To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Sunday, September 11, 2011

कालेबुङको सुरक्षामा सामाजिक दायित्वको सवाल
जुल्वोले पानी छेप्दैछ सुतेको प्रशासनलाई
मनोज वोगटी
कालेबुङ, 11 सितम्बर।
अपराधीहरूले लुक्ने केन्द्र नै बनाइसकेको कालेबुङमा जिल्लाभरिमा नै अधिक अपराधमूलक घटनाहरू भइसकेको छ तर प्रशासनिकरूपले कालेबुङको सुरक्षा र गरीमाको निम्ति भरोसा लाग्दो पहल भइरहेको छैन। कालेबुङ संरक्षण समितिहरू त बनाइन्छ तर कालेबुङको सुरक्षाको कुनै पनि ठोस काम गर्दैन। सामाजिक सङ्गठनहरूको पनि कालेबुङमा कमि छैन तर सामाजिक हीतको दीर्घकालीन कार्यपहल गरिएको छैन। यता अपराधीहरूले लुक्ने केन्द्र कालेबुङलाई नै बनाउँछ। राजनैतिकरूपले जति संवेदनशील कालेबुङलाई मानिन्छ उति नै संवेदनशील अपराधिक घटनाहरूको कारण पनि मानिन्छ।
    कालेबुङमा नै भूमिगत सङ्गठनहरू जन्मिने गरेको छ भने अपराधको गढ पनि कालेबुङ नै भइरहेको छ। ठगहरूको निम्ति पनि उर्वर क्षेत्र भएको छ, कालेबुङ। करोडौं रूपियॉं हिनामिना गरेर सुइटाप ठोक्ने स्थानीयदेखि बाहिरका ठगहरूको समूह अलग्गै छ भने राष्ट्रिय अन्तराष्ट्रिय हत्यारा र चोरहरूको गिरोह र नारी तस्करहरूको सञ्जाल पनि कालेबुङबाट नै फैलिनेगरेको छ। कालेबुङमा नै स्टोभ बम पड्‌किन्छ अनि राष्ट्रहीतको विपरित सार्वभौम राष्ट्रको दाबी गर्ने भूमिगत संस्थाहरूले शीर उठाउँछ। यस्तोमा जनमुक्ति युनाइटेड लेबर वेलफेयर अर्गनाइजेशन(जुल्वो)ले कालेबुङमा बाहिरबाट आउनेहरूको सर्वेक्षण गरेर उनीहरूलाई सङ्गठनको देखरेखभित्र राख्ने घोषणा गरेको छ।
    जुल्वोका अध्यक्ष डीबी प्रधानले जुल्वोले सर्वेक्षण शुरू गरिसकेको बताएका छन्‌। अहिले कालेबुङमा नयॉं अनुहारहरूको भीड बढ्‌न थालेको छ। ती अनुहारहरू कसका हुन्‌, कहॉंका हुन्‌, किन कालेबुङमा देखा परिरहेका छन्‌ भन्ने कुरा जॉंच्ने काम प्रशासनको हो तर प्रशासनले यस्ता झीनामसिना कुरालाई आँखीओझल गरिदिएको छ। बिहान कालेबुङको डम्बर चौकमा यस्तो भीड लाग्छ, कि लाग्छ त्यहॉं बाहिरका मानिसहरुको मेला लागेको छ। झुण्ड-झुण्ड गरेर डम्बरचोकमा कामको खोजीमा उभिएकाहरू प्रायः बाहिरबाट आएका देखिएको छ। अनेपाली अनुहारहरूको भरमार रहने कालेबुङको डम्बरचोकबाट बिहान उनीहरू आ-आफ्नो काम टिप्दै जान्छन्‌। बिहान पॉंचबजीदेखि भेला भएका उनीहरू 9 बजीसम्ममा डम्बर चौकबाट हराउँछन्‌। उनीहरू कहॉंबाट, के गर्न, कहिले देखि आएका हुन्‌, यसको रेकर्ड कसैसित छैन।
     बिहार, कुचबिहार, जलपाईगढी अनि सिलगढीबाट आएको बताउने अनेपालीहरू बङ्गलादेश र अन्य देशहरूबाट पनि आएको पत्तो लागेको छ। जुल्वोको आधिकारिक रेकर्डमा केवल तीनसय अनेपालीहरू कालेबुङमा काम गर्न आएका छन्‌ तर महकुमाभरि नै जुल्वो अनुसार 10 हजारभन्दा धेर अनेपालीहरू छिरेका छन्‌। रोजी रोटीको निम्ति कालेबुङमा किन यत्रा मानिसहरू छिरिरहेका छन्‌, के यसको सोधखोज हुनुपर्दैन र? उनीहरूको संख्यावृद्धिले यस्तो प्रश्न उपार्जन गरेको छ। सिक्किम राज्यमा जति पनि काम गर्न जान्छन्‌ उनीहरूले पञ्चायत कार्यालयमा रिपोर्ट दिनु मात्र होइन फोटो पनि बुझाउनुपर्छ। वारि कालेबुङमा भने ग्वारग्वार्ती बाहिरका मानिसहरूको प्रवेश भइरहेको छ, जसलाई सोधखोज गर्ने प्रशासन नै छैन। कालेबुङमा जो पनि, जसरी पनि आएर बस्न सक्छन्‌, कसैले खोजखबर गर्दैन।
