चर्किएको भवन भत्किएन चर्कियो झमेला
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 20 अक्टोबर। सॉंढे दस माइलमा रहेको शिवनारायण प्रधानले उठाएको सात तले भवनले कालेबुङ नगरमा समस्या खडा गरेको छ। त्यही भवनको कारण आज कालेबुङका नागरिकहरूले एक घण्टा चक्काजामको समस्या भोग्न पर्यो किन भने शिवनारायण प्रधानको भवन नगरपालिकाले नोटिश दिँदा पनि नभत्काएपछि गाउँलेहरूले भवन भत्काउनको निम्ति आज चक्काजाम गर्न पर्यो। भुइँचालोले शिवनारायण प्रधानको सात तले भवनलाई चर्काएको थियो। भवन चर्किएपछि नगरपालिकाले अवैद्धरूपले उठाएको चार तला भत्काउनु पर्ने नोटिश दुइपल्ट प्रधानलाई पठाएको थियो। नगरपालिकाले अग्लो उचाईंको कारण घर भत्काउने निर्देशलाई त प्रधानले पत्तो दिएनन् नै गाउँलेहरूको विरोधलाई पनि टेरेनन्।
प्रधानले भवन हटाउने कुनै सुरसार नै नगरेपछि भवनको कारण असुरक्षित रहेका गाउँलेहरूले आज दुइ घण्टा भनेर गरेको चक्काजाम एक घण्टा पनि नपुग्दै कालेबुङ पुलिस प्रशासनको हस्ताक्षेपमा रोकियो। गाउँलेहरूले सम्पूर्ण प्रशासनिक पक्ष, विभाग, वरिष्ट नागरिक अनि मीडियासमेतलाई हिजो नै भवन नतोडे चक्काजाम गर्ने सूचना जारी गरेका थिए। पुलिस प्रशासनले चक्काजाममाथि हस्तक्षेप गर्दै सम्बन्धित निकायसित शीघ्र नै कुरा गरेर समस्याको समाधान गर्ने आश्वासन दिएपछि गाउँलेहरूले पथावरोधलाई फिर्ता लिए। गाउँलेपक्षमा डा. सामुएल राईले भवन ढल्किएको अनि नगरपालिकाले तीन तलाको निम्ति मात्र अनुमति दिएको तर शिवनारायण प्रधानले सात तले बनाएको बताउँदै घर जति नै अग्लो बनाउन् उनीहरूलाई कुनै फरक नपर्ने तर भवन चर्किएकोले भवन वरिपरि असुरक्षित बनेपछि भवन हटाउनको निम्ति आन्दोलन गरिएको बताए।
राईले भने, भवन ढलेमा वरिपरिका आठदेखि दसवटा घरलाई क्षति पुग्ने छ। यहीं एउटा स्कूल पनि छ। विद्यार्थीहरूको ओहोरदोहोर यहीँबाट हुन्छ। भवन ढल्किएको छ। यो ढलेमा को जिम्मेवार हुन्छ? यसकारण नगरपालिकाले यो घर तोड्नुपर्ने हाम्रो माग छ। यता शिवनारायण प्रधानले घर सुरक्षित रहेको अनि इञ्जिनियरलाई जँचाएको बताउँदैे ठीकै रहेको घर भत्काउन अनिवार्य नरहेको बताएका छन्।
यता गाउँलेहरूले भने घर सुरक्षित छ भने घरका मालिकहरू भवनमा बस्न पर्ने उल्टै बताएका छन्। उनीहरू अनुसार घर सुरक्षित नरहेकोले नै भाडामा रहेका मानिसहरू भवनबाट निस्किसकेका छन्।
यता यो काण्डमा नगरपालिकालाई निक्कै असाहय देखिएको छ। जोसित नियम र ऐन छ उ भने अहिलेसम्म मौन छ। किन भने नगरपालिकाले यो भवन तोड्दा अरु पनि यस्तै अग्ला भवनहरूलाई छुट दिन्छ कि दिँदैन भन्ने ठूलो सवाल नगरपालिका अघि आएको छ।
पिउने पानी देउ-भन्दै सडकमा पोखिए जनता
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 20 अक्टोबर। कस्तो वाध्यता कालेबुङवासीको, पिउने पानीको लागि पनि जुलूस निकाल्नुपर्ने। 21 औं शताब्दीमा पनि पानीको निम्ति आन्दोलन गर्नुपर्ने। यो विडम्बना नभएर के हो? पानीको लागि विभागलाई बिन्तिभाव गर्दा नभएर सडकमा नै ओर्लनपर्ने। हो, यस्तै भयो कालेबुङमा।
पिउने पानीको निम्ति नगरमा जुलूस नै निकाल्नुपर्यो, महकुमा अधिकारी कार्यलय अधि घरणा नै दिनपर्यो। देश खाएर शेष भएका कालेबुङका वरिष्ट नागरिकहरूको जमात गोर्खा दुःख निवारक सम्मेलन अनि कालेबुङ संरक्षण समितिको संयुक्त आयोजनामा आज निकालिएको जुलूसमा कालेबुङका भुक्तभोगी नागरिक अनि विद्यार्थीहरूले पनि सहभागिता दिए। कालेबुङमा पानी नआउनुको कारण पैह्रो मात्र नभएर विभागीय हेचेक्राइँ पनि प्रमुख रहेको कुरो मुहानमा नै पुगेर आएका वरिष्ठ नागरिकहरूले पानीको निम्ति विविध पहल गर्न थालेका हुन्।
उनीहरूको भनाइअनुसार मुहानमा पानीको अभाव छैन। जता ततै पाइपहरू फुटेको छ। पाइपमाभन्दा धेर पानी बाहिर बग्छ। पाइपहरू सही ढङ्गमा व्यवस्थित गर्नसके कालेबुङमा पानीको अलिकति पनि अभाव हुँदैन। तर विभागीय लापारवाहीले सिमा नाधेपछि नै आज वरिष्ट नागरिकहरू सडकमा ओर्लन वाध्य बने। जुलूसमा वरिष्ट नागरिकहरू मात्र नरहेर विभिन्न सङ्ग-संस्थाका प्रतिनिधिहरू,आम नागरिक लगायत कुमुदिनी विद्याश्रमका विद्यार्थीहरू पनि हो मा हैसे मिलाउन सडकमा आोर्लिए।
