To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, September 26, 2011

दार्जीलिङ -सिक्किमका नियमित साहित्यिक गोष्ठी कार्यक्रम:एक सर्वेक्षण

दार्जीलिङ -सिक्किमका नियमित साहित्यिक गोष्ठी कार्यक्रम:एक सर्वेक्षण
नवीन पौड्याल, दार्जीलिङ: कुनै पनि समाजको जीवन्तता र सक्रियताको लक्षण त्यहाँ हुने साहित्यिक, सामाजिक,सांस्कृतिक, राजनैतिक गतिविधिलाई मान्न सकिन्छ। अझ साहित्यिक कार्यकलापले समाजको सर्वाङ्गीण सक्रियता झल्किन्छ। साहित्यमा समाजको उन्नति, अवनति, विकास, विकृति इत्यादि सबै पक्षहरूको प्रतिबिम्बन हुन्छ। समाजका जागरूक युवावर्ग मिलेर साहित्यिक गोष्ठी गरी समाजलाई अघि बढाउने कार्य गर्छन्।
नेपाली साहित्यको इतिहास हेर्दा हामी कुनै संस्थाको नियमित साप्ताहिक र मासिक जमघट भई साहित्यिक कार्यकलाप शुरू गर्ने मोतीराम भट्टको नेतृत्वमा संचालित मोतीकृष्ण मण्डलीलाई पाउँछौं। त्यस संस्थामा मोतीराम भट्ट, नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, बडाकाजी मरीचिमान सिंह इत्यादि प्रमुख थिए। त्यस मण्डलीले कहिले मासिक,कहिले साप्ताहिक रुपमा भेला भई गजल. समस्यापूर्त्ति कविता सुन्ने र सुनाउने प्रचलन राखेको थियो। मोतीराम भट्टको अकालमा नै निधन भएकाले उक्त संस्था र जमघट लामो चल्न सकेन। नेपाली साहित्यमा चलेका राल्फाली, बुट-पालिस, अस्वीकृत जमात, अमलेख, तरलवादी इत्यादि साहित्यिक आन्दोलनहरू यस्तै मासिक वा साप्तहिक भेलाका उपज हुन्। यता दार्जीलिङ-सिक्किमतिर पनि यस्ता मासिक वा साप्ताहिक जमघटबाट धेरै साहित्यिक संस्था र गतिविधि बढेका हामी देख्न सक्छौं। सन् १९४६-४७ तिर गान्तोकका विशेष चारजना शिक्षकहरू मिली साहित्यिक चर्या गर्थे। त्यसैको फलस्वरूप अपतन साहित्य परिषद् गठन भएको भन्ने भनाइ छ।यता दार्जीलिङतिर पनि यस्ता साहित्यिक जमघटको इतिहास पाइन्छ।
हालसम्म यता दार्जीलिङ-सिक्किमतिर यस्ता साहित्यिक जमघट हुने क्रममा गान्तोकको बसिबियाँलो,कालिम्पोङको बसिबियाँलो र साझा साहित्य मञ्च, सिङतामको बसिबियाँलो, गान्तोकको प्रतिभा मिलन, दार्जीलिङको खुल्ला साहित्यिक मञ्च, खरसाङको सुनौं-सुनाऊँ र मासिके मन्थन, बाग्राकोटको साहित्य-परिक्रमा, बिजनबारीको प्रतिभा प्रेरणा परिषद् , रिनाक, सिक्किमको प्रतिभा मञ्च, मिरिकको कथा सुनौं प्रमुख हुन्।
थाहा पाइएको अनुसार अहिलेसम्मको यस किसिमको कार्यक्रम भएको सर्वप्रथम दार्जीलिङको युगपरिबोध हो। यसले लगातार बाह्र बर्षजति प्रत्येक महिनाको कुनै आइतबार मासिक कार्यक्रम सञ्चालन हुने गर्थ्यो।सन १९७१सालमा अगमसिंह गिरीको निधन भएपछि दार्जीलिङमा आएको साहित्यिक शून्यतालाई चुनौती दिँदै सन् 1973 सालदेखि दार्जीलिङका केही जागरूक युवाहरू भेला भई महिनामा एकपल्ट साहित्यिक चर्या गर्थे।ती युवाहरूमा चन्द्र शर्मा,सूर्यकुमार सुब्बा, शरद् छेत्री, बी योञ्जन,गुप्त प्रधान, भीम सन्तोष, टेकध्वज जिम्बा आशा प्रमुख हुन्। युगपरिबोधको उक्त कार्यक्रम कहिले रेडक्रस हल, कहिले नगरपालिका स्कूल भवन, कहिले नगरपालिका भवन, कहिले भानुभक्त प्राथमिक पाठशाला, कहिले गोदुनिस भवन आदितिर सञ्चालन हुने गर्थ्यो।