर्को अंश इण्डिजिनस लेप्चा ट्राइबल फोरमले भने भोट हाल्ने अपील गरेकोले लेप्चाहरूमा फाटोको परिस्थिति बनेको स्पष्ट भएको छ। फोरममा अध्यक्ष पवल सिमिकले भने, फोरम इल्टाकै अंश हो, चुनाउ बहिष्कारको कुरा इल्टाले गरेपनि म भने मताधिकारको प्रयोग गर्नेछु। म मात्र होइन सिलगढ़ी, तराई, डुवर्स, दार्जीलिङ, खर्साङ र कालेबुङका 20 वटा भिलेज कमिटीले मताधिकारको प्रयोग गर्ने प्रस्ताव लिएको छ। प्रस्ताव फोरममा आइपुगेको छ। इल्टाको निर्णयको उलङ्घन गरेको होइन नकि लेप्चाहरूको आन्दोलनको विरोध गरेको हो तर फोरमले मताधिकारको प्रयोग गर्नेछ।
एकै मञ्चबाट कंग्रेस, गोर्खालीग अनि गोरामुमोले मागे भोट
मनोज वोगटी, कालिम्न्युज, कालेबुङ, 16 अप्रेल|धेरैवर्षपछि राजनैतिक दलहरूले कालेबुङको डम्बरचोकलाई भोट माग्ने आखड़ा बनाए। आज कालेबुङको डम्बर चोकमा उभिएर कंग्रेस, गोर्खालीग अनि गोरामुमोले जनतालाई आप्नो दलको पक्षमा मत खसालिदिने अपील गरे। एकै ठाउँमा उभइएर एकार्काप्रति खनिने कार्य मात्र होइन आफ्नो दलको इमान्दारिताबारे स्पष्टिकरण दिने कार्य पनि दलका प्रतिनिधिहरूले दिए।
गोर्खाहरूको समस्या समाधानको निम्ति आफ्नै सरकार बनाऔ-कंग्रेस
डम्बर चोकमा सर्वप्रथम कंग्रेसले चुनावी जनसभा गर्‍यो। 34 वर्षपछि कंग्रेसले पहाड़मा विधानसभामा उम्मेद्वार दिएको कारण आफ्नै सरकार बनाउनु रहेको  कंग्रेसका प्रतिनिधिहरूले जनाए। युवा कंग्रेसका अध्यक्ष दिलिप प्रधानले भने, वामफ्रण्ट सरकार जबसम्म रहन्छ तबसम्म गोर्खाहरूको समस्याको समाधानको निम्ति कुनै पनि पहल गर्नेछैन। यो कुरा सबैलाई थाहा छ। यसकारण यसपल्टको चुनाउ बङ्गालमा परिवर्तन गर्न जनताले गर्नुपर्ने निर्णय हो। जुन सरकारले गोर्खाहरूको समस्या समाधानको निम्ति कुनै पहल गर्दैन त्यो सरकार रहिरहन गोर्खाहरूको निम्ति हानिकारक हो। बङ्गालमा तृणमूल र कंग्रेसको गठबन्धनको सरकार बनिँदैछ। केन्द्रमा पनि गठबन्धनको सरकारमा कंग्रेस छ अनि राज्यमा पनि हुनेछ।
दुवै सरकामा आफ्नै सरकार हुने भएकोले कंग्रेसलाई नै पहाड़बाट विजेता बनाउनु गोर्खाहरूको दायित्व बनेको छ। मुद्दाको निम्ति सही निर्णय गर्ने जिम्मेवारी जनतामा छ। अर्कोतिर उम्मेद्वार शान्ति शर्माले पनि भने, राज्यमा जुन दलको सरकार हुन्छ, तीनै दलका विधायक पठाइए मात्र गोर्खाहरूको मुद्दामाथि सही निर्णय हुनसक्छ। कंग्रेसले यसपल्ट पहाड़लाई राम्रो मौका दिएको छ। आफ्नो मतको प्रयोग मुद्दाको निम्ति सही ठाउँमा गरिदिनुहोस्‌। पी.बी धतानीले पनि आफ्नो सम्बोधनमा भने, गोर्खाल्याण्ड हुन सक्दैन भने युनियन टेरिटोरी त्यसको विकल्पको रूपमा हुनुपर्छ भन्ने हाम्रो माग छ। यसबारे केन्द्रिय समिति अवगत छ। विकासको कुरा त हुन्छ नै तर यसपल्टको चुनाउले राज्यमा आफ्नै सरकार गठन गर्न अनि आफ्नो दाबीलाई प्रभावकारी गर्ने सही मौका रहेको छ।