    जानकारहरू अनुसार कालेबुङको यही प्रवृतिको कारण अपराधीहरूले लुक्नै ठाउँ कालेबुङलाई नै बनाउँछ अनि भूमिगत सङ्गठनहरुको चहलपहल पनि कालेबुङमा नै हुन्छ। प्रशासनले गर्न नसकेको काम तर अहिले जुल्वोले थालेको छ। जुल्वोले ठेकेदार अनि घर मालिकहरूलाई अनुरोध गरेको छ कि जोसित जुल्वोले प्रदान गरेको कार्ड छैन उबारे जुल्वोलाई अवगत गराइदिने। यति मात्र होइन घर मालिकहरूले भाडामा यदि कसैलाई पनि राख्छ भने उनीहरूलाई जुल्वोले प्रदान गरेको परिचयपत्र मागिनु अनिवार्य छ। जोसित पनि जुल्वोको परिचयपत्र छ, उबारेको सम्पूर्ण जानकारी जुल्वोले राखेको हुनेछ। जुल्वो अनुसार यति विघ्न बाहिरका मानिसहरूले काम गरिरहेका छन्‌ जसको सर्वेक्षण गर्न पनि साह्रै सम्भव छैन। सङ्गठनका मानिसहरू हरेक ठाउँ जान सक्दैनन्‌। यसकारण ठेकेदार अनि घर मालिकहरूले काममा लगाउन अनि घरभाडा दिन अघि जुल्वोको परिचय पत्र मागेर राखे सबैलाई नियन्त्रित गर्न सकिन्छ। जुल्वोको अध्यक्ष डीबी प्रधानले भने, जुल्वोले जे पनि गरिरहेको छ कालेबुङको हीतको निम्ति गरिरहेको छ।
    हामीले घर मालिकहरूलाई सम्पूर्ण जानकारीबिना भाडामा नराखिदिने अनुरोध पनि यसैकारण गरेका हौं कि भोलि गएर कुनै पनि यस्ता घटनाहरू नघटोस्‌ जो कालेबुङको मर्यादा र सुरक्षासित जोडिएको होस्‌। तिनी अनुसार घरमा काम गर्ने केटीकेटीदेखि लिएर काम गर्न आएका बाहिरका मजदूरहरूको फोटो र परिचयपत्र घर मालिकले राख्न पर्छ। यता जीटीएको सम्झौता हुने वित्तिकै बाहिरका मजदूरहरू ह्वारह्वार्ती छिर्न थालेका छन्‌। काम गर्न सबैले पाउँछन्‌ तर सबैबारे जानकारी राख्न पनि अनिवार्य हुन्छ। ठेकेदारहरूले पनि बाहिरका मजदूरहरूको परिचयपत्र र फोटो राख्न अनिवार्य रहेको जुल्वोले बताएको छ।
     जति पनि बाहिरका मजदूरहरू छन्‌ उनीहरूसित जुल्वोको सदस्यता लिएको परिचयपत्र छैन भने उनीहरूलाई काममा नलगाइदिने पनि जुल्वोको अनुरोध छ। जुल्वोले गरेको पहलले कालेबुङको सुरक्षा र हीतको निम्ति धेरै फाइदाकारी परिणाम ल्याउन सक्ने देखिएको छ भने सुतेको प्रसासनलाई जुल्वोले पानी छेपिरहेको पनि देखिएको छ।

छत्र सुब्बापछि न्यायको पालो अब मदन तामङका
कालेबुङ, 11 सितम्बर।