कसैले कविता, कसैले कथा, कसैले निबन्ध पठन गर्न गर्थे।कसैले ती पठित रचनादि नोट गरी अन्त्यमा समीक्षा गर्थ्यो।माथिका साहित्यकारबाहेक मुकिन्द शर्मा,विनोद नेपाल,नगेन्द्र नेपाली,रमाकान्त गुप्त,विजयकुमार राई आदि पनि सक्रिय थिए।यसले बेला बेलातिर विभिन्न वरिष्ठ साहित्यकार अतिथिहरूलाई डाकी साहित्यिक वार्ता प्रस्तुत गर्न लाउँथ्यो।त्यसरी डाकिएका मध्ये जी छिरिङ, पारसमणि प्रधान,लक्खीदेवी सुन्दास, मोदनाथ प्रश्रित,हरिप्रसाद गोर्खा राई आदि थिए।यसले विशेष गरि भारतीय नेपाली साहित्यको आफ्नै चिनारी, धारा र समृद्धिका लागि बढी जोड दिएको थियो। यसले सर्वप्रथम अच्छा राई रसिक,रूपनारायण सिंह र अगमसिंह गिरी जन्मजयन्ती पालन गरी भारतीय नेपाली साहित्यकारको पनि महत्व दिने परम्परा शुरू गरेको थियो। यसकै अथक प्रयासमा दार्जीलिङ नगरपालिका भवन अघिल्तिर अगमसिंह गिरीको सालिक सन् १९८५ सालमा स्थापना गरिएको हो।यसले पद्य साहित्यमा योगदान दिनेलाई गिरी पुरस्कार र गद्यसाहित्यमा योगदान दिनेलाई अच्छा राई रसिक पुरस्कार दिने गर्दथ्यो।पहिलो गोर्खाल्याण्डको आन्दोलनको वेलामा भने यसलाई बचाउन मुस्किल पर्ने देखियो।यसलाई निष्पक्ष राख्न प्रयास गर्दा पनि यसका केही सदस्य निरपेक्ष बस्न सकेनन्। फलत् यो निष्क्रिय र सुप्तप्राय: भयो।पछिबाट फेरि यो जुर्मुराई सन् १९९२सालमा यसले पुस्तक प्रकाशनतर्फ ध्यान दिएको थियो।२००० देखि यो मासिक रूपमा चार-पाँच महिना कार्यक्रम सञ्चालन भएथ्यो।नयाँ युवा पुस्ताको अभाव, पुराना सदस्यहरूको व्यस्तता आदि कारणले गर्दा हालमा यसको बैंक खातामा रहेको सम्पूर्ण रकम ऱू.एक लाख,एघार हजार,एकसय एक गोर्खा दु:ख निवारक सम्मेलन दार्जीलिङको रङ्गमञ्च निर्माणार्थ दान दिइ यसले विश्राम लिनपुग्यो।
यस किसिमको मासिक साहित्यिक जमघट पहिलो सन् १९९१ देखि शुरू भएको गान्तोकको बसिबियाँलो हो। सुवास घिसिङको नेतृत्वमा रहेको पहिलो गोर्खाल्याण्ड आन्दोलनले पहाडको सामाजिक जीवनमा अराजकता, असमञ्जस स्थिति ल्याई सांस्कृतिकलगायत साहित्यिक क्षेत्रमा नैराश्य ल्यायो। हाम्रा कवि-लेखकहरूलाई अर्के नजरले हेरिन्थ्यो। यसो हुँदा उनीहरू कि त लेख्न छाड्नु पर्थ्यो,कि त यहाँबाट पलायन हुनुपर्थ्यो। कालिम्पोङ-दार्जीलिङका कतिपय कवि-लेखकहरू गान्तोकमा भेला भई हिमाली बेला पत्रिका कार्यलयमा साहित्यिक चर्या गर्थे।तिनै लेखकहरू मिली एउटा साहित्यिक जमात शुरू गरेका थिए। मूल रूपमा बुद्धिमान प्रधान बमप, सी.के. श्रेष्ठको नेतृत्वमा सञ्चालित बसिबियाँलो कार्यक्रमले धेरै लोकप्रियता हासिल गरेको थियो।सी के श्रेष्ठको प्रमुख नेतृत्वमा १४ प्रकरणसम्म चलेपछि बाँकी प्रकरण चाँहि बद्धिमान प्रधान बमपले सञ्चालन गरेका हुन् भन्ने जानकारी पान्छ। यसले नियमित ३४औं प्रकरण पूरा गरिसकेको थियो। पछिबाट गान्तोकमा भारतीय नेपाली ऱाष्ट्रिय परिषद् गठन भएपछि चाँहि यसका मूल योजनाकार सी.के श्रेष्ठ त्यसमा ब्यस्त हुँदा बसिबियाँलो कार्यक्रम१९९९सालमा सधैंभरिलाई स्थगित हुनपुग्यो। त्यसको केहीपछि त्यही आचार-संहिता र परिपाटीमा तिनै सदस्यहरूले कालिम्पोङमा बसिबियाँलो शुरू गरेका हुन्।