जुलूस मौन रहेपनि पिउने पानीको मागमा सहभागी धेरैले हात-हातमा प्लाकार्डहरू बोकेका थिए। गोर्खा दुःख निवारक सम्मेलन भवनबाट 11 बजी निस्केको जुलूसले नगर परिक्रमा गरेर महकुमा कार्यलयअघि धर्ना प्रदर्शन पनि गरे। गोर्खा दुःख निवारक सम्मेलन अनि संरक्षण समितिका पदाधिकारीहरू उदय कुमाई, आरएल त्रिखत्री, सोनाम टी. भोटिया, महेन्द्र गुरुङ आदिको टोलीले पाइपहरू चाडै व्यवस्थित गरिनुपर्ने, दैनिक एक घण्टा पानी वितरण गर्नुपर्ने, पानीको स्थायी समाधान हुनुपर्ने आदि मागहरू लिएर महकुमा अधिकारीलाई एक ज्ञापन पनि चडाए। महकुमा अधिकारी कार्यलयअधि आएर धर्ना परिणत भएको जुलूसलाई सम्बोधन गर्दै गोदुनिसका सचिव आरएल त्रिखत्रीले पानीको समस्या कालेबुङवासी सबैको निम्ति भएको भएपनि धैरैले जुलूसमा सहभागिता नजनाएकोमा गुनासो पोखे। कालेबुङ संरक्षण समितिका सचिव सोनाम टी. भोटियाले यो जुलूस पानीको आन्दोलनको प्रथम चरण रहेको जनाउँदै यदि प्रशासनले कानमा तेल हालेर बसे आन्दोलन अझ चर्किएर जाने बताए।
निकोल कता?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 20 अक्टोबर। राजनैतिक हत्या र छुट्टैराज्यको मुद्दा अहिले सम्पूरक नै बनेको छ। गोर्खालीग नेता मदन तामङका हत्याराहरू अहिलेसम्म पक्रा नपर्नु बङ्गालको गणतन्त्रको सबैभन्दा ठूलो नमूना रहेको गोर्खालीगको दाबी छ। यता पहाडमा गणतन्त्रको स्थापनाको निम्ति नै आन्दोलनलाई छोडेर विकासको प्रक्रिया ल्याइएको केन्द्र राज्य र मोर्चा समेतको दाबी पनि छ। पहाडमा गणतन्त्र स्थापना त भयो तर यसको कुनै पनि नमूना राज्य सरकारसित छैन। छुट्टै राज्यको आन्दोलन नहुनुलाई राज्य सरकार र मन्त्रीहरूले शान्ति बताइरहेको छ भने त्यसलाई मोर्चाले पनि मान्यता दिइरहेको छ। सही अर्थमा गणतन्त्रको स्थापना त्यसबेला हुन्छ जब राजनैतिक हत्याका दोषीहरूलाई राज्य सरकारले पक्राउ गरेर उनीहरूलाई दण्ड दिन्छ।
आफ्नो नेता गुमाएका दल गोर्खालीगले मदन तामङको हत्याको मुद्दालाई अन्त गर्ने चाबी राज्य सरकारसित रहेको दाबी गरिरहेको छ। मदन तामङकी श्रीमती भारती तामङले सोही राज्य सरकारलाई हत्याराहरूलाई पक्राउ गर्ने अपील गरेकी भए पनि तिनको अपीललाई राज्य सरकारले पत्तो नदिएको आरोप छ। तामाङले भनेकी थिइन्, मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्नको निम्ति धेरै पत्र दिँदा पनि भेट्न मानिनन्। किन भने मुख्यमन्त्रीसित नै मदन तामाङ हत्याकाण्मा संलग्नहरूको फोन ट्यापिङको डिजिटल फाइल छ। यता लीग नेता प्रताप खातीको भनाई छ, मुख्यमन्त्रीसित त्यो डिजिटल फाइल भएकैले उनी लीग प्रतिनिधिहरूसित भेट्न चाहिरहेकी छैनन्।
लीग अनुसार कित मुख्यमन्त्री मदन तामाङकी हत्याराहरूलाई बँचाएर हत्याराहरूसित गोर्खाल्याण्ड मुद्दासित सम्झौता गराउने पक्षमा छिन अनि त्यसै गरिरहेकी छ, कि त ममता व्यानर्जीले पहाडमा यसैको कारण अशान्ति होस् भन्ने चहान्छिन्। प्रताप खातीले त सोझै भनेका छन्, हत्याराहरू जीटीएमा सम्झौता गर्ने गोर्खा जनमुक्ति मोर्चाका नेताहरू हुन्। उनीहरूको विरूद्ध प्राथमिकी दर्ता छ। हत्याराहरूसित राज्यका मुख्यमन्त्रीले कुराकानी गर्नु भनेको हत्या र हिंसा बङ्गालको गणतन्त्र हो भनेर प्रमाणित गर्नु हो। लीगले ममता व्यानर्जीलाई अपील गर्दै डीजीटल फाइल सीबीआईको हात पारिदिने अपील गरेको छ। लीगलाई विश्वास छ कि यसो गरेमा सीबीआईले हत्याराहरूलाई पक्राउ गर्न सक्छ। लीगले भारतको कानून व्यवस्थामा विश्वास गर्दै गरेको यो अपीललाई मुख्यमन्त्रीले कतिको गम्भीर लिने हो, त्यो स्पष्ट छैन। यता नयॉं सरकार बनेदेखि उता मदन तामङको हत्यासित संलग्न रहेको मानिएको गोर्खा जनमुक्ति मोर्चाका नेता निकोल तामङको अत्तोपत्तो छैन।