एक दशकपछि छत्र सुब्बाहरूले न्याय पाए अब पालो मदन तामङको रहेको छ। अहिलेसम्म नै कुनै पनि राजनैतिक हत्याको मामिला सुल्झेको छैन, यद्धपि अखिल भारतीय गोर्खालीगले आशा गर्न छोडेको छैन। 21 मई 2009 को दिन खुल्लम खुल्ला क्लब साइटमा मदन तामङको दिउँसै हत्या भएको थियो। हत्याकाण्डका आरोपीहरूलाई अहिलेसम्म नै पक्राउ गरिएको छैन। गोर्खालीगले मदन तामङको हत्याकाण्डसित गोर्खा जनमुक्ति मोर्चाको नेताहरूलाई जोडेर राखेको छ। यसै कारण मोर्चाका शीर्ष नेताहरू बिमल गुरूङ, रोशन गिरी, डा.हर्कबहादुर छेत्री, आशा गरुङ, विनय तामङ तथा अन्यको नाममा प्राथमिकी समेत दर्ता गरेको छ। आज(सोमबार)कोलकाता उच्च न्यायलयमा मदन तामङ हत्याकाण्डबारे सुनवाई हुने भएको छ जसको निम्ति यस मामिलालाई लिएर लडिरहेका अधिवक्तासित भेटघाट गर्न गोर्खालीग टोली कोलकाता गएका छन्‌। कोलकाताका पत्रकारहरूसित बोल्दै मदन तामङकी श्रीमति भारती तामङले भनिन्‌, मेरो लोग्नेको हत्या जानीबुझी षडयन्त्र गरेर गरिएको हो।
    यो मामिलाको जॉंच प्रक्रियामा राज्य सरकारको भूमिका निराशजनक छ। तिनले जॉंच प्रक्रियामा शीघ्रता ल्याउनुपर्ने बताउँदै अझ भनिन्‌, यदि राज्य अनि केन्द्र सरकारले यस मामिलाका दोषीहरूलाई अघि ल्याउन कार्य प्रक्रियामा शीघ्रता ल्याएन भने हामी सडक आन्दोलन शुरू गर्नेछौं। तिनले मदन तामङको हत्यासित सोझै मोर्चा नेताहरूको नाम जोड्‌दै भनिन्‌, गोर्खा जनमुक्ति मोर्चाका नेताहरू मदन तामङलाई आफ्नो बाटोबाट हटाउन चहान्थे। त्यसकारण मदन तामङको हत्या गरियो। हत्या गरेर नै मदन तामङले विरोध गरेको जीटीए थाप्यो।
भारती तामङले राज्यका मुख्यमन्त्री ममता व्यानर्जीले मोर्चाका नेताहरूलाई बँचाइरहेको सोझै आरोप लगाउँदै अझ भनिन्‌, मदन तामङको हत्याबारेमा विमल गुरूङ, रोशन गिरीहरूको फोन रेकर्ड अहिले ममता व्यनर्जीसित छ। त्यो सीबीआईकोमा पुगे हत्याराहरूलाई खोेजिनिकाल्न सजिलो पर्नेथियो। राज्य र क्षेत्रीय पुलिस प्रशासनले सीबीआईलाई कुनै सहयोग गरेको छैन। उच्चन्यायलयको हस्तक्षेपमा मामिलाको जॉंचको जिम्मा सीबीआईलाई सुम्पिएको छ। सीबीआईले केवल निकोल तामङलाई लिएर मात्र जॉंच गरिरहेको छ जब कि हत्या सम्बन्धमा प्राथमिकीमा नाम भएकाहरूलाई सोधखोज गरिएको छैन। अर्कोतिर सीबीआईले निकोल तामङ नेपालमा रहेको खुलासा गरेको थियो तर खुलासा गरेको धेरै महिना पुग्दा समेत निकोललाई पक्राउ गरिएको छैन।
    नेपाल पुलिसको सहयोगमा खोजी जारी रहेको खबर प्रकाशमा आएको थियो तर यस मामिलाको प्रगतिशील परिणाम अघि आएको छैन। छत्र सुब्बाहरूले जसरी न्याय पाएका छन्‌ उसरी नै मदन तामङले पनि न्याय पाउनुपर्ने मदन तामङ परिवारको दाबी छ। लीगले मदन तामङका हत्याराहरूलाई पक्राउ नगर्नु र जॉंच प्रक्रियामा सुस्तपन आउनुमा राजनैतिक स्वार्थ रहेको कुरा अनुभव गरेको छ। अहिले मदन तामङ हत्याकाण्ड सम्बन्धमा पहाडका दलहरूले मौनता सॉंधेको छ। नयॉं सरकारलाई मदन तामङका हत्याराहरूलाई पक्राउ गर्नुपर्ने सम्बन्धमा कुनै दवाब दिने काम गरेको छैन।