सन् १९९१-९२ तिर खरसाङमा युवा साहित्य सदनको तत्वावधानमा सडक कविता गोष्ठीसम्पन्न हुन्थ्यो। नवराज निरौला र बालकृष्ण थामीको संयोजकत्वमा आयोजन गरिने उक्त कार्यक्रममा खरसाङको मूल सडकमा खुल्ला कविता गोष्ठी हुने गर्थ्यो।चार पाँच प्रकरण मात्र चले तापनि त्यसले त्यस समयमा निकै हलचल ल्याएको थियो। त्यस कार्यक्रममा जस योञ्जन प्यासी, पुरूषोत्तम अधिकारी,राजकमार कार्की,विनञ्जय गुरूङ, सुशीला सुब्बा, देवेन शर्मा आदिले रोशिला, प्रगतिशील, विद्रोही भावका कविता जनसमूहका अघि वाचन गरेका थिए।
अहिलेघरि कालिम्पोङको बसिबियालोले अन्य सबैलाई उछिनेर सर्वप्रिय,सर्वब्यापक र सर्वनियमित बनेको छ। यसका मूल योजनाकार सी के श्रेष्ठ, हीरा छेत्री, शमशेर अली प्रमुख हुन्। सन् 1993 देखि शुरू भएको बसिबियालोका शुरू-शुरूमा नियमित रूपमा सामेल हुने कवि-लेखकहरूमा मोतीप्रसाद शर्मा, किशोर छेत्री, डा हर्कबहादुर छेत्री, गोपी कुमार दास,तारानाथ सुवेदी, दीपक प्रधान, भानु छेत्री, नरेश साही,नवीन पौड्याल,नरजीतसिंह छेत्री प्रभृति हुन्। कतिपय कारणवस् सुचारू रूपमा सञ्चालन हुने उक्त बसिबियाँलो सन् १९९६ मा बन्द बयो। पछिबाट विशेषगरि हीरा छेत्रीको प्रयासमा फेरि सन् २००५ देखि यो कार्यक्रम बौरी उठ्यो। त्यस पछिदेखि यसले पछि फर्केर हेर्नुपरेको छैन।निमा स्याङदेन, मुन्नु गौतम, सारथी तामाङ, शिव छेत्री शिवु, उमेश उपमा, असीम सागर, अरूण साङपाङ, बी के शिलाल,शशि सुनाम,ललित गोले, अरूण रसाइली, अभिमन्यू कलियुगे,खड्ग छेत्री,रघुनाथ दङ्गाल इत्यादि प्रमुख यसका नियमित कवि-लेखक हुन्। हिउँद महिनामा तीनजटक जति सिक्किमका कृबु संयमीको आतिथ्यमा टिस्टा-रङ्गीतको दोभान त्रिवेणीमा पनि वनभोजका रूपमा साहित्यिक संगम आयोजना भएको छ। कथा-कविताबाहेक कसैले नाटक, कसैले समीक्षा, कसैले वार्ता प्रस्तुत गर्ने गर्छन्। यसले आफ्नो कार्यक्रममा महानन्द पौड्याल,नरबहादुर दाहाल आदिलाई गाउँबुढा उपाधिले सम्मानित गरेको छ भने साहित्यिक-सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न प्रतिभालाई अभ्यर्थना र सम्मान गरिसकेको छ।
सन् २००० सालको नोभेम्बर महिनादेखि खरसाङ र यसको वरिपरीका क्षेत्रमा मासिके मन्थन साहित्यिक भेला हुने गर्थ्यो। बुद्धिमान प्रधान बमप मूल आयोजक र परिकल्पनाकार रहेको उक्त कार्यक्रम उतिबेला निकै चर्चित र लोकप्रिय थियो।त्यतिबेला दार्जीलिङपहाडमा लेखमगत स्वतन्त्रता एक किसिमले अवरूद्ध भई लेखकहरू उदासीन थिए। त्यस अराजक स्तिथिलाई मुनौती दिएर केही कवि-लेखक जुर्मुराएर मासिके मन्थन कार्यक्रम शुरू भएको हो। खरसाङ, तीनधारे, महानदी, सुकुना, सिलगडी आदि ठाँउतिर घुमी-घुमी महिनाको कुनै आइतबार सञ्चालन हुन्थ्यो। लगभग् ३५ जना जति कवि-लेखकहरू यसमा सम्मिलित थिए जसमध्ये पुरूषोत्तम अधिकारी, दीपक प्रधान,असित राई,प्रेम थापा, लक्ष्मण श्रीमल, पूर्ण गुरूङ निरूपम, जे. पी थापा,जयप्रकाश दाहाल, विनोदप्रकाश शर्मा,जी.