सीबीआईले निकोल तामङ नेपालमा रहेको मात्र होइन नेपालबाट नै फोनमा परिवारसित कुराकानी भइरहेको समेत बताएको थियो। सीबीआईले निकोलको पोल खोलेपछि निकोलको परिवारले सीबीआईलाई सफा झुट बोलेको आरोप लगाएको थियो। त्यसबेला मीडियाले सीबीआई सॉंचो कि परिवार सॉंचो हो, यसको प्रमाण सीबीआईले निकोललाई नेपालबाट पक्राउ गरेपछि मात्र स्पष्ट हुने निचोड निकालेको थियो। तर अहिलेसम्म न त निकोल नेपालमा रहेको नै सीबीआईले पुष्टि गर्न सकेको छ न त निकोललाई पक्राउ नै गर्न सकेको छ।
आखिर कहॉं छन् त निकोल, पहाडको राजनीतिमा सबैभन्दा ठूलो रहस्य नै निकोल बनेको छ। वाम सरकारको बेला पिन्टेल भिलेजबाट सीआईडीको हातैबाट भागेको भनिएको निकोलको अहिलेसम्म सीबीआईसमेतले पत्तो लाउन नसक्नुमा पनि राजनीति नै घुसेको हुनसक्ने शंका पनि लीगले गरेको छापामा आइसकेको छ। पहाडको हुने राजनैतिक हत्याको सवालमा बङ्गालमा जुनै सरकार आए पनि कानै चिरेको हुने ममता व्यानर्जीको सरकारले पुष्टि गरेको अहिले पहाडका मानिसहरूले अनुभव गरिरहेका छन्।
ममताको ममता कि मुद्दा दबाउने काइदा? तेस्रो मोर्चाबाट हुने हो कि फाइदा
मनोज बोगटी, कालिमन्युज। सबैले एकैस्वरमा भन्दैछन् कि ममताको ममताभित्र मुद्दा दबाउने काइदा लुकेको छ। मुख्यमन्त्री ममता व्यानर्जीको त्यो ममता जो केवल विकासको निम्ति हो मुद्दाको निम्ति होइन। विकासबाट हटेर हेइन विकासमा रहेर पनि छुट्टैराज्यको आन्दोलन मोर्चाले गर्यो भने ममताको ममता त्यही रहनेछ त?किन भने तिनले विकासको निम्ति हो भने सबै कुरा दिन सक्छु तर बङ्गाल विभाजनको कुरा भने हुन सक्दैन-भनेर दार्जीलिङबाट नै घोषणा गरिसकेकी छन्। तिनको यो घोषणालाई समर्थन गर्दै मोर्चा अध्यक्ष विमल गुरूङ अनि तिनका समर्थकहरूले थप्पडी मारिसकेका छन्।
जीटीएको सम्झौताको दिन पनि यही घटना घटेको थियो। अहिलेसम्म पनि मुख्यमन्त्री ममता व्यानर्जीले बङ्गाल विभाजन हुँदैन भनेको मोर्चा बाहेक अरु कसैलाई मन परेको छैन। छुट्टैराज्य प्रस्तावित क्षेत्रको ऐतिहासिक तथ्यहरूलाई ममताको बयानको विरोधको रुपमा उनीहरूले खडा गरेका छन्। बङ्गालको हुँदै नभएको भूभागलाई देखाएर विभाजन हुँदैन भन्दा पनि गोर्खा जनमुक्ति मोर्चाको विरोध नहुनुलाई पनि विपक्षले निक्कै गम्भीररूपमा नै लिएको देखिएको छ। किन भने जुन भूभाग बङ्गालको होइन त्यहॉंकाःतराई र डुवर्सका) भूभागहरू गोर्खाबाहुल मात्र भनेर छुट्याउनुलाई पनि विपक्षमा रहेका दलहरूले उचित मानेको छैन। बजेटसत्रमा दार्जीलिङका सांसद जसवन्त सिंहले दार्जीलिङमा भइरहेको आन्दोलनको कारण पनि विकासलाई देखाएका थिए। तिनको गोर्खाल्याण्ड आन्दोलनको कारण विकासलाई देखाउनुलाई पनि गलत प्रचार गरेर सांसदले गोर्खाल्याण्डको आवाज उठायो-मा जोडेको पनि उनीहरूको आरोप छ।
वाम सरकारलाई गोर्खा जनमुक्ति मोर्चाले छुट्टैराज्यबाहेक कुनै पनि कुरामा सम्झौता हुन नसक्ने बताएपछि कुरा मिलेको थिएन। वाम सरकारले त्यसबेला मोर्चालाई विकासको निम्ति हो भने पहाडमा स्वायत्ता शासन स्थापना गर्नेसम्मकोे अफर गरेको थियो। त्यसलाई मोर्चाले मानेन। यता तृणमूल कंग्रेस सरकारमा आएपछि मोर्चाले स्वायत्त शासन होइन, बङ्गाल सरकारकै हस्तक्षेपमा नै सञ्चालित विकास एजेन्सीमा कुरा ठामठिम पारेको पनि विपक्षको आरोप छ।
गोर्खाल्याण्डको मुद्दालाई छोप्न यता ममता व्यानर्जीले स्वीट्जरल्याण्डको अवधारणा मोर्चामा हाबी गराएको पनि उनीहरू भन्छन्। अनैकौं विकास प्याकेजहरूको घोषणा गर्दै बारम्बार नै ममता व्यानर्जीले दार्जीलिङ जिल्लालाई स्वीट्जरल्याण्ड बनाउने कुरा गरेपनि ती विकास प्याकेजहूरले स्वीट्जरल्याण्ड पटक्क बन्न नसस्ने त जिल्लामा ग्राम पञ्चायत चुनाउ नगर्नु रहेको पनि बतिाएको छ।जति पनि विकास प्याकेजहरू छन् सबै सङरकेन्द्रित गरिएको ले बङ्गालको राजनीति नगर केन्द्रित रहेको अनि आम नागरिक जो गाउँमा बस्छन् उनीहरूलाई शोषण गरेर उपनिवेशवादी शक्तिको स्थापना गरिरहेको पनि भनिएको छ।