    लीग अनि तामङका परिवारले आफ्नो प्रयासमा नै हत्यारा पक्राउ गरिनुपर्ने सम्बन्धमा सरकार र सीबीआईलाई दवाब दिइरहेको छ। यता क्रामाकपा महासचिव तारामणि राईले मदन तामङको हत्यालाई गणतन्त्रको हत्या बताउँदै शीघ्र नै हत्याराहरूलाई सार्वजनिक गर्ने इच्छाशक्ति प्रशासन अनि सरकारले देखाउनुपर्ने बताएको छ। क्रामाकपाले पनि आफ्नो पक्षबाट यस सम्बन्धमा पहल गर्ने तिनले बताएका छन्‌। पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले भने अनुसार जसरी देशहीतको निम्ति देशको सुरक्षाको विरूद्ध सार्वभौम राष्ट्रको कुरा गर्ने अनि स्टोभ बम पड्‌काउने आरोपीकोरूपमा सन्तोष सुब्बालाई पक्राउ गरियो उसरी नै मदन तामङ हत्याराहरूलाई पनि पक्राउ गर्नुपर्ने बताउँदै भने, देशको सुरक्षाको विरूद्ध काम गर्नेलाई पक्राउ गर्नमा जसरी प्रशासनले सक्रिय भूमिका पालन गर्छ त्यस्तै भूमिका मदन तामङका हत्यारा पक्राउ गर्नमा किन निर्वाह गर्दैन? के राज्य र केन्द्र सरकार पहाडमा अशान्ति चहान्छ? मदन तामङका हत्याराहरूलाई शीघ्र पक्राउ नगरिए पहाडमा अशान्ति शुरू हुनसक्ने समेत तिनले बताएका छन्‌। अर्कोतिर भर्खर कारादण्ड भोगेर घर आएका जीएलओ नेता छत्र सुब्बाले समेत यसपल्ट गोर्खा जनमुक्ति मोर्चासित मदन तामङको हत्याको कारणले नै सरकारले व्ल्याकमेल गरेर जीटीए थमाएको बताएका छन्‌।



जीटीएको विरुद्धमा छत्र सुब्बा
 फेरि आन्दोलन

मनोज वोगटी
कालेबुङ, 11 सितम्बर।
गोर्खाल्याण्ड माग्ने गोर्खा जनमुक्ति मोर्चाले पनि गोरामुमोले दागोपाप थापेजस्तो जीटीए थापेपछि पहाडमा राजनैतिक दाउपेच चर्किएको छ। यस्तैबेला 10 वर्षपछि कारागारमुक्त बनेर छत्र सुब्बा कालेबुङ आएपछि तिनलाई लिएर विभिन्न शिविरमा अनेकौं अनुमानहरू लगाउने काम भइरहेको छ। छत्र सुब्बा आफैले भने राजनीतिबाट सन्यास लिने आशय समेत व्यक्त गरिसकेका छन्‌। छत्र सुब्बाहरूको मुक्ति अघि मौन बस्ने अनि केवल दलीय रोटी सक्ने दलहरू अहिले छत्र सुब्बाको हितैशी बन्न छत्र सुब्बाको घर धाउने क्रम जारी छ। 10 वर्षसम्म जेलमा सढाइएका छत्र सुब्बाहरूलाई मानसिकरूपले पूर्णरूपले कमजोर बनाएपछि मुक्त गरिएको छ। जतिबेला छत्र सुब्बाहरूलाई मुक्त गरियो त्यसबेलासम्म पहाडको राजनीति राज्य र केन्द्रबाट पुर्णरूपले नियन्त्रित बनिसकेको छ। पहाडको राजनीतिलाई नियन्त्रण गर्न राज्य र केन्द्रले डोरी मजबुतसित समातेको अवस्थामा मुक्त बनेका छत्र सुब्बालाई छुट्टैराज्यको आन्दोलनसित जोडेर पहाडमा फेरि अर्को द्वन्द्वको अपेक्षा गरिने काम पनि भइरहेको छ। गोर्खाल्याण्डको आन्दोलन गर्दै राजनैतिक दोहनको शिकार बनेका गोरामुमोले दागोपापसित सम्झौता गरेको छत्र सुब्बालाई मन परेन। गोरमुमो कै गोर्खाल्याण्ड भोलेण्टियर सेल (जीभीसी)लाई गोर्खाल्याण्ड लिबरेशन अर्गनाइजेशन (जीएलओ)मा रुपान्तर गर्दै सम्झौताको विरोध गर्ने छत्र सुब्बालाई (छत्र सुब्बाकै भनाइअनुसार) घिसिङ आक्रमण काण्डको बाहनामा पक्राउ गर्‍यो अनि दागोपाप सञ्चालन गरेर पहाडको राजनीति ठण्डा पार्ने काम राज्य र केन्द्रद्वारा गरियो। घिसिङले दागोपाप थापेदेखि नै जनताको ठूलो समूह सन्तुष्ट थिएनन्‌,जसलाई लिएर छत्र सुब्बाहरूको विद्रोहले