मदन तामङलाई न्याय गर्न मत-लीग
कंग्रेसपछि अखिल भारतीय गोर्खालीगले जनसभा गर्‍यो। लीगका प्रतिनिधिहरूले यसपल्टको चुनाउलाई सरकार परिवर्तनको निम्ति भन्दा पनि धेर विचार परिवर्तनको निम्ति लिएको बताए। लीग सचिव मनोज देवान लीग अनि मदन तामाङको गोर्खाल्याण्डप्रतिको इमान्दारिता देखेर नै घिसिङ पनि विमल गुरूङलाई गोर्खाल्याण्डको आन्दोलन शिथिल बनाउन काउण्टर नेता बनाएर पहाड़ पठाएको आरोप लगाउँदै भऩे, मदन तामङले जे पनि जहिले पनि भने, केवल गोर्खाल्याण्ड भने। यो कुरा बङ्गाल सरकारलाई पचेन अनि मदन तामङको हत्या गर्न मोर्चाका नेताहरू लगायो। जनतालाई थाहा छ लीगले जनतालाई न त लठ्ठी देखाएको छ न त हत्या गरेको छ। गोरामुमो र गोजमुमोले हत्याको राजनीति गर्दै मुद्दालाई शिथिल बनाउने षड़यन्त्र गरिरहेको छ। मनोज देवानकै कुरालाई निरन्तरता दिँदै केन्द्रिय समिति सदस्य प्रताप खातीले भने, प्रान्त परिषदबाट घिसिङलाई टिपेर बङ्गाल सरकारले गोर्खाल्याण्डको आन्दोलन शिथिल गर्न काउण्टर लिडरशिप स्थापित गर्‍यो। प्रान्त परिषदमा मदन तामङले गोर्खाल्याण्डको निम्ति लड़ाई गरिरहेका थिए। 
घिसिङले 21 वर्ष आन्दोलन शिथिल गर्‍यो अनि अहिले गोरामुमोलाई जनताले पत्याउन छोड़ेपछि गोरामुमोबाट नै विमल गुरूङ टिपेर तीनवर्ष आन्दोलन शिथिल गर्‍यो। अहिले मोर्चाले आफै भन्दैछ गोर्खाल्याण्ड हुँदैन भनेर। अब जनताले सही गलत छुट्याउने समय भएको छ। तिनले मोर्चाका उम्मेद्वार डा.हर्कबहादुर छेत्रीले चुनाउ कार्यालयमा मदन तामङ हत्याकाण्डमा आप्नो संलग्नताको कारण रहेको प्राथमिकताको कुरा लुकाएको अनि चुनाउपछि यसबारे लीगले विद्रोह गर्ने पनि तिनले जनाए। अर्कोतिर दावा शेर्पाले सिंहमारीमा मेला लगाउने विमल गुरूङले पैसा कमाउने मेला गोर्खाल्याण्डलाई पनि बनाएको आरोप लगाए। तिनले भने, सत्तामा नआई मोर्चाका नेताहरू करोड़पति भए आएपछि के होला? विमल अशिक्षित, आन्दोलन पैसा कमाउने मेला अनि बुद्धिजीवी मौकाबाज रहेको गोजमुमोलाई सही जवाब दिने समय आएको छ। तिनले मदन तामङको हत्या गोर्खाल्याण्डकोे निम्ति भएको बतुँदै गोर्खाल्याण्ड होइन प्राधइकरण वा प्राधिकरणको नाममा अर्को दागोपाप थाप्छु भन्नहरूले मदन तामङको हत्या गरेको बताउँदै भने, गोर्खाल्याण्डको सही नेताको हत्याको प्रतिवाद अनि हत्याराहरूलाई दण्ड दिलाउको निम्ति सबैले आप्नो मत प्रदान गरिदिनुपर्छ।