भर्खर नै परिवारलाई घुमाउन ल्याएका कृषि व्यवसाय मन्त्री अरुप रोयले सिन्कोनालाई दिल्लीमा आउने वर्ष हुने प्रदर्शनीमा राख्ने भनेर दिएको मन्तव्यलाई नै हेर्नु हो भने पनि बङ्गालका मन्त्रीहरू दार्जीलिङको विकासको निम्ति कति हद्सम्म गम्भीर छन् भन्ने कुरा बुझिन्छ। यता कालेबुङ आएका जेल मन्त्रीले कालेबुङ जेललाई पुनर्निर्माण गर्ने भनेर आश्वासन दिए पनि वास्तवमा शहरको मुटुमा रहेको अंग्रेजकालीन शंसोधनागृहलाई त्यहॉंबाट नै हटाएर अन्यत्र लार्नु पर्ने कुरामा मुख खोल्दै खोलेन्। न त अरूप रोयले पहाडको कृषि उब्जनीलाई राष्ट्रिय बजारमा ल्याउने काइदा नै बताए न त ग्रामीण व्यवसायलाई उन्नतशील बनाउने कुनै कार्ययोजनाको नै घोषणा गरे। अहिले बङ्गालका मन्त्रीहरू दार्जीलिङमा पर्यटक बन्दै आउने क्रम जारी छ। अहिले राज्यपाल पनि पर्यटककोरूपमा दार्जीलिङमा छन्। पारिवारिक कारणमा आएका मन्त्रीहरूले तर आधिकारिकरूपले विकासको आश्वासन दिन छोडेका छैनन्।
यति विघ्न आश्वासनहरू दार्जीलिङले पाइरहेको छ कि सबै नै कार्यान्वयमा आउनु हो भने जीटीएको आवश्कता नै पर्दैन। सबैले अचम्म के मानेको छ भने दार्जीलिङको तीनवटा महकुमाको निम्ति जीटीए नाम गरेर छुट्टै प्रशासनशक्तिको स्थापना गरिएको छ तर विकासको प्याकेजहरू भने सोझै बह्गाल सरकारले गरिरहेको छ। बङ्गाल सरकारको विकास प्याकेजहरूलाई बङ्गालको कोषबाट नै पुरा गर्ने हो कि जीटीएको कोषबाट त्यो पनि अहिलेसम्म स्पष्ट नै छैन। किन भने अहिले बङ्गालको कोष रित्तो छ।
यस्तोमा मुख्यमन्त्री साथ नै लागेर बङ्गालका मन्त्रीहरूले पहाड आउँदै विभिन्न विकासको घोषणा कतै यहॉंबाट विकासको कुरा त्यागेर आन्दोलन गर्ने त होइन? भन्ने डरको परिणति त होइन? भन्ने कुरा उठाउनेहरू पनि धेरै छन्। यता मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खा जनमुक्ति मोर्चासित विकासको निम्ति सम्झौता गरेमा आन्दोलन शिथिल गर्न सकिन्छ अनि विभिन्न विकास योजना र पैसामा आन्दोलनकारीहरूलाई भुल्याउन सकिन्छ भन्ने कुटनीति गरेको हुनसक्ने अनुमान गरिएको भए पनि अब त्यो कुटनीति असफल हुने लक्षण तेस्रो मोर्चा र तेस्रो आन्दोलनले दिएको छ।
यता बह्गालले दिए जति विकास कोषबाट पहाडको विकास पनि हुँदैगर्छ उता छुट्टैराज्यको निम्ति केन्द्रलाई दवाब बनाउने सर्वभारतीय आन्दोलन हुने तेस्रो मोर्चाले बनाएको आन्दोलन योजनाले संकेत दिएको छ। फेरि पनि दार्जीलिङका जम्मै दलहरू एक बनेर आन्दोलन गरे अनि देशभरिका गोर्खाहरूले केन्द्रलाई चापमा पारे ममता व्यानर्जीको मुद्दा दबाउने काइदा काम नलाग्न सक्ने स्पष्ट नै भएको छ। अब हेर्नु छ तेस्रो मोर्चाको आन्दोलनले ममताको मुद्दा दबाउने काइदालाई कसरी असफल पार्ने हो।
वाहनको धक्काले वृद्धाको मृत्यु
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 19 अक्टोबर। स्थानीय बागधारामा भएको बाहन दुर्घटना आज एक वृद्धाले ज्यान गुमाए। डब्ल्यू बी 744जी 8856 नम्बर भएको बोलेरोलाई चालकले पछि गर्दा बाहनको धक्काले साधुधारा निवासी 79 वर्षीया दमियन्ती खड्काको मृत्यु भयो। बहानको पछिबाट धक्का खाएकी वृद्धालाई तुरन्त अस्पताल पुर्याइएपनि तिनी बॉंच्न सकिनन्। घरको निम्ति दूध लिन हिँडेकी वृद्धा घर फर्किन पाइनन्। दूध लिएर घर फर्किरहेको वृद्धाले वाहन पछि सरेको थाहै पाइनन् अनि चालकले पनि आफ्नो वाहनको पछि वृद्धा रहेको पत्तै गरेनन्। फलस्वरूप आज विहानै बागधारामा भएको यस घटनाले दिनभरि नै क्षेत्र शोक मग्न रह्यो। घटनाको लगत्तैपछि पुलिसले चालक प्रकाश गुप्तालाई हिरासतमा लिएको छ भने वाहनलाई पनि थानामा नै लगेर राखिएको छ। चालकविरूद्ध आपीसी धारा 279 304 ए अन्तर्गत मुद्दादर्ता गरिने थानापक्षले बताएको छ। मृतक वृद्धाको शवलाई कालेबुङ महकुमा अस्पतालमा पोस्टमर्टम गरेपछि शव परिवरपक्षलाई सुम्पिएको छ।
