To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, October 12, 2011

जीटीए विकास एजेन्सीःभागोप..तेलङ्गनाले बल्झाउँदैछ गोर्खाल्याण्डलाई...गोर्खाल्याण्डको निम्ति दलहरू एक हुने -गोर्खालीग दलीय सहमति जुटाउँदै....कालेबुङमा 118 करोड 46 लाखको क्षति...सातादिनमा गर्ने पानी व्यवस्थित....नगरपालिकाद्वारा पानी वितरण..नोटिशको मियाद सकियो भत्किएन बिल्डिङ......मोर्चाको सांस्कृतिक कार्यक्रम शुरू

जीटीए विकास एजेन्सीःभागोप
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। भागोप टास्क फोर्सका मूल संयोजक आर. मोक्तानले गोर्खा जनमुक्ति मोर्चाले थापेको जीटीएलाई विकास एजेन्सीको संज्ञा दिएका छन्‌। तिनले जीटीएप्रति भागोपको समर्थन र विरोध दुवै नरहेको तर जीटीएले गर्ने विकासको भने विरोध नगर्ने बताए। तिनले भने, छुट्टैराज्यको आन्दोलन नगरेर जिल्लाको विकास गर्छु भन्छ भने नठीक होइन। विकास हुनै पर्छ। भागोपले विकासको निम्ति गोर्खाल्याण्ड भनेको होइन। विकास त राज्यले गर्ने पर्छ चाहे एजेन्सी लगाएर होस्‌ वा नलगाएर होस्‌।
हामीले सम्पूर्ण गोर्खाहरूको राजनैतिक सुरक्षाको निम्ति छुट्टैराज्यको दाबी गरेका हौं। गोर्खाहरूको राष्ट्रिय चिह्नारीको निम्ति छुट्टैराज्य भनेका हौं। यसको निम्ति भागोपको पहल चलिरहेको छ। न त विकास एजेन्सीले गोर्खाल्याण्डको आन्दोलनलाई रोक्न सक्छ न त मुद्दालाई। कसैले जीटीएसित राज्यको सपना साट्‌न सक्दैन। यो मुद्दा कसैको पेवा होइन। यसकारण भागोपले राष्ट्रियस्तरमा नै गोर्खाहरूको छुट्टैराज्यको कुरा उठाइरहेको छ। बङ्गालको भूभाग नै नरहेको प्रस्तावित क्षेत्रलाई छुट्टैराज्य बनाउनुपर्ने स्थिति आउने छ। यसको निम्ति सबैपक्षले कार्यनीति तयार गरेर आआफ्नो गच्छे अनुसारले काम गर्नुपर्छ। कुनै एउटा दलले छुट्टैराज्यको मुद्दा बेच्न सक्दैन। तिनले ममता व्यनर्जीको पहाड भ्रमणलाई सकरात्मक लिँदै भने, भुइँचालो पीडितहरूको गॉंस बास र कपासको समस्या समाधान भयो भने मात्र ममताको भ्रमणले सफलता पाउँछ।
तेलङ्गनाले बल्झाउँदैछ गोर्खाल्याण्डलाई
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। विधायक हुनभन्दा अघि डा.हर्कबहादुर छेत्रीले भनेका थिए, तेलङ्गना जस्तो राज्य त गठन हुन सकेको छैन, गोर्खाल्याण्डको त कुरै आउँदैन किन भने गोर्खाल्याण्ड र तेलङ्गना आन्दोलनको आधारभूमि मिल्दैन। तिनले भारतमा कुनै पनि राज्य गठन नहुने देखेपछि नै मोर्चाले जीटीएको प्रस्तावलाई स्वीकार गरेको तिनको किटान थियो। तिनले जीटीएबाट नै गोर्खाल्याण्ड पुग्ने पनि जनाएका थिए तर उता तेलङ्गना राज्य गठन हुने प्रक्रियामा पुगिसक्दा पनि मोर्चाले हस्ताक्षर गरेको जीटीएको अत्तोपत्तो छैन।