बी बल आदि साहित्यकार सक्रिय रूपमा सहभागी हुन्थे।विशेषगरि युवा साहित्यकारहरूलाई प्रोत्साहन दिने हेतूले सञ्चालित उक्त मासिके कार्यक्रम निकै लोकप्रिय थियो। पछिबाट यसका मूल खाँबा बुद्धिमान प्रधान बमप भारतीय गोर्खा परिसङ्घ गठन गर्न लाग्दा उक्त मासिके कार्यक्रम २००१सालको डिसम्बर नहिनामा बागडुग्रामा अगमसिंह गिरी जयन्ती मनाएपछि १४ प्रकरणदेखि बन्द भयो।
सन् १९९१ देखि शुरू भई बिचमा बन्द भई पुनर्सञ्चालन भएको सिङताम,सिक्किमको बसिबियाँलो पनि महत्त्वपूर्ण साहित्यिक भेला कार्यक्रम हो। यसका मूल संस्थापक,परिकल्पनाकार र मूल स्तम्भ मोहन प्रधान नीरज हुन्। हालमा यसका नियमित ५०–६०जनाको टोली रहेको छ । यसको सदस्यताको निम्ति कुनै शुल्क-राशि राखिएको छैन औ औपचारिकता पालन गर्नु पर्दैन। यस कार्यक्रममा आफ्नो इच्छाअनुसारले पालै-पिलो एक-एकजना गरी घरपटि बनेर उक्त कार्यक्रमका निम्ति चिया-चमेना प्रदान गर्नुपर्दछ। यस बसिबियालो कार्यक्रमको मूलोद्देश्य साहित्यलगायत विभिन्न कलाका प्रतिभाहरूलाई सम्मान-अभिनन्दन,सम्वर्द्धन र समाजमा लुकेर बसेका प्रतिभाहरूलाई खोजी-निकाल्नु रहेको छ। बीचमा स्थगित भएता पनि २०औं प्रकरणदेखि भने अटुट रूपमा सञ्चालित रही हालसम्म ३७औं प्रकरण पार गर्दैछ। यसमा हुने अभिनन्दनको खर्च भने अधिकांश मोहन प्रधान नीरज आफैले बेहोर्ने गरेको थाहा पाइन्छ। यसका केही प्रमुख सल्लाहकारमा टी बी प्रधान,सी पी प्रधान, जयश्री छेत्री, चक्रपाणी भट्टराई आदि हुन् भने अन्य लेखक र उपस्थित साहित्यानुरागी व्यक्तिहरूमा विन्देश्वरी प्रसाद, विजयकुमार सुब्बा, वीणाश्री खरेल, दिपा राई, चुनीलाल घिमिरे, सी पी गिरी आदि हुन्।यसले दोस्रो विश्वयुद्धका एक योद्धा हाल९८ वर्षीय पदमबहादुर गुरूङ, भाइचुङ भोटिया, शीतल प्रधान आदिलाई अभिनन्दन गरेको छ।
दार्जीलिङको खुल्ला साहित्यिक गोष्ठी मञ्च पनि एक महत्वपूर्ण साहित्यिक भेला कार्यक्रम हो।सन् २००६ को मई महिनादेखि प्रत्येक महिनाको दोस्रो आइतबारका दिन नियमित रूपमा सञ्चालन भइरहेको छ।प्रतिष्ठित तथा सिकारू साहित्यकारहरूलाई एकै थलोमा उभ्याई साहित्यको अनवरत् जगेर्ना र लेखन-प्रेरणा प्रदान गर्ने यसको मूलोद्देश्य रहेको छ। यसको मूल संयोजकद्वय डा रूद्रराज मास्के र कमल भण्डारी हुन् भने नियमित र सक्रिय रूपमा संलग्न कवि-लेखकहरूमा कर्ण थामी,साङमु लेप्चा,जोभी मोक्तान,ज्योतिबाला लामा,केवलचन्द्र लामा, नम्रता ‘संस्कार’शर्मा, पवनमहिमा,सी के राई,दीक्षा मोक्तान ,गणेश छेत्री प्रमुख हुन्।त्यसैगरि कर्ण विरह, महेश दाहाल, सबि दर्नाल, नीना राई,जनम राई ‘कमाने’, सी एल शर्मा आदि प्रमुख रूपले उपस्थित हुन्छन्।