हॉंगा फैलाउने मौका पाउने थियो। राजनैतिक षडयन्त्रद्वारा पहाडको आन्दोलन सन्तुलित गरिने चलखेलबीच पहाडमा भइबस्ने राजनैतिक परिवर्तनले जनताको आकांक्षामा आधात गर्ने काम बारम्बार दोहोरिएको छ। अहिले गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा सम्झौता गरेपनि जनताको ठूलो समूह खुशी नरहेको अनुमान लगाइएको छ। यस्तोमा छत्र सुब्बाले मदन तामङको हत्यालाई अघि राखेर सरकारले मोर्चासित व्ल्याकमेलिङ गरेको आशय प्रकट गरिसकेका छन्‌। छुट्टैराज्य कै निम्ति सधैँ अघि बढ्‌ने जनताको आकांक्षामा जुन आघात पुर्‍याइयो यसलाई समातेर फेरि पहाडमा अर्को शक्तिले टाउको उठाउन सक्ने सबैले अनुमान गरिरहेको बेला मुक्तिपछि सबैले पहाडको विकल्प राजनीतिकोरूपमा छत्र सुब्बालाई हेर्न थालेका छन्‌। किन भने छत्र सुब्बा गोर्खाल्याण्ड मुनीको कुनै पनि सम्झौताको बिरोधमा छन्‌। दागोपापलाई जसरी तिनले बिरोध गरे, जीटीएप्रति पनि तिनको त्यस्तै विरोध देखापरेको छ।
    तिनले हिजो पनि सरकारले पहाडको मुद्दासित व्ल्याकमेल गर्ने प्रवृतिको खुलासा गर्दै भनेका थिए, गोरामुमोकालमा पनि व्ल्याकमेल गरियो अनि गोजमुमोकालमा पनि। यस्तोमा जनताको आकांक्षा जस्ताको त्यस्तै रहेको छ। छत्र सुब्बाले मोर्चाको जीटीएको ठाडो विरोध गरे तर अर्कोतिर राजनीतिबाट नै सन्यास लिने कुरा गरेर छत्र सुब्बामाथि गरिएको आशा केवल आशा नै रहने देखिएको छ तरै पनि छत्र सुब्बाले जनतालाई निर्णय गर्ने ठाउँ छोडेकोले जनताले चाहेको खण्डमा गोर्खाल्याण्डको निम्ति तिनी अघि आउने स्पष्ट संकेत दिएका छन्‌। तिनको संकेत र जीटीएप्रतिको जनताको असन्तुष्टिबीच कुनै समिकरण भएमा फेरि पहाडमा छुट्टैराज्यको आन्दोलन हुने सम्भावना व्यापक देखिएको छ। तर त्यो परिवर्तनीय राजनैतिक चहलपहल पनि राज्य र केन्द्रको नियन्त्रण र व्ल्याकमेलिङबाट नै नियनत्रित हुने हो कि भन्ने अनुमान पनि शुरू भएको छ। एकातिर दस वर्षपछि पूर्णरूपले मानसिक पीडा दिएर पहाडको सम्पूर्ण चलखेलबाट बेखबर राखेर छोडिएको छत्र सुब्बालाई अहिलेको गोर्खा जनमुक्ति मोर्चाकोे हैकमलाई नियन्त्रण गर्न छत्र सुब्बालाई सरकारले खुला ठाउँ प्रदान गरेको कुटनीतिज्ञहरूको अनुमान छ भने अर्कोतिर छत्र सुब्बालाई पनि पूर्णरूपले नियन्त्रणमा राख्ने चलखेल पनि भइसकेको अनुमान गरिएको छ। छत्र सुब्बालाई नियन्त्रण गर्न तिनको छोरालाई प्रयोग गर्न सक्ने अनुमान कुटनीतिज्ञहरूको छ। तिनको छोरा सन्तोष सुब्बालाई कारागारमा थुनेर छत्र सुब्बाको राजनैतिक इच्छाशक्ति कमजोर बनाइएको मात्र होइन दार्जीलिङ जिल्लाको राजनीतिलाई नै नियन्त्रणमा राखिएको अनुमान पर्यवेक्षकहरूको छ।