समीक्षकहरूले तेलङ्गना गठन हुनसाथ यता जीटीए गठनको प्रक्रिया चल्न सक्ने अनुमान गरेका छन्‌। अहिले गोर्खा जनमुक्ति मोर्चाले स्पष्ट पारेको छ कि मोर्चा बङ्गालबाट छुट्टिन चहॉंदैन। बङ्गालमा नै बसेर दार्जीलिङ जिल्लाको विकास गर्ने पक्षमा मोर्चा बसेको छ। उता तलङ्गाना होस्‌ कि नहोस्‌ मोर्चालाई पर्वाह छैन। ठीक गोरामुमोकालमा यस्तै स्थिति देखिएको थिया। उत्तराञ्चल, छत्तिसगढ अनि झारखण्ड त्यसबेला गठन भएको थियो जतिबेला गोरामुमो दागोपाप मुसारिरहेको थियो। यसपल्ट पनि तेलङ्गाना गठन हुने स्थितिमा छ अनि मोर्चा भने जीटीएलाई नै मुसारिरहेको छ। यदि तेलङ्गाना गठन भयो भने पहाडको राजनीतिमा व्यापक उत्तरचढाउ आउन सक्ने सम्भावना देखिएको छ किन भने मोर्चा बाहेक सबै दलहरू छुट्टै राज्यको पक्षमा छन्‌। ती दलहरूले मोर्चाले नै गोर्खाल्याण्डको मुद्दालाई दबाउन केन्द्र र राज्यलाई प्रोत्साहित गरेको अनि विमल गुरूङलाई सुवास घिसिङ कै अवतारकोरूपमा लिइरहेका छन्‌। 
राज्यको निम्ति दबावी कार्यक्रम गर्नको साटो मोर्चाले दागोपाप जस्तै सहुलियत ग्रहण गरेर आन्दोलनलाई शिथिल गरेको अनि अहिले पैसाको बलमा आन्दोलनारीहरूलाई अन्यत्र व्यस्त राख्ने कुटनीति गरिरहेको पनि ती दलहरूको आरोप छ। आन्दोलन नै वास्तवमा छुट्टैराज्यको निम्ति नगरेर दागोपाप जस्तै व्यवस्थाको निम्ति गरेको आरोप लगाउने दलहरू पनि कम छैनन्‌। 
गोर्खालिग नेता मदन तामङले डा.हर्कबहादुर छेत्रीलाई विधायक हुनको निम्ति आन्दोलनलाई गलत दिशामा पुर्‍याइरहेको आरोप लगाएका थिए भने मोर्चाले गोर्खाल्याण्ड होइन अर्को दागोपाप थाप्न लागिरहेको भविष्यवाणी नै गरेका थिए। अहिले मदन तामङले मोर्चालाई लगाएका आरोपहरू जम्मै नै सही प्रमाणित भइरहेको पर्यवेक्षकहरूले अनुमान गरिरहेका छन्‌। मोर्चाले जीटीए नै थाप्ने भए पनि त्यसको सम्झौतामा यदि तेलङ्गाना राज्य हुन्छ भने पहिले प्राथमिकता गोर्खाल्याण्डलाई दिनुपर्छ भन्ने कुरा पनि उल्लेख गरिनुपर्छ भनेर धेरैवटा राजनैतिक दलहरूले सुझाव दिएपनि यस्तो भएन। 
त्यसबेला मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्री, तेलङ्गना गठन नहुने मात्र होइन तेलङ्गनाका आन्दोलनकारीहरूले दार्जीलिङ मोडललाई उपयुक्त मानेको समेत बताएका थिए। अहिले तेलङ्गना गठन हुनसक्ने स्थितिमा पुगेको छ। यसैकारण अहिले पहाडका गोर्खाल्याण्डपन्थी दलहरू आन्तरिकरुपले चल्मलाउन थालेको छ। छत्र सुब्बा, अजय दाहाल, पिपल्स फोरम, गोर्खालीग, क्रामाकपा लगायत यस्ता धेरैवटा सङ्गठनहरू गोर्खाल्याण्ड आन्दोलनको कार्यनीति बुन्न व्यस्त रहेको अनुमान गरिएको छ। तेलङ्गाना गठन भए यता फेरि गोर्खाल्याण्डको आन्दोलन हुनसक्ने देखिएको छ।
गोर्खाल्याण्डको निम्ति दलहरू एक हुने -गोर्खालीग दलीय सहमति जुटाउँदै