डी के वाइबा, कालिमन्युज, कालेबुङ १९ अक्टोबर:सरकारी अधिकारीको वहानले धक्का दिंदा आज दमयन्ति खाती(७९)ले ज्यान गुमाउनु पर्यो। घटना बिहान साढे छ बजेतिर भएको हो । यहाँको बाघधारा छेउ उक्त बृद्ध दूध लिन गएका थिए । सोहि समय डब्ल्यू बी ७४ जी ४८८५ नब्बर भएको वहान चालक प्रोमजी गुप्तले पछि गर्दा उक्त बृद्धलाई धक्का लागरको थियो। तिनलाई धक्का लागेपछि चालकले तत्काल कालेबुङ महकुमा अस्पतालमा भर्ना गरेको थियो पछि अस्पतालमा नै तिनले प्राण त्यागे। उक्त वहान कालेबुङका सह खण्ड बिकाश अधिकारीको हो भन्ने थाहा लागेको छ। घट्ना पछि वहानका चालक अनि वहानलाई कालेबुङ पुलिसले आफ्नो कब्जामा लिएको छ। यता मृतकका परिवार पक्षले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ भने पुलिसले चालकलाई कानुनी कार्वाही गर्दै मुद्दा दर्ता गरेको छ।
भागोपले दलिय एकता जुटाउने पहल समयोचित्
डी के वाइबा, कालिमन्युज, कालेबुङ १९ अक्टोबर: छुट्टै राज्यको निम्ति भगोपले दलिय एकता जुटाउने पहल गरेकोमा भागोपका पूर्व राष्ट्रीय कार्यकारी अध्यक्ष सी के श्रेष्ठले यो समयोचित् रहेको बताएका छन्। तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै भागोपले दलिय एकता जुटाउने कार्य गरेता पनि छुट्टै राज्यको माग १ करोड २५ लाख भारतभरी छरिएर बसेका गोर्खाहरुको रहेको कारण यस मुद्दालाई राष्ट्रीय मुद्दा बनाएर कार्य गर्नु पर्ने पनि तिनले सुझाव राखे। दलिय एकाता जुटेर पनि यदि राष्ट्रीय स्तरमा आन्दोलनलाई अघि बडाउन नसके यो पनि अर्को धोखा हुनसक्ने पनि तिनले जनाए।
तिनले दलिय एकता हुनु महत्वपूर्ण रहेको स्वीकार गर्दै सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रीय स्तरमा बैचारीक मञ्चको तयार भएर गोरखाल्यण्डको ओचित्यलाई बुझाउनु पर्ने पनि श्रेष्ठले जनाए। तिनले बिचारमा एकता नभएसम्म केही नहुने पनि बताउँदै राजनैतिक दलहरुको दलिय एकता भन्दा पनि महत्वपूर्ण बिचारको एकतामा जोड दिए। गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रीय स्रमा उठाएर वयवहारिक दिल्ली जानु ठूलो कुरा होइन तर बैचारिक रुपले तयार र एक भएर दिल्ली गएर सरकारलाई दबाव दिनु महत्व हो भन्ने कुरामा पनि तिनले जोड दिए।
भागोपको पहल स्वागतयोग्य वैचारिक एकताले मात्र सामुहिक आन्दोलन सम्भव-सीके श्रेष्ठ
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 19 अक्टोबर। एक समय भारतीय गोर्खा परिसङ्घका सक्रिय सदस्य रहिआएका नाटककार सीके श्रेष्टले फेरि गोर्खाल्याण्ड आन्दोलनको निम्ति क्षेत्रीय नेताहरूलाई एक गराएर साझा मञ्च तयार गर्ने भागोपको पहल स्वगातयोग्य रहेको बताएका छन्। भागोपको पहल सराहनीय रहेको भएपनि आन्दोलन क्षेत्रीय स्तरमा गरे कुनै फाइदा नरहेको तिनले बताए।
तिनले छुट्टै राज्यको निम्ति राष्ट्रिय स्तरको आन्दोलन हुनपर्ने बताउँदै भने, भागोपले जुन सामुहिकताको अभ्यास गर्दैछ स्वागतयोग्य छ। तर यो जान्नपर्छ कि गोर्खाल्याण्ड आन्दोलन भनेको क्षेत्रीय मुद्दा हुँदै होइन। राष्ट्रिय स्तरमा वैचारिक मञ्च तयार गरिनुपर्छ। सामुहिक एकता भनेको सबै मिलेर बैठक बस्नु भनेको मात्र होइन वैैचारिक स्तरमा एक हुनुपपर्छ।
शारिरिक रूपमा एक भएर हुँदैन विचारमा एक हुन आवश्यक छ। दिल्ली पुग्दैमा आन्दोलन राष्ट्रिय हुँदैन। राष्ट्रिय स्तरको विचार हुन जरूरी छ। दिल्ली व्यक्तिलाई पुर्याउनु होइन विचारलाई पुर्याउनुपर्छ। तिनले अहिलेसम्मको दार्जीलिङ पहाडको राजनैतिक इतिहास नेतृत्वलाई मात्र पछ्याउने कार्य भएको बताउँदै नेतृत्वलाई होइन तर विचारलाई पछ्याउनुपर्ने बताए।
यदि नेतत्वलाई मात्र पछ्याउने कार्य भए परिणति केवल क्षेत्रीय हुने बताउँदै अहिलेको जीटीएमा देशबाहिरका गोर्खाहरूले साह्रै मन दुखाएको अनि बाहिरका गोर्खाहरूले पटक्क मन नपराएको बताए। यसैले भागोपले गर्न लागेको सामुहिकताको आन्दोलन वैचारिक एकताले मात्र पूरा हुने तिनले बताए।
मीडिया अनि होप फ्यामिली ट्रष्टबाट शंखे र मन्दिर गाउँका भुइँचालो पीडितहरूलाई सहयोग