     शक्ति सन्तुलनको सम्पूर्ण प्रक्रिया  पुरा गरिसकिएको अवस्थामा छत्र सुब्बाहरूले गर्न सक्ने आन्दोलनको निचोड मुद्दाको हीतमा पुर्‍याउन कस्ता खाले रणनीतिहरूको निर्माण हुने हो, यही चिन्तनीय कुरा त छँदैछ, त्यो भन्दा पनि महत्वपूर्ण कुरा छत्र सुब्बाहरूले जीटीएको विरोध र छुट्टैराज्यको आन्दोलन गर्ने परिस्थिति तयार नै पार्ने हो होइन भन्ने कुरमाा नै सन्देहमा छ। क्रामाकपाले त छत्र सुब्बाले चाहेको खण्डमा छुट्टैराज्यको सावलमा पूर्णरूपले समर्थन गर्ने मात्र होइन छत्र सुब्बाहरूसित सहकार्य गर्ने समेतको सहमति देखाइसकेको छ। यता गोर्खा जनमुक्ति मोर्चाले छत्र सुब्बालाई खुबै ध्यानमा राखेको छ। किन भने गोर्खा जनमुक्ति मोर्चाभित्र खतराको घण्टी बज्छ भने छत्र सुब्बाहरूबाट नै बज्छ किन भने छत्र सुब्बाले कालेबुङ आइपुग्ने बित्ति कै मोर्चाको रवैया र जीटीएको खुलेर विरोध गरेका छन्‌।


सीमाङ्‌कनको रिपोर्ट पुग्न अघि नै जीटीएको चुनाउ हुने कुरा
डा.छेत्रीको व्यक्तिगत विचार रहेको दाबी
कालेबुङ, 11 सितम्बर।
कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले जीटीएको बील पारित गरेको भोलिपल्ट नै तराई र डुवर्सको सीमानाको रिपोर्ट हाइपावर कमिटीले सरकारलाई बुझाउन अघि नै जीटीएको चुनाउ हुने कुरा गरेर सबैलाई अन्योलमा पारेका थिए। आज एक कार्यक्रमबीच बोल्दै तराईका स्टडी फोरमका सदस्य पी.अर्जुनले यसै सन्दर्भमा भने, जनताले ध्यानमा राख्नुपर्ने कुरा गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष विमल गुरूङको घोेषणा हो, किन भने तिनले स्पष्ट नै पारिसकेका छन्‌ कि तराई र डुवर्सको अन्तरभुक्ति निश्चित भइसकेपछि मात्र अथवा कुन क्षेत्रलाई लिएर चुनाउ हुनुपर्ने त्यो पक्कापक्की भइसकेपछि मात्र चुनाउ हुनेछ। तिनले डा.हर्कबहादुर छेत्रीलाई लक्ष्य गर्दै अझ भने, जसले पनि सीमाङ्‌कनको रिपोर्ट सरकारमा पुग्न अघि नै चुनाउ हुने टिप्पणी गरे त्यो उनको व्यक्तिगत विचार हो। किन भने सम्झौतामा सीमाङ्‌कनको कुरा निश्चित भइसकेपछि मात्र चुनाउ हुने कुरा तय भएको छ। तिनले जीटीए थाप्नु पर्दा आफूहरू विचलित नरहेको तर दुखित रहेको बताउँदै भने, जीटीए थाप्नु राजनैतिक बाध्यता थियो। तर मोर्चाले गोर्खाहरूको दीर्घकालीन दाबीको ऐतिहासिक पृष्टभूमिलाई कदर गरेर नै आन्दोलन गरेको थियो तर राजनैतिक प्रक्रिया र चलखेल अनि कुटनीतिलाई ध्यानमा राखेर नै मोर्चा अघि बढेको हो। तिनले अझ भने, जीटीए  थाप्नु मोर्चाको जानीबुझी गरिएको रणकौशल हो किन भने मोर्चालाई थाहा थियो कि विरोधीहरूले गोर्खाल्याण्डसम्म पुग्नमा अनेकौं बाधा उत्पन्न गर्नेछ। विरोधीहरूले केन्द्रलाई गोर्खाल्याण्ड हुन नदिन अनेकौं कुरा पुर्‍याइसकेको थियो। तिनले विरोधीहरूले देशको सुरक्षाको सवाललाई अघि राखेर नै गोर्खाल्याण्ड हुनु नहुने सम्बन्धमा केन्द्रलाई शिक्षत गराइसकेको फलस्वरूप नै मोर्चाले देश, काल र परिस्थितिलाई ध्यानमा राखेर जीटीए ग्रहण गरेको जनाए। तिनले जीटीए मुक्त गरेको बताउँदै भने, गोर्खाल्याण्डको आन्दोललाई ड्रप गरिएको छैन। पी. चिदम्बरम्ले समेत आन्दोलन अघि बढाएर लैजान सकिने बताएका छन्‌। मोर्चालाई जति पनि आरोपहरू लगाइरहेको छ त्यो बेबुुनियाद र आधारहीन