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दा पैसासित साटेर भात खॉंदैछ- गोर्खालीगका केन्द्रिय नेता प्रताप खातीले आज भने। तेलङ्गना र विदर्भ राज्य यसपल्ट गठन हुने सम्भावना लीगले प्रकट गरेको छ। उता तेलङ्गाना हुँदा यता जीटीए थाप्ने? मोर्चाले जुन संविधानबाट गोर्खाल्याण्ड राज्य हुँदैन भनिरहेको छ अनि त्यसको साटो जीटीए थापिरहेको छ, त्यही संविधानबाट विदर्भ र तेलङ्गाना राज्य गठन हुनेछ-तिनले भने। तेलङ्गाना गठन हुँदा मोर्चाको झुटहरू प्रमाणित हुने दाबी गर्दै तिनले भने, तेलङ्गाना हुँदा जनता गोर्खाल्याण्डको निम्ति अघि आउनुपर्छ। केही दिनमा नै पहाडका जम्मैदललाई गोर्खाल्याण्डको निम्ति एक गर्दै सामुहिकरूपले आन्दोलन गर्ने कार्यरूप बनिँदैछ। खातीले लीगले जम्मै गोर्खाल्याण्डवादी दल, बुद्धिजीवी, सङ्घसंस्था अनि सचेतहरूलाई छुट्टैप्रारूपको आन्दोलनको निम्ति सहमतिमा ल्याउने पहल शुरू गरिसकेको पनि जनाए। तिनले भने, मदन तामङले गरेका जम्मै भविष्यबाणी पुरा भयो। गोर्खाल्याण्डले मात्र गोर्खाहरूको राजनैतिक सुरक्षा हुने अनि छुट्टैराज्य गठन गरेर नै छोड्‌ने भनेर गरेको प्रतीज्ञा पनि पुरा हुनेछ। 
तिनी अनुसार वास्तवमा मदन तामङको यही प्रतिबद्धतासित डराएर राज्य सरकारले विमल गुरूङलाई काउण्टर लिडरकोरूपमा स्थापित गर्‍यो। खातीले भने, घिसिङको छैटौं अनुसूचीको विरोध गरेर जनतालाई गोर्खाल्याण्ड आन्दोलनको निम्ति तयारी गरिरहेको कुरासित डराएर सुवास घिसिङकै घरबाट विमल गुरूङलाई झिकेर मुद्दा दबाउन काउण्टर लिडरकोरूपमा स्थापित गरिएको हो। यसै कारण विमल गुरूङ, रोशन गिरी अनि अरू नेताहरूले मदन तामङको हत्या गरेका हुन्‌। त्यसको फोन ट्यापिङको फाइल मुख्यमन्त्रीसित छ। तिनले ममता व्यनर्जी छुट्टैराज्यको विरोधमा रहेको अनि हत्यारालाई बचाउँदै पैसा र पावर दिएको पनि बताए। तिनले भने, संविधानले दिनसक्ने छुट्टैराज्य मोर्चाले कसरी हुनसक्दैन भनिरहेको छ? तेलङ्गाना गठन हुँदा गोर्खाल्याण्ड किन हुनसक्दैन? मोर्चाले किन मुद्दा पैसामा साटिरहेको छ? किन भने ती लिडरहरू केवल काउण्टर हुन्‌। उनीहरूको उद्देश्य नै मुद्दा दबाउनु हो। जो अहिले गरिरहेको छ। 
रोशन गिरीले हिजो मात्र राष्ट्रिय मीडियामा मोर्चा छुट्टैराज्य चहॉंदैन भनेर वयान किन दिए? छुट्टैराज्य हुँदैन भने किन सिब्सुमा गोर्खाहरू मारियो? किन भूतपूर्व सैनिकहरूले धुलाइ खाए? अब जनताले आफै सोंचनुपर्छ। तेलङ्गाना हुँदा गोर्खाल्याण्ड किन हुनसक्दैन भन्ने कुरा मोर्चालाई जनताले सोध्नपर्छ। तिनले जीटीएमा संवैधानिक ग्यारण्टी नभएकोले यसको हरहिसाब नहुने अनि व्यापक भ्रष्टचार हुने बताउँदै भने, दागोपाप पनि यस्तै थियो यसकारण भ्रष्टचार भयो। भ्रष्टचार गर्नैको निम्ति मोर्चाको गठन भएको हो। नत्र चप्पल लगाएर