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 19 अक्टोबर। समय दैनिक लगायत कालेबुङका दैनन्दिनी च्यानलले 24 नम्बर समष्टीको सुदुरवर्ती क्षेत्र शंखे र मन्दिर गाउँका भुइँचालो पीडितहरुको अवस्थाचित्र उजागार गरेपछि अनि उनीहरूको सहयोगको अपील गरिएपछि कालेबुङ नगरवासीहरूले उनीहरूको निम्ति प्रशस्त राहत सामाग्रीहरू प्रदान गरेका थिए। प्रदान गरिएका राहत सामाग्रीहरू शिविरमा पुर्याइने काम भएको थियो।
दाताहरूले केवल राहत सामाग्रीहरू मात्र प्रदान नगरेर आर्थिक सहयोग पनि गरेका थिए। सोही आर्थिक राशि पनि दुइ पीडित क्षेत्रका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो। समय दैनिकसित सम्बद्ध दैनन्दिनी च्यानलका क्यामेराम्यान मनोज राईको अगुवाईमा गएको टोलीले मोठ 22 हजार 770 रुपियॉं विद्यार्थीहरूलाई प्रदान गरेको जसमा उच्च कन्या विद्यालयकी आठौं श्रेणीका विद्यार्थी पुजा ठकुरी, पॉंचौं क्षेणीका कमला ठकुरी, एसयुएमआईका आठौं श्रेणीका राजेन ठकुरी, प्रेम कुमार ठकुरी अनि कुमुदिनीका 12 औं श्रेणीका सन्दिप ठकुरीलाई 2800 सयको दरले राहत राशि प्रदान गरेको थियो भने सिलगढीमा फाइनेन्सियल म्यानेजमेन्ट गरिरहेकी सुजाता ठकुरीलाई 5,970 रुपियॉं प्रदान गरिएको थियो।
हिजो मनोज राई कै अगुवाईमा गएको सामाजिक संस्था होप फ्यामिली ट्रष्टले रहेको कालेबुङ महिविद्यालयमा एमए गरिरहेकी निरमाया ठकुरीलाई 2800 सय प्रदान गरिएको ट्रष्टका ट्रष्टी किरण छेत्रीले बताएका छन्। छेत्री लगायत मनोज राई अनि अन्द्रियास थापा, ट्रष्टका 9 जना विद्यार्थीहरूको टोलीले ट्रष्ट लगायत सहयोगीहरूद्वारा प्रदान गरिएको राशिवाट तीन घरहीन परिवारलाई घर बनाइदिन चरणबद्ध सहयोग पनि शुरु गरेको छ। छेत्रीले भवुनसिंह ठकुरी, शिला ठकुरी अनि कमला राईको परिवारको निम्ति घर बनाइदिने योजना शुरू गरेको छ। यसको निम्ति तीन परिवारलाई 25 वटा गरेर घरको च्यादर(छाना) प्रदान गरिएको छ भने क्रमैले उनीहरूलाई काठ, सिमेन्ट अनि अन्य सरसामान पनि प्रदान गरिनेछ।
'भएर होइन उनीहरुलाई आवश्यक रहेकोले उनीहरूको निम्ति घर बनाइदिने योजना ट्रष्टले गरेको हो' किरण छेत्रीले भने। त्यसदिन नै पीडितहरूको स्वास्थ्य जॉंच पनि गरिएको अनि खाद्य सामाग्री र नयॉं लुगाफाटा पनि प्रदान गरिएको छेत्रीले जनाएका छन्।
डी के वाइबा, कालिमन्युज, कालेबुङ १९ अक्टोबर: होप फेमिलि ट्रष्टले भुँइचालो पिडित परिवारहरुलाई राहत सामग्रीहरु वितरण गर्नुको साथै घर ढलेका तीनवटा परिवारहरुलाई २५ वटाको दरले च्यादर पनि बितरण गर्ने कार्य गरेको छ। कालेबुङ महकुमाको लाभा गित बियोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने मन्दिर गाउँ र शंखे गाउँका १५ वटा परिवारहरुलई ट्रष्टले उक्त राहत सामग्री प्रदान गरेको छ। किरण छेत्रीको नेतृत्वमा रहेको टोलीले शिला ठकुरी, भुवनसिंह ठकुरी अनि कमला राईका परिवार पक्षलाई ट्रष्टले च्यादर प्रदान गर्नुको साथै कालेबुङ माहाविद्यालयमा अध्य्यनरत विद्यार्थी निर्माया ठकुरीलाई २८ सय रुपिया आर्थीक सहयोग पनि प्रदान गर्यो। आगामी दिनहरुमा घर ढलेका परिवारहरुलाई घर निर्माणको निम्ति काठको व्यवस्था गर्ने पनि किरण छेत्रीले बताए। आपादमा परेका परिवारहरुलाई मानवताको नातामा सहयोगका हातहरु बडाउँनुनै ट्रष्टको कार्य रहेको पनि तिनले जनाए।
शतकीय प्रकरणमा बसिबियॉंलो राष्ट्रियस्तरको कार्यक्रमको तयारी
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 19 अक्टोबर। सिक्किममा जन्मिएको अनि कालेबुङमा हुर्किएको वैचारिक मञ्च बसिबिँयालोको शतकीय प्रकरण राष्ट्रियस्तरको रहने भएको छ। शतकीय प्रकरणका प्रचारप्रसार संयोजक मनोज वोगटीले जनाए अनुसार कार्यक्रम 5 अनि 6 नोभेम्बरको दिन कालेबुङको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुनेछ। कुनै मान्यता नपाएको, कुनै पनि औपचारिक पदाधिकारीहरू नरहेको, सरकारी सहुलियत तथा भाषा साहित्यको श्रीवृद्धिका निम्ति स्थापना भएका साहित्य अकादमी लगायत कुनै पनि सरकारी वा गैरसरकारी साहित्यिक संस्था-सङ्गठनहरूको सहयोग र सहभागिताबाट वञ्चित बसिबिँयालो मञ्चले आफ्नै बलबुतामा यसरी दुइदिन व्यापी कार्यक्रम आयोजना गर्ने साहस गरिरहेको पनि तिनले जनाएका छन्।