छ। तिनले आन्दोलन कहॉं रोकिन्छ अनि यसबीच विरोधीहरूले मोर्चालाई विथोल्न कस्ता कस्ता रणकौशल अप्नाउँछ भन्ने कुरा थाहा भएकोले नै जीटीए थापेको पनि स्पष्ट पारे। तिनले स्पष्ट पारे, बङ्गाल र केन्द्रको कुनै पनि दल हाम्रो पक्षमा छैन। भाजपा,तृणमूल कंग्रेस, कंग्रेस अनि वामफ्रण्ट कोही पनि छुट्टैराज्यको पक्षमा छैन। किन भने छुट्टैराज्य दिनु नदिनुमा ती दलहरूको राजनैतिक स्वार्थ लुकेको हुन्छ। तिनले मोर्चालाई राष्ट्रविरोधीको रूपमा प्रचार गर्नेहरूले केन्द्रलाई शिक्षित गरेकोले जीटीए थाप्नु परेको पनि बताए। तिनले भने, सबै परिस्थिति बुझेर आन्दोलनलाई 'अर्डर'मा ल्याउन नै जीटीए थापिएको हो। आन्दोलनलाई वैज्ञानिकरूपले निर्देशित गर्नु अनि अनुशासनमा ल्याउनु नै जीटीए थापिएको हो। जीटीएपछि कि त युटी कि त गोर्खाल्याण्ड मोर्चाको लक्ष्य हो।


कालेबुङका 18 खेलाडी कोलकाता जाने
कालेबुङ,11 सितम्बर।
कोलकत्तामा 18 सितम्बरको दिन हुनलागेको 17औं पश्चिम बङ्गाल कराते डु च्याम्पियनसिपमा भाग लिन कालेबुङबाट पनि 18 जना कराते खेलाडीहरूले भाग लिनेछन्‌। उक्त खेलाडीहरू कालेबुङबाट 16 सितम्बरको दिन कोलकाता प्रस्थान गर्नेछन्‌। भर्खरै गठन भएको दार्जीलिङ गोर्खा कराते डु एसोसिएसनका सचिव सुसन थापा स्वयं प्रशिक्षकको रूपमा ती कराते खेलाडीहरूसँग कोलकाता जानेछन्‌। हाल ती विद्यार्थीहरूले पहिलोपल्ट राज्य स्तरीय खेल खेल्न कठिन परिश्रम गरिरहेका छन्‌। प्रशिक्षक सुसन थापाले ती विद्यार्थीहरूले राज्यस्तरको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्‌।
    सुसन स्वयं एक असल कराते खेलाडी हुन भने तिनीबाट प्रशिक्षण पाएका खेलाडीहरूले पनि अहिलेसम्म राज्य एवं राष्ट्रिय स्तरको खेलहरूबाट थुप्रे पदकहरू हत्याइसकेका छन्‌।
     अहिलेसम्म विद्यार्थीको खर्ज आफै अनि विद्यार्थीहरू स्वयंले बेहोरेको बताउने सुसनने एसोसिएसनको माध्यमबाट सम्बन्धित विभागबाट आर्थिक सहयोग पाए आफूले सिकाएको खेलाडीहरू पनि राज्य, राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तसम्म पुग्नसक्ने बताए।


1968 मा बन्द हाट शुरू
कालेबुङ, 11 सितम्बर।
हाटैको नामबाट चिनिने बुधबारे बस्तीको बुधबारे हाट अब आइतबारे हाट भएको छ। गोर्खा जनमुक्ति मोर्चाको प्रयासमा 1968 देखि बन्द बुधबारे हाट आजदेखि शुरू भयो। 19 68 मा यो क्षेत्रमा भीषण पैह्रो गएको थियो। पैह्रोकै कारणले बुधबारेको यो हाटलाई बन्द राखिएको थियो। बन्द भएको ठीक 43 वर्षपछि यो हाट आजदेखि प्रत्येक आइतबार लाग्ने भएको छ। कागे ग्राम पञ्चायतको मारिया बस्तीमा यो हाट प्रत्येक बुधबार लाग्ने गर्थ्यो। हाटमा स्थानीय कृषकहरूले क्षेत्रमा उब्जनी गरेका उत्पादन बिक्रि गर्न राख्थे भने बाहिरका पसलेहरू पनि बजार पुग्थे। उप्रान्त हाट आइतबार लाग्ने भएको छ। आज यो हाटलाई उद्घाटन गर्न मोर्चा कालेबुङ शाखाका प्रतिनिधिहरू बुधबारे पुगेका थिए। गोजमुमो कागे जोनल