छैटौं अनुसूची नै समाधान-गोरामुमो
गोरामुमोले धेरैवर्षपछि डम्बरचोकमा जनसभा गर्‍यो। तीनवर्ष पहाड़बाट निर्वासित गोरामुमोले विधानसभा चुनाउद्वारा नै दलीय मुद्दाको निम्ति मत संग्रह गर्ने अभियान चलाइरहेको छ।
गोरामुमोले छैटौं अनुसूचीलाई नै केन्द्रमा राखेर लड़िरहेको विधानसभा चुनाउको निम्ति मात्र होइन निर्वासनपछि नै पहिलोपल्ट कालेबुङबाट जनतालाई सम्बोधन गर्‍यो। गोर्खा जनमुक्ति मोर्चाले जनतालाई गोर्खाल्याण्डको नाममा शारिरिक अनि मानसिकरूपले मात्र होइन राजनैतिकरूपले पनि अत्याचार गरेपछि जनतालाई प्रताड़नाबाट बाहिर निकाल्न गोरामुमो फेरि सक्रिय रहनुपरेको गोरामुमोले प्रतिनिधिहरूले आफ्नो सम्बोधनमा बताए। 
जीएन डब्ल्युका गायत्री मुखियाले मोर्चामा नारीहरूको कदर नरहेकोले नै मौकाखोरहरूलाई चुनाउमा उठाएको जनाइन्‌ भने शरण राईले नैतिकरूपले मोर्चा गोर्खाल्याण्डको निम्ति होइन पैसाको निम्ति जन्मिएको थाहा पाएपछि आफू फेरि गोरामुमोमा आएको बताए। अनिल राई, उम्मेद्वार प्रकाश दाहाल,सीके कुमाई,दावा शेर्पाले जनतालाई सम्बोधन गरे। पहिलोेपल्ट भएको कालेबुङको यो चुनावी जनसभामा मोर्चा कार्यकर्ताहरूको उपस्थिति पनि धेरै रहेको थियो।
 प्रकाश दाहालले भने, छैटौं अनुसूची नै पहाड़को उत्तम समाधान हो। छैटौं अनुसूची के हो, शिक्षितहरूको निम्ति संविधानको कानून सुलभ छ तर प्राधिकरण के हो त्यो छैन। छैटौं अनुसूची संवैधानिक मात्र नभएर दार्जीलिङको निम्ति नितान्तै फाइदाकारी व्यवस्था हो। म भोट माग्दिन, अब कोही पनि राजनैतिक असचेत छैनन्‌। सबैले बुझेर नै सही निर्णय गर्नुपर्छ। छैटौं अनुसूची संसदमा नै छ, त्यो कुनै पनि बेला बहाली हुनसक्छ, यसको निम्ति तपाईंको मतको आवश्यकता छ। पार्टी प्रवक्ता अनिल लोप्चनले पनि आफ्नो सम्बोधन राखेका थिए। तिनले कसैले खेद्दा खेदिने गोरामुमो नरहेको अनि अब पहाड़का जनातालाई ढॉंटेर राजनीति गर्नेहरूबाट जोगाउन गोरामुमो कटिबद्ध रहेको जनाए। सी.के.कुमाईले पनि भने, प्राधिकरण र छैटौं अनुसूचीलाई एकै ठाउँ राखेर हेर्नुहोस्‌। कुन राम्रो छ। छैटौं अनुसूची हजारौं गुणा राम्रो  छ। मोर्चाको प्राधिकरण संवैधानिक होइन।

No comments:

Post a Comment