हिँड्‌नेहरूले कसरी स्कोर्पियो किने? आन्दोलन गर्नेहरू गरीब हुन्छन्‌ उनीहरू कसरी धनी भए? किन भने आन्दोलन गोर्खाल्याण्डको निम्ति थिएन। ममता व्यानर्जीले हत्याराहरुसित हात मिलाएर गोर्खाल्याण्डको आवाज दबाइरहेको बताउँदै तिनले भने, हत्याराहरूलाई पैसा दिँदैमा गोर्खाल्याण्डको आवाज दब्दैन। तिनले ममता व्यानर्जीले मदन तामङका हत्याराहरूको फोन ट्यापिङको फाइल सीबीआईलाई नदिएको कारण पनि गोर्खाल्याण्डको आवाज दबाउन रहेको तिनले जनाएका छन्‌।
कालेबुङमा 118 करोड 46 लाखको क्षति
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। भुइँचालोमा परेर मृत्यु हुनेहरूको परिवारलाई सरकारले घोषणा गरेको क्षतिपूर्ति राशि अब शीघ्र नै प्रदान गरिने भएको छ। कालेबुङमा भुइँचालोको कारण मोठ चारजनाको मृत्यु भएको थियो जसमा दुइजनाको हृद्यघातको कारण मृत्यु भएको थियो। हृद्यघातले मृत्यु हुनेहरूको परिवारलाई कुनै पनि क्षतिपूर्ति राशि प्रदान नगरिने भए पनि ईँटाले लागेर मृत्यु हुने पुष्प अग्रवाल अनि पैह्रोको चेपटमा परेर मृत्यु हुने भीम तामङको परिवारलाई भने केन्द्र र राज्य सरकारले मोठ चार लाख रुपियॉं दिने भएको छ। कालेबुङका म्याजिस्ट्रेड डीकी भोटियाले जनाए अनुसार केन्द्र सरकारले दिने क्षतिपूर्ति राशि दुइलाख मृतकको परिवारको एकाउण्टमा लगाइदिने छ। 
भोटियाले जनाए अनुसार केन्द्रले एकाउण्टमा राशि लगाइसकिएको छ। यता राज्यद्वारा दिइने क्षतिपूर्तिस्वरूप दुइ लाख रुपियॉंको चेक भने निकायमा आइपुगेको छ जो खण्ड विकास अधिकारी मार्फत परिवारलाई सुम्पिइने छ। भोटियाले कालेबुङमा भएका क्षयक्षतिको अहिलेसम्मको पूर्ण विवरण पनि दिएका छन्‌। तिनी अनुसार सरकारी, गैरसरकारी, जनताका सम्पतिहरू गरी कालेबुङमा मोठ 118 करोड. 46 लाख रुपियॉंको क्षति भएको छ। नगरको 32 वटा वार्ड अनि 42 वटा ग्राम पञ्चायतहरूमा नै क्षति पुगेको पनि बताइएको छ। पूर्ण, आंशिक अनि सामान्य क्षति गरेर 9146 वटा घरहरुलाई क्षति पुगेको छ। यसमा पूर्ण क्षति हुनेलाई 25 हजार, आंशिक क्षति हुनेलाई 5हजार अनि सामान्य क्षति हुनेलाई 15 सय रुपियॉं एम फारम अनि निरीक्षण रिपोर्टको आधारमा प्रदान गरिने पनि तिनले जनाएकी छन्‌।
सातादिनमा गर्ने पानी व्यवस्थित
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर।  महिनादिनदेखि अव्यवस्थित रहेको पिउने पानीको समस्यालाई एक हप्ताभित्रमा नै व्यवस्थित गर्ने भएको छ। कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले शुक्रबारसम्म टालटुले व्यवस्थामा नै चल्दै गर्ने भए पनि शनिबारदेखि भने पानी सर्वराहलाई व्यवस्थित गर्ने मतो मिलेको जनाएका छन्‌। नगरमा पिउने पानी सर्वराहलाई व्यवस्थित गर्नको निम्ति सर्किट हाउसमा प्रशासनिकस्तरको एक महत्वपूर्ण बैठक भएको थियो। सोही बैठकपछि डा.हर्कबहादुर छेत्रीले भने, बैठकमा सहमति भए अनुसार शुक्रबारसम्म पाइपहरू मरम्मति गरिसक्ने अनि शनिवारदेखि निरन्तर पानी सर्वराह गरिने छ। तिनले बताए अनुसार भत्किएका पाइपहरूलाई स्थायीरूपमा बनाउनु 10 करोड 14 लाख खर्च लाग्ने प्रशासनिक रिपोर्ट छ। 45 लाख भित्रको काम शुक्रबारभित्र भइसक्नेछ। 
