To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, May 11, 2011

निर्वाचित भएकै भोलिपल्ट पहाड़का विधायकहरूले राजीनामा दिनुपर्छ-सोलिडारिटी फोरम

निर्वाचित भएकै भोलिपल्ट पहाड़का विधायकहरूले राजीनामा दिनुपर्छ-सोलिडारिटी फोरम
मनोज बोगटी, कालिमन्युज, 11 मई, कालेबुङ। यदि गोर्खाल्याण्ड माग्ने नेताहरू सॉंच्चै मुद्दाप्रति इमान्दार छन्‌ भने निर्वाचित विधायकहरूले विधानसभामा जानअघि नै सामुहिक राजीनामा दिनुपर्छ। विधायकहरूको राजीनामा नै गोर्खाल्याण्डको निम्ति ठूलो उपलब्धी हुनेछ। पश्चिम बङ्गाल विधानसभाले गोर्खाल्याण्डको प्रस्ताव पारित गर्दैन। उक्त कुरा आज पहिलोचोटि कालेबुङ आएर एक पत्रकार सम्मेलनको आयोजना गर्दै सिप्सु हत्याकाण्डको लगत्तै पछि 25 फरवरीको दिन गोर्खाल्याण्डको समर्थनमा गठन भएको सिक्किमको एक अराजनैतिक संस्था सिक्किम सोलिडारिटी फोरम फर गोर्खाल्याण्डका मूल संयोजक भरत बस्नेतले भनेका हुन्‌। 
पश्चिम बङ्गाल विधानसभाबाट गोर्खाल्याण्डको निम्ति केही नहुने बताउँदै तिनले भने, विधानसभामा सदस्य हुनु नै थियो भने गोर्खाल्याण्डको आवाज उठाउनु हुने थिएन। पहिला गोरामुमोले पनि विधायक बनाएर पठायो। त्यसभन्दा अघि पनि पठाएकै हो। तर उपलब्धी भने केही भएन। तिनले, जनताले जति दिनपर्ने समर्थन दिइसकेको, गर्नपर्ने कार्य गरिसकेको भएपनि पहाड़का नेताहरूबाट नै जनताले फेल खाएको बताए। सिप्सु हत्याकाण्डको प्रसंग झिक्दै तिनले बङ्गालले पहाड़को जनतालाई अन्याय, अत्याचार गरिरहेको भएपनि पहाड़मा केवल भोटको राजनीति भइरहेको बताए। यहॉंका नेताहरूले केवल आफ्नो स्वार्थ मात्र हेर्ने गरेको आरोप लगाउँदै तिनले भने, यसपल्टको पश्चिम बङ्गाल चुनाव दार्जीलिङ भूभागमा पनि भयो। सबै दलहरू छुट्टा-छुट्टै लड़े। यहॉंको जनताले भन्दा धेर हामी बाहिर बस्ने मानिसहरूले महसुस गर्‍यौं कि यहॉंका नेताहरूमा सत्ता सुसुप्त अनि व्यक्तिगत स्वार्थ धेर रहेको छ। 
दार्जीलिङ पहाड़का नेताहरू इमान्दार छैनन्‌। जसको ज्वलन्त उदाहरण सुवास घिसिङ हुन्‌। जसले गोर्खाल्याण्डको नाममा आन्दोलन गरेर 12 सय शहीद बनाए तीनै सुवास घिसिङले अहिले आएर गोर्खाल्याण्ड नै मागेको थिइनँ भन्नै गैर-जिम्मेवारीपूर्ण वक्तव्य दिइरहेका छन्‌। तिनले सिक्किम विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरिनु सराहनीय अनि स्वागतयोग्य कार्य रहेको भएपनि पहाड़का कतिपय दलहरूले यस्तो ठूलो कार्य समेतलाई केवल चुरनको नोट भनेर दिएको वक्तव्य दुर्भाग्यपूर्ण रहेको बताए। दार्जीलिङ पहाड़को निम्ति छुट्टै राज्यको समर्थन अनि आन्दोलन अवधी छिमेकी राज्य सिक्किमले भोग्न परिरहेको सम्स्या यी दुवैको निम्ति नै फोरम गठन गरिएको पनि तिनले जनाए। फोरमको अन्य कुनै स्वार्थ नरहेको बताउँदै केवल मानवता, जातीयता अनि राष्ट्रियताको भावना लिएर जनतालाई अवगत गराउन नै आज कालेबुङ आएको जनाए। आज भएको पत्रकार सम्मेलनमा फोरमका सचिव रूद्र खतिवड़ा, प्रचार-प्रसार सचिव विकास भूजेल, विनोद त्रिखत्री लगायात अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। 

No comments:

Post a Comment