सदस्यहरूले हरेक महिना नियमित रूपमा स्वचित कुनै कविता वा कथा वा निबन्ध सुनाउनु पर्दछ।यसो हुँदा साहित्यकारले आफ्नो प्रतिभा चम्काउने र प्रकाश पार्ने अवसर पाउँछ। जतिसक्दो खुल्ला चौरमा नभए कोठामा सञ्चालन हुने उक्त गोष्ठीमा सुनाइएका रचनादि वर्षमा एकपल्ट प्रकाशित हुने गोष्ठीको मुखपत्र ‘सम्झौटो’ मा प्रकाशित गर्दछ।उक्त ‘‘सम्झौटो’’ अहिलेसम्म चार अङ्कसम्म प्रकाशित भएको छ। त्यसैगरि यही गोष्ठीकै आधार र मञ्च पाएर जोभी मोक्तानको कवितासंग्रह‘ब्लू फक्स’(प्रकाशक निर्माण प्रकाशन, सिक्किम) र पवनमहिमाको कवितासंग्रह ‘बेसाँध रागका आलापहरू’(प्रकाशक गामा प्रकाशन,दार्जीलिङ)मुक्तिनाथ शर्माको ‘म र मेरो मन’ (कवितासङ्गह) प्रकाशित भएका छन्।यसले पश्चिम सिक्किम साहित्य प्रकाशनका सदस्यहरूलाई पनि डाकी संयुक्त रूपमा कार्यक्रम पनि आयोजना गरेको छ।
सिलगडीमा पनि केही जागरूक र सचेत विद्यार्थी मिली १३ जुलाई २००६ देखि साहित्य-संगम नामक एउटा साहित्यिक जमात गठन गरी कहिले कसैको घरको आँगन त कहिले कृष्णमाया स्कूलमा महिनाको अन्तिम आईतबारतिर त्यो मासिक साहित्यिक भेला कार्यक्रम सञ्चालन हुने गर्थ्यो।।यसले २००९ सम्म २५-२६वटा प्रकरण पूरा गरेको हो । यसको अध्यक्ष दुष्यन्त रामुदामु,सचिव दीपेन्द्र आचार्य सुमी,सहसचिव प्रदीप कँडेल विप्लव सल्लाहकारमा राजेन्द्र ढकाल तथा अन्य सदस्य र नियमित रूपमा उपस्थिति दिनेहरूमा सुनील गुरूङ तमु,वीरकुमार गुरूङ, रोजेस अनल थापा,सरोज अविरल, धीरेश आचार्य, शिशिर राई प्रगति प्रमुख हुन्। यसको कार्यक्रममा कविता, कथा वाचनका अतिरिक्त विभिन्न विषयमा वार्ता,समीक्षा पनि प्रस्तुत गरी समकालीन लेखन कस्तो छ वा कस्तो हुनुपर्ने इत्यादि कुराबारे छलफल हुने गर्थ्यो।विशेषगरि रचनाधर्मितालाई निरन्तरता दिई रचनाकारलाई सक्रिय बनाइरहनु, लेखकहरूबिच सुसम्पर्क कायम राख्नु यसको मूल लक्ष्य थियो। कार्यक्रम सञ्चालन हुन्थ्यो। त्यस जमातका विद्यार्थीहरू पढिसकेर लाखापाखा लागेपछि साहित्य-संगम कार्यक्रम बन्द भयो।
यसैगरि दक्षिण सिक्किमको जोरथाङमा पनि सृजनशील साहित्य लेखन मञ्चले मासिक साहित्यिक जमघट कार्यक्रम आयोजना गर्दैआएको छ। यस सितम्बर महिनामा यसले एघारौं प्रकरण पूरा गरयो। यसका प्रमुख कार्यकर्त्ताहरूमा सुबास सोताङ, सेसिल मुखिया, हरिकुमार निरौला इत्यादि प्रमुख हुन्।
बिजनबारी खण्डका केही उत्साही युवाहरू मिलेर प्रतिभा प्रेरणा परिषद् सन् २००९को १७ जुलाईमा गठन गरी नियमित रूपमा नभए तापनि विभिन्न पर्वतिर कविता-गोष्ठी, आयोजना गर्दछ। यसले साहित्यलगायत कलाका सबै क्षेत्रका प्रतिभालाई प्रोत्साहन र संरक्षण गर्ने उद्देश्य लिएको छ। बिजनबारी क्षेत्रका विशिष्ठ साहित्यकारलाई तीन-तीन वर्षमा प्रतिभा प्रेरणा पुरस्कार र समाजका विभिन्न क्षेत्रका प्रतिभालाई अभ्यर्थनासमेत गर्दछ। यसले कथाकार पूर्ण सुब्बालाई प्रतिभा प्रेरणा पुरस्कार प्रदान गर्नका साथै रनमाया राई,टीबी बराइली, डा प्रेमचन्द्र राई मणिप्रसाद राईलाई प्रतिभा प्रेरणा सम्मान प्रदान गरेको छ।यसका प्रमुख सक्रिय कार्यकर्त्ताहरूमा मुक्तिनाथ शर्मा,सुजनहाङ्ग सुब्बा,कैलाश पाण्डे, विशाल छेत्री, कला खवास, रमेश कडरिया, महेश दाहाल, कर्ण विरह,कर्ण गाई, वसन्त शर्मा आदि हुन्। यसले आफ्नो संरक्षणमा रमेश कडरियाको उपन्यास, मुक्तिनाथ शर्माको एउटा कवितासंग्रह र निबन्धसंग्रह, कैलाश पाण्डेको कथा-कविता संगालो प्रकाशित गरेको छ।