आपतकालीन समाधानको निम्ति 2 करोड 40 लाखको योजना तयार गर्ने अनि यसबारे शीघ्र नै पीएचई मन्त्रीसित भेट गर्ने पनि छेत्रीले जनाएका छन्‌। छेत्रीले कालेबुङको पानीको समस्याबारे मुख्यमन्त्री समेतलाई अवगत गराएको बताउँदै दागोपाप प्रशासक अनिल वर्माले पनि आफूलाई शनिबारसम्ममा अस्थायी समाधान गरिने आश्वासन दिएको जनाएका छन्‌। तिनले पानीको समस्या हुनुमा वितरण प्रणालीमा नै समस्या रहेको बताउँदै भने, विभागले ठीकसित काम गरेको छैन। नेउरादेखि अलगढासम्म नै जताततै ट्यापिङ गरिएको छ। नेउराबाट जति पानी छोड्‌छ त्यति पानी डेलो पानी संग्रहालयसम्म आइपुग्दैन। ट्यापिङ गर्नेहरूको जडानलाई आवश्यकपरे पुलिस लगाएर पनि साताभित्रमा नै हटाउनुपर्ने विभागीय अधिकारीहरूलाई निर्देश दिइसकेको छु। सम्भव भए म पनि त्यसबेला साथमा नै हुनेछु। तिनले ट्यापिङ हटाउने मात्र होइन उनीहरूको निम्ति उपयुक्त स्रोत हेरेर पाइप जडान गर्ने पनि जनाएका छन्‌। प्रशासनिक बैठकले अस्थायी समाधानको बाटो त खोल्यो तर स्थायी समाधान कहिले हुने यसको टुङ्गो छैन ।
नगरपालिकाद्वारा पानी वितरण
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। थुकचुकदेखि नेउरा हुँदै कालेबुङ नगरमा वितरण गरिने पानीको पाइपहरू पैह्रोले भत्काएर नगरमा पानीको हाहाकार मच्चिएपछि आजदेखि नगरपालिकाले निःशुल्क पानी वितरण गर्नथाल्यो। आज प्रथम दिन विभागले 37 वटा गाड़ीमा प्रति गाडीले तीनचोटि गरी 92 वटा ठाउँमा पिउने पानी वितरण गर्‍यो। विभागीय पक्षबाट सञ्जय प्रधानले जानकारी दिए अनुसार पिउने पानीको व्यवस्था सुचारू नभएसम्म विभागले नगरमा यसरी नै पानी वितरण गर्नेछ।
कृषि मन्त्री कालेबुङमा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। आज बेलुकी बङ्गालका कृषि अनि व्यवसाय मन्त्री अरुप रोय कालेबुङ आइपुगे। तिनी कालेबुङ आइपुग्ने बित्तिकै डेलो पुगे भने तिनी कालेबुङमा चार दिन बस्ने जानकारी पाइएको छ। भुइँचालो आएपछि अहिलेसम्म केवल जेल मन्त्री मात्र निरीक्षणमा आएका थिए भने त्यसपछि आज मात्र कृषि मन्त्री आइपुगेका छन्‌।भुइँचालोले कृषकहरूलाई पनि व्यापक चपेटमा पारेको छ तर मन्त्री ती कृषकहरूको दुःख सुख बुझ्न आएका हुन्‌ कि घुम्न, केही पत्तो लागेको छैन।
नोटिशको मियाद सकियो भत्किएन बिल्डिङ