बसिबियॉंलोलाई संस्थापक सदस्य सी.के. श्रेष्ठले सिर्जनशीलहरूको निम्ति गणतान्त्रिक मञ्च रहेको बताए। तिनले सिक्किमका साहित्यानुरागी संस्थापक सदस्यहरूलाई स्मरण गर्दै बसिबियॉंलोले उन्मुक्त विचार राख्ने मञ्चकोरूपमा स्थापित गरिएको जहॉं कुनै पनि औपचारिकता नरहेको बताए।
मनोज वोगटीले पहिलोदिन बसिबिँयालो अनि मध्यममार्गको संयुक्त तत्वावधानमा सम्पन्न हुने कार्यक्रममा नेपाली भाषी कवि, कलाकार, नाटककार, सङ्गीत संस्थाहरूद्वारा विभिन्न कार्यक्रम हुने अनि सोही दिन केटीभीले निर्माण गरेको वृत्तचित्रको प्रदर्शन गरिने पनि बताए। तिनले यसैदिन टीएन सुवेदीको बाल कविता संग्रह, हीरा छेत्रीको व्यङ्ग्य संग्रह, शमशेर अलीको कविता संग्रह, शिव छेत्रीको बाल पत्रिका अनि बसिबियॉंलोको स्मारिकाको विमोचन हुने लगायत यसदिन कालेबुङका वरिष्ट सर्जकलाई गाउँबुढाको पदवी पनि प्रदान गरिने बताए। तिनी अनुसार दोस्रो दिन सिक्किम बसिबियॉंलो परिवारले आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्ने बताउँदै जन्मथलोका सर्जकहरूले पनि कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याइरहेको अनि यसको निम्ति संस्थापक किरण रसाइलीको संयोजकत्वमा सिक्किममा अस्थायी समिति समेत गठन गरिएको पनि बताए।
दोस्रो दिनको कार्यक्रममा भद्रेको टोलीले सामुहिक कविता आवृति गर्ने अनि मुख्यरुपले त्यसदिनको आकर्षण भने तेलेगु, मैथिली, बोडो, पञ्जावी, हिन्दी, बङ्गाली अनि भोजपुरी भाषाका देशका विभिन्न प्रान्तका सर्जकहरूले आफ्नै सिर्जना कालेबुङलाई हिन्दी र अंग्रेजीमा सुनाउने रहेको पनि वोगटीले जनाएका छन्। तिनले कार्यक्रमको निम्ति साहित्य एकादमीलाई पनि पत्रचार गरेको बताउँदै अन्तिमदिनको कार्यक्रममा बसिबियॉंलोले संचालन गरेको चिठ्ठा खेलको फलफलको घोषणा हुने अनि दुवै दिनको कार्यक्रममा पुस्तक बिक्रि केन्द्र पनि राखिने जनाएका छन्।
नगरपालिका चुनाउः कमान महिलाको हातमा?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 19 अक्टोबर। यसपल्ट नगरपालिका चुनाउमा कमान महिलाहरूको हातमा जाने स्पष्ट छ। जुन जुन वार्डबाट अघिबाट नगरपालिका चुनाउ जितिसकेका छन् उनीहरूमा धेरैले यसपल्ट चुनाउ आफ्नो क्षेत्रबाट उठ्न नपाउने देखिएको छ। मुख्यगरी वार्ड न 1 मा मोर्चा नेता प्रवीण रहपाल उठ्ने गरेका थिए भने यसपल्ट त्यहॉं महिला आरक्षण सीट परेको छ। अर्कोतिर पूर्व नगरउपाध्यक्ष बिजय सन्दासको वार्ड पनि महिला आरक्षित छ। मुख्य कुरा बजारवरिपरिका धेरै वार्ड महिला आरक्षित रहेको छ। 30 अक्टोबरको दिन जारी गरिएको नोटिफिकेशन अनुसार कालेबुङ नगरको 23 वटा वार्डमा 14 वटा सीट आरक्षित छन्। वार्ड 17, 21 अनि 22 लाई सेड्युल कास्टको निम्ति आरक्षित छ भने 2, 9 अनि 19 सेड्युल ट्राइबको निम्ति आरक्षित। यसमा महिला पुरुष जो पनि उम्मेद्वार बन्न सक्ने छन्। आठवटा वार्डलाई भने महिलाहरूको निम्ति आरक्षण दिइएको छ। यसमा महिला आरक्षित सीट एससी(सेड्युल कास्ट)को निम्ति छैन तर एसटी(सेड्युल ट्राइब) को निम्ति भने 2 र 19 नम्बर वार्ड सुरक्षित रहेको छ।
महिला आरक्षित तर जेनरलको निम्ति भने 1, 5, 8, 12, 15 अनि 20 नम्बार वार्ड सुरक्षित छ। यसबाट रहेका जम्मै वार्ड र सीट खुल्ला उम्मेद्वारहरूको निम्ति राखिएको छ। मुख्यमुख्य वार्डहरूको सीट महिलाहरूको निम्ति आरक्षित रहेकोले यसपल्ट गोर्खा जनमुक्ति मोर्चाका नारी मोर्चाबीचबाट निक्कै घमासन हुने देखिएको छ।
गरीबको घरमा घोटालाःमाकपाको खबरदारी