खरसाङमा पनि गोर्खा जन पुस्तकालयको तत्त्वावधानमा सन् २००७ को जून महिनादेखि सुनौं-सुनाउँ भन्ने साहित्यिक भेला कार्यक्रम सञ्चालन भइरहेछ। जयप्रकाश लामा र ऋषि राईको कुशल संयोजनमा महिनाको अन्तिम आइतबार सञ्चालन हुने उक्त कार्यक्रममा एउटा ठुलो बही खातामा कवि-लेखकका नाम-ठेगाना टिपेर कविता कथा जे छन् वाचन गर्न लगाइन्छ। यसले नवीन-प्रवीण सबै खाले साहित्यकारलाई प्रेरणा, संरक्षण र मैत्री भाव बढाउने र मञ्च प्रदान गर्ने उद्देश्य लिएको छ । यसले कुनै औपचारिकताबिना नै कवि-लेखकहरूका कविता,गजल वा लेखादि सुनाउने ब्यवस्था गरेको छ। असीत राई, जी बी बल, गोविन्दसिंह घतानी, एल डी मोक्तान, मानसिंह मोक्तान, पुरूषोत्तम अधिकारी,सतीस छेत्री,रचना अनाकार, लाशा शेर्पा,परसात राई अम्बटे,कुबीर प्रधान, निशान दुलाल, देवेन मंगर,दिल थापा,डुकछिरिङ लेप्चा,उषाकिरण सत्यदर्शी,ग्याल्पो लामा,शिशुपाल शर्मा,विनोद अश्रुमाली, शैलेन्द्र छेत्री,सुवास छेत्री भावुक, उदय दुमी, दीपक ठटाल जलन आदि प्रमुख रूपमा नियमित उपस्थित हुन्छन्। त्यस्तै कुनै संगीतकारले आफ्नो वाद्य-वादन बजाएर आनन्दित पार्ने गर्छन्। यस भेलामा नियमित रूपमा धेरै यसले ३१ औं प्रकरण पूरा गरिसकेको छ। यसले आफ्नो मुखपत्र ‘सुनौं-सुनाउँ’ एक अङ्क प्रकाशित गरिसकेको छ औ दैनिक हिमालय दर्पणको भावोद्गार स्तम्भमा सुनौं-सुनाउ कार्यक्रममा पठित रचनादि प्रकाशित गर्दछ। गत अगस्ट महिनाको प्रकरण चाँहि लघुकथा विशेषका रूपमा सञ्चालन भयो।
अर्को महत्त्वपूर्ण र सबैभन्दा ठुलो साहित्यिक जमघट हुने ठाँउ हो गान्तोकमा सञ्चालन हुने प्रतिभा मिलन कार्यक्रम हो औ यसले विशिष्ट साहित्यिक योगदान दिएको छ। वरिष्ठ र कनिष्ठ दुवै खाले साहित्यिक प्रतिभाहरूलाई मिलन गराउने मूलोद्देश्य लिएको यस साहित्यिक भेला कार्यक्रम २८ अगस्ट, २००५ देखि अटुट रूपमा सञ्चालन भइ ७३औं प्रकरण पूरा गरिसकेको छ। यसका मूल परिकल्पनाकार मुख्य संयोजक अमर बानियाँ लोहोरो र अर्का संयोजक चन्द्र दुलाल हुन्। यस कार्यक्रममा औसत १५० -२०० जना अथवा थोरैमा पनि २५–३०जना कवि-लेखक र अन्य साहित्यानुरागी भेला हुने गर्छन्।यसले ओझेलमा परेका विभिन्न क्षेत्रका प्रतिभावान कलाकारलाई अभिनन्दन-अभ्यर्थना गर्ने गरेको छ। यसले प्रथममा कृबु संयमीलाई सम्मान गरेको हो भने अहिले प्रत्येक महिना तीन-तीनजनालाई अभ्यर्थना गरिरहेछ। यसरी सम्मानित हुनेहरूमा होमनाथ मिश्र,भुवनेश्वर बरूवा, अर्जुन पीयूश, डिल्लीप्रसाद अधिकारी आदि हुन्।यसका नियमित कवि-लेखकहरूमा प्रा तेजमान बराइली,भिम ठटाल, बी खेवा, रूपेश शर्मा, अर्जुन यावा इत्यादि हुन्।