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। कालेबुङ नगरमा भुइँचालोले धेरैवटा बिल्डिङहरूलाई जोखिममा पारेको छ। धेरैवटा बिल्डिङहरू चर्किएकोले धेर अग्ला बिल्डिङहरूमा बसोबासो बन्द गरिएको छ भने धेरैवटा अग्ला बिल्डिङहरूलाई भत्काउने निर्देश पनि प्रशासनले दिइसकेको छ। तर प्रशासनको निर्देशलाई अहिलेसम्म कसैले पनि पालन भने गरेको छैन। दुइदुइपल्ट निर्देश जारी गर्दा पनि बिल्डिङ नभत्काएपछि आज गाउँलेहरूले प्रशासनलाई शीघ्र नै बिल्डिङ भत्काउन जोर दिँदै ज्ञापन चढाएका छन्‌। सॉंढे दस माइलस्थित शिव नारायण प्रधानको सात तल्ले बिल्डिङ भत्काउनको निम्ति दुइपल्ट सरकारी निर्देश आइसक्यो तर घर भत्किएन।
घर आफै त जोखिममा छँदैछ वरिपरिका अरू घरहरूलाई पनि जोखिममा पारेको छ। गाउँले डीबी प्रधानले जनाए अनुसार बिल्डिङलाई भत्काउने निर्देश आए पनि भत्काएको छैन। विभागले शिवनारायण प्रधानको सात तल्ले घरमा चार तलालाई अवैद्य घोषित गरेको छ। अग्लो अवैद्य तलाहरू भत्काइनुपर्ने निर्देश दुइपल्ट दिइसकेको छ। अहिले फेरि तीन दिनको अल्टिमेटम दिँदै निकायले बिल्डिङका चार अवैद्य तला भत्काउने निर्देश दिएको छ भने नभत्काए आइपीसी धारा सेक्सन 122 सीआरपीसी अनुसार मुद्दा गर्दा गरिने भएको छ। कुनै पनि समय बिल्डिङ ढलेमा निकाय नै जिम्मेवार रहनुपर्ने गाउँलेहरूको पक्षमा डा.सामुएल राई, रबीन्द्र प्रसाद अनि प्रतीभा राईले बताएका छन्‌। यता नगरपालिकाले कालेबुङ नगरका धेरैवटा घरहरूलाई पनि भत्काउने नोटिश दिएको छ भने धेरैवटा बिल्डिङमा बसोबासो पनि बन्द गरिएको छ। 
जब भुइँचालो आयो तबमात्र नगरपालिका अनि महकुमा प्रशासनको होश खोलिएको देखिएको छ किन भने जुन जुन घरहरू भत्काइनुपर्ने भएको छ त्यसको निर्माणको स्वीकृति पनि दुवै निकायले नै दिएको हो। उप्रान्त यस्ता अवैद्य घर निर्माणमा रोक लगाउने हो कि काम टार्ने मेलो मात्र गर्ने हो आगामी दिनहरूमा नै थाहा लाग्ने देखिएको छ।
मोर्चाको सांस्कृतिक कार्यक्रम शुरू
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चाले स्थापनाकालदेखि नै गर्ने गरेको सांस्कृतिक महोत्सव आजदेखि कालेबुङको मेलाटारमा शुरू भयो। 20 अक्टोबरसम्म चल्ने उक्त सांस्कृतिक महोत्सवको आज प्रथम दिन धार्मिक अनुष्ठानबाट कार्यक्रम शुरू भयो। मोर्चाको महकुमा अध्यक्षा सरिता राईले पार्टीको झण्डोत्तलन गरी आरम्भ भएको महोत्सवमा महकुमा समिति लगायत मोर्चा केन्द्रिय समितिका नेताहरू उपस्थित थिए। यसपल्टको सांस्कृतिक महोत्सव शुरू हुनअघि भुइँचालोमा धेरैले ज्यान गुमाएकोले उनीहरूको निम्ति साई धर्मावलम्बीको भजन अनि पूजा प्रार्थनाबाट कार्यक्रमको थालनी गरियो। श्री सत्य साई सेवा समिति कालेबुङका भक्तजनहरूले आज वेद पठन, सुरा पाठ, बौद्ध प्रार्थना, स्त्रोत, सर्वधर्म भजन आदि गरे।

No comments:

Post a Comment