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 19 अक्टोबर। गरीबको घर बनाउन आएको योजना र राशिभित्र घोटाला र सरकारी मनपरितन्त्र लगामहीन बनेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। इन्टिग्रेटेड हाउजिङ स्लम डेभलोपमेन्ट प्रोजेक्टबाट कालेबुङ नगरपालिका क्षेत्रमा रहेका स्लमहरूको घर बनाउन आएको योजनाराशिमा यस्तो धॉंधली मच्चिएको सुन्दासको आरोप हो। यो योजना अन्तर्गत कालेबुङ नगरका मोठ 567 परिवारका घर बनाउन 11 करोड, 98 लाख 68 हजार राशि अनुमोदित छ। तर सुन्दासको आरोप सबै राशिमा घर निर्माण नगरिएको मात्र होइन आएको राशिलाई पूर्णप्रयोगसमेत नरिएकोमा छ। 'घर योजना र नियम अनुरूपको बनिएको छैन। आएको राशि पनि सबै प्रयोग गरिएको छैन। किन भने राशि घर बनाउन मात्र होइन घरसित नै अरु कुराहरूको निर्माण गर्नको निम्ति पनि आएको छ' सुन्दासको भनाइ छ। तिनी अनुसार 6 करोड 37 लाख 88 हजारमा घर बनाउन 26 दिसम्बर 2008 मा नै टेण्डर भएको हो।
11 करोड, 98 लाख 68 हजार राशिको सम्पूर्ण प्रकल्पमा आधाभन्दा धेर राशिको मात्र टेण्डर भएको छ। योजना अनुसार एउटा घर बनाउँदा 1 लाख 12 हजार 5 सय खर्च गर्नुपर्छ। यतिले घर बनाएर मात्र हुँदैन, घरसित नै अन्य कुराहरूको निर्माण पनि गरिनुपर्छ। घर बनाउने राशि बाहेक पनि नालाहरू निर्माण गर्नको निम्ति 1 करोड 49 लाख, फुटपात बनाउनको निम्ति 71 लाख 40 हजार, बजारदेखि घरसम्म पुग्ने अलकत्रे सडक बनाउन 43 लाख 13 हजार, गोरेटो बनाउन 5 लाख 78 हजार, बिजुली बत्तीको निम्ति 9 लाख 52 हजार, वरिपरि बारबेर गर्न वा फेन्सिङ गर्न 1 लाख 66 हजार, सुरक्षा देवालको निम्ति 1 करोड 7 लाख 89 हजार, पानी सर्वराहको निम्ति 15 लाख 12 हजार, डाइजेस्टरको निम्ति 34 लाख 44 हजार, जीविकोपार्जनको निम्ति 20 लाख 75 हजार, सामुदायिक केन्द्रको निम्ति 86 लाख 33 हजार, सूचना बजारको निम्ति 5 लाख 41 हजार अनि वस्तुभाव राख्नको निम्ति 9 लाख 47 हजार पनि घर बनाउने राशिसित नै अनुमोदित छ। 'यी जम्मै राशि नगरपालिकाले खै कहॉं प्रयोग गरेको छ? यो राशि कहॉं लगिएको छ? जुन घरहरू बनाइएको छ त्यो 25 बाई 25 को हुनुपर्ने तर किन 10 वाई 20 र 15 वाई 15 को छ? किन ठीक घर बनाउनको निम्ति ठीक राशिको प्रयोग भएन?' यहीनेर सुन्दासको प्रश्न रहेको छ। सुन्दासले यसमा अधिकारीले प्रतिशत खाएको आरोप पनि लगाएका थिए तर त्यसको जवाब नगरपालिकाका कर्मचारीहरूबाट दिइएकोले तिनले नगरपालिकाका कर्मचारीहरू पनि प्रतिशत खानेमा हुनसक्ने शंका गरेका छन्। 'मैले त सिलगढी इञ्जिनियरिङ डाइरेक्टरलाई आरोप लगाएको थिएँ, तर त्यसको स्पष्टिकरण नगरपालिका कर्मचारीबाट आयो' तिनले भने।
यता जसजसले पनि घर बनाउने ठेकेदारी पाएका छन् उनीहरूले पनि सुन्दासलाई तोकेर नोक्सानीमा घर बनाइरहेको अनि आफूहरूलाई महकुमा अधिकारीले जबरजस्ती घर बनाइदिन कर गरेको भनेर स्पष्टिकरण दिएको भन्दै तिनले नोक्सानीमा कसैले पनि काम नगर्ने बताए।'एउटा घरको तीनजनाले ठेकेदार पाएका छन्। त्यसमा ठेकेदारका श्रीमती र भाइ पनि छन्। नोक्सानीमा हुनु हो भने तीनजना एउटै घरका त्यो पनि सुरुक समथारबाट आएर नगरको काम गर्दै नगर्नु पर्ने हो' तिनले भने। सुन्दास अनुसार घर सबै बनाउने राशि अनुमोदित रहे पनि घर भने 383 वटा मात्र बनिएको अनि त्यो पनि उचितरुपले नबनिएको आरोप पनि छ। आधा जस्तो राशि अझ पनि रहेको अनि घरबाहेक अन्य कामको निम्ति आएको राशि पनि रहेको सुन्दासले जनाएका छन्।'11 दिसम्बरमा नगरपालिका चुनाउ भइरहेकोछ। चुनाउको बेला कुनै पनि काम हुँदैन। यसकारण चुनाउ अघि नै गरीबहरुको घर बनि सक्नु पर्छ। नत्र रहल राशिबाट भुइँचालोको कारण घरहीन भएकाहरूको घर बनिनुपर्छ' सुन्दासले थपे। यता सुन्दासले घरहरू ठीकसित नभएको भए पनि रिपोर्टमा भने ठीकसित घर बनिएको अनि बील पनि उसरी नै भुक्तान भइरहेको पनि जनाएका छन्। जसको घर बनिनुपर्ने हो उनीहरूको नाम पनि सार्वजनिक नरहेको पनि तिनको आरोप छ। 'रहल 5 करोड 60 लाख 80 हजारलाई उचितरुपले सदुपयोग नगरिए माकपाले न्यायलयमा मुद्दा हाल्ने छ'सुन्दासले नगरपालिका प्रसासनलाई चुनौती पनि