यसले अहिलेसम्म प्रतिभा मिलन नामक वार्षिक-पत्र प्रकाशित गरिसकेको छ।यस कार्यक्रममा कविता, कथा, वाचनलगायत वर्तमान साहित्यका गतिधारा-स्थिति विषयमा समय-समयमा वार्ता, पुस्तक-पत्रिका र अडियो क्यासेट-सिडी विमोचन,गायन, पनि प्रस्तुत गर्दछ।
यसैगरि दार्जीतिङ सरकारी महाविद्यालयका केही जागरूक र साहित्यमा रूचि राख्ने विद्यार्थीहरू मिली साहित्यानन्द भेला नामक मासिक कार्यक्रम सञ्चालन हुँदछ। विशेषगरि हिमाल भित्ते पत्रिका परिवारका सदस्य विद्यार्थी युवा-युवती मासिक रूपमा भेला भई कविता ,गजल, साहित्यिक वार्ता, कथा, सुनाउने गर्छन्। त्यस्ता केही साहित्यिकहरूमा सपन प्रधान, नरेश कटुवाल, निमा लेप्चा ,राजु नर्बु शेर्पा, अजित छेत्री,नीलिमा थापा, महेश दाहाल,सञ्जीव थापा,दिना प्रधान, अजित बराइली, मन्त्रणा तामाङ,रेणुका थापा,प्रतीक रूम्बा,सुशिला प्रधान, रोशन राई‘चोट’ इत्यादि प्रमुख हुन्। स्नातकोत्तर नेपाली विभागका शिक्षक-शिक्षिकाहरूको सहयोगमा त्यो समूहले आठ-नौ पटक साहित्यिक भेला गर्नुका साथै साहित्यानन्द नामक पत्रिका एउटै अङ्क भए पनि प्रकाशित भएको छ। हालमा उक्त भेला निस्क्रिय भएको छ।
डुवर्सको बाग्राकोटमा पनि साहित्य-परिक्रमा नामक साहित्यिक भेला कार्यक्रम सञ्चालन भइरहेको छ।मासिक तवरमा नियमित नभए तापनि अनुकूल समय पारेर यसले साहित्यानुरागी भेला गरी हालसम्म बयालिसौं प्रकरणसम्मको यात्रा हिंडिसकेको छ। सन् २००४ को महिनामा बद्रीनारायण प्रधानको आँगनमा बसेको पहिलो भेलाले साहित्य-परिक्रमा नामकरण गरी आफ्नो उद्देश्य र नियमावली तय गरेको हो।स्थायी रूपमा कोही एकै जना संयोजक नभएर पालै-पिलो गरी प्रकरणै पछि संयोजक बन्ने प्रथा छ। सुखमान मोक्तान, अजय खँड्का,अजय क्षेष्ठ, वेगवसन्त थापा,भूपेश शर्मा, निर्मल शर्मा,रूपेश शर्मा,नारायणविक्रम प्रधान, शङ्कर प्रधान, देवेन्द्र छेत्री, श्रीमती गङ्गादेवी शर्मा, बलराम पुरी आदिले संयोजकको भार वहन गरेका छन्। श्री देवेन्द्र छेत्री यसको संयोजक भएका बेला यसै कार्यक्रममा केटा-केटीका निम्ति खेल-कुदको आयोजना पनि गरिएको थियो।एकपटक नारी -भेला आयोजना पनि गरिएको थियो र त्यसमा विन्द्या सुब्बा,डा कविता लामा,दुर्गा गुरूङ आदिलाई डाकी भव्य बनाइएको थियो।भेला वेगवसन्त थापा, रेमिका थापा इत्याादिले वार्ता पनि प्रस्तुत गरेका छन्। साहित्यिक प्रतिभाहरूलाई सम्वर्द्धन र प्रवर्द्धनका निम्ति गठित र संचालित उक्त साहित्यिक कार्यक्रमले आफ्नो विशिष्ट योगदान दिँदैआएको छ।