समितिको सक्रियतामा आजदेखि शुरू भएको हाटलाई मुख्य अथिति कालेबुङ मोर्चाका अध्यक्ष सरिता राईले रिबन काटेर उद्घाटन गरिन्‌। उद्घाटन कार्यक्रममा सचिव शुभ प्रधान, कुमार चामलिङ,पेदोङ जोनलका सचिव दावा लेप्चा, लाभा जोनका सचिव डीपी शर्मा, तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। विलियम मुखियाले कार्यक्रममा स्वागत सम्बोधन राखेका थिए भने फेड्रिक राईले हाटको ऐतिहासिकतामाथि प्रकाश पारेका थिए। आजदेखि हाटमा 54 वटा पसल राखिएको छ, जहॉं अब स्थानीय पसले अनि कृषकहरूले आफ्नो उत्पादनलाई बिक्रिको निम्ति राख्न सकनेछन्‌।


जकसको तेस्रो वार्षिक अधिवेशन सम्पन्न
कालेबुङ,11 सितम्बर।
स्थानीय रामकृष्ण रङ्गमञ्चमा आज जनमुक्ति कर्मचारी सङ्गठनको तेस्रो वार्षिक अधिवेशन सम्पन्न भयो। सङ्गठनको झण्डोत्तलन गरी शुरू भएको कार्यक्रममा मोर्चा स्टडी फोरमका वरिष्ट सदस्य पी. अर्जून मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। अधिवेशनमा विशिष्ट अतिथिहरूमा मोर्चा केन्द्रिय उपाध्यक्ष कल्याण देवान, केन्द्रिय सदस्य विजय सुन्दास, महकुमा समितिका युवा मोर्चा सचिव निमा शेर्पा उपस्थित थिए। जकस केन्द्रिय कार्याकारी अध्यक्ष रतन माले, दार्जीलिङ महकुमा सभापति कुलदीप राई, लगायत जिल्लाभरिबाट जकस प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनको पूर्वार्धको कार्यक्रममा मुख्य अतिथिको वाहुलीबाट महात्म गान्धीको तस्वीरअघि दीप प्रज्ज्वलन गरी कार्यक्रम आरम्भ भएको थियो। गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुनेहरूप्रति कार्यक्रममा मौन धारण पनि गरियो। सोही कार्यक्रमबीच सिप्सु गोलीकाण्डका शहीदहरूप्रति सर्मपित गीतको पनि लोकार्पण गरियो।
    जकस महकुमा समितिका साङ्गठनिक सचिव अनुप लामाले स्वागत सम्बोधन राखेको कार्यक्रममा महकुमा अस्पतालका कर्मचारीहरूद्वारा मारूनी नृत्य पनि प्रस्तुत गरिएको थियो। पुर्वार्द्धको कायक्रममा जकस सचिव ललित कुमार रोकाको सचिवको प्रतिवेदन प्रस्तुत गरेपछि महकुमा अध्यक्ष खड्कविक्रम सुब्बाले गोर्खाल्याण्ड आदोलनमा कर्मचारीहरूको भूमिका अनि आफूहरूको हक हीत र अधिकार सम्बन्धमा टिप्पणी राखे।
    सोही कार्यक्रमबीच जकस महकुमा समितिको पुरानो समिति विघटन गरी नयॉं समिति गठन गरिएपनि नयॉं समितिमा धेरै फेरबदल भने गरिएको छैन। पूर्वाद्धको कार्यक्रम जकस महकुमा समितिका सभापति खड्क विक्रम सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो। यसरी नै उत्तराद्धको कार्यक्रममा आईसीडीएस कालेबुङ खण्ड 1 शाखा अनि कालेबुङ नगरपालिका स्वस्थ्य कर्मचारीहरूले सांस्कृतिक नृत्य अनि गीत प्रस्तुुत गरेका थए। जकस केन्द्रिय समितिका कार्यकारी अध्यक्ष रतन मालेको सभापित्वमा पूर्वार्द्धको कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन प्रचार प्रसार सचिव हेमकुमार सुब्बाले गरेका थिए।


No comments:

Post a Comment