कालिम्पोङ कै केही साहित्यकार मिली साझा साहित्य मञ्चका नाममा साहित्यिक कार्यक्रम हुने गरेको छ।सन् २००८को नोभेम्बर महिनादेखि शुरू भएको यस कार्यक्रम महिनाको प्रत्येक अन्तिम आइतबार नेपाली साहित्य अध्ययन समितिको भाइचन्द प्रधान हलमा सम्पन्न हुन्छ।साहित्यमा रूचि राख्ने नयाँ नयाँ कनि-लेखकहरूलाई प्रोत्साहन दिनु,युवा-युवतीमा साहित्यिक रूचि जगाउनु, मौका नपाएका प्रतिभाहरूनाई मञ्च प्रदान गर्नु यसको प्रमुख उद्देश्य रहेको छ। यसको आफ्नो सञ्चलन समित् रहेको छ जसमा बी के सिलाल सभापति, सचिव दिनेश खाती,कोषाध्यक्ष ज्ञान सुतार रहेका छन्। उमेश उपमा,मनोज बोगटी, दिनेश खाती,शिवु छेत्री,सानुमति राई,मदना ओझा, सुमिरा छेत्री, राजु छेत्री, भूमिराज राई, टि एन सुवेदी, दीनदयाल अग्रवाल,छिरिङ लेप्चा, विष्णु छेत्री आदि नियमित रूपमा भेला हुन्छन्।हरदरमा पैंतीस-चालिसजना जति भेला भई कसैले कविता,कसैले कथा,कसैले समीक्षा सुनाउँछन् त कसैले नाटक अभिनय गर्छन्। एउटा प्रकरणका निम्ति एकजना संयोजकको रूपमा ठुल्दाइ चनिन्छ र त्यस ठुल्दाइले त्यस दिनको चिया-चमेनाको बन्दोबस्त मिलाउँछ।यसै कार्यक्रमको उपलब्धीस्वरूप दिनेश खातीको लव उन मसानघाट नामक एकाङ्की संकलन प्रकाशित छ।
पूर्व सिक्किमको रिनाकमा पनि सन् ३अक्टोबर,२०१०देखि प्रतिभा मञ्च नामक साहित्यिक भेला कार्यक्रम शुरू भएको छ। यसको पनि मूलोद्देश्य स्थानीय साहित्यिक एवं कलाका सबै क्षेत्रका प्रतिभाहरूलाई एउटा स्वस्थ मञ्च प्रदान गर्नु,साहित्यिक परिवेश प्रदान गर्नु, युवावर्गलाई लेखनगर्फ आकर्षण गर्नु रहेको छ। यो कार्यक्रम महिनाको प्रत्येक आइतबार रिनाकको खण्ड प्रसाशनिक कार्यलयको सम्मेलन कक्षमा आयोजना गरिन्छ। यसका प्रमुख कार्यकर्त्ता र लेखकहरूमा भुवनेश्रर बरूवा अंशु, आर. के. प्रधान, गणेशकुमार प्रधान, थमन नौवाग,अजय गुरूङ,भानुराज थापा निरोगी,अभिनारायण मिश्र, चन्द्रप्रसाद रिजाल यात्री,टी के प्रधान,डिल्लीप्रसाद अधिकारी, रोहित वशिष्ठ, अजय चामलिङ, रमेश जैसवाल, राजेन कार्की इत्यादि प्रमुख हुन्।
यसै वर्ष २०११ को मई महिनादेखि मिरिकमा पनि ‘कथा सुनौं’नामक कथा-वाचन कार्यक्रम सञ्चालन भइरहेछ।रोशन राई ‘आदित्य’,धनवीर पुरी, माधव बुढाथोकी,विनोद प्रसाँई यसका प्रमुख आयोजक हुन्।नेपाली साहित्यमा कथा साहित्यको खस्कँदो लोकप्रियतालाई बढाउन नै यो कार्यक्रम आरम्भ गरिएको हो। आजसम्म यसले चारवटा प्रकरण मात्र तय गरेको छ। यस कार्यक्रममा कथावाचनका साथै त्यहाँ पठित कथाको समीक्षा पनि गरिन्छ।
यसरी हेर्दा यस्तो साहित्यिक भेला सर्वप्रथम गान्तोकबाट शुरू भएको हो। गान्तोकको बसिबियाँलो प्रारम्भ गर्ने सी के श्रेष्ठले नै कालिम्पोङमा पनि यही कार्यक्रम शुरू गरेका हुन्।बीचमा एकपल्ट स्थगित भएता पनि कालिम्पोङको बसिबियाँलो नै सबैभन्दा अघि रहेको छ। यसले साहित्यानुरागी नयाँ पराना सबैलाई समेटी एउटा सचेत समाज गठन गरिआएको छ। यसका साथै यसले कालिम्पोङमा साहित्यिक परिवेश सिर्जना गरेको छ।
आभार र साभार
क) सुनौं-सुनाऔं,वर्ष१,अङ्क १,अप्रेल २०१०,सम्पा.जयप्रकाश लामा र अन्य
ख) हीरा छेत्री,कालिम्पोङ
ग) मोहन प्रधान नीरज,सिङताम
घ) जोभी मोक्तान,दार्जीलिङ
ङ) पुरूषोत्तम अधिकारी, खरसाङ
च) अमर बानियाँ लोहोरो,गान्तोक
छ) सुरेन्द्र चामलिङ,मिरिक
ज) भीम ठटाल,गान्तोक
झ) बुद्धिमान प्रधान बमप
ञ) श्रीमती गङ्गादेवी शर्मा

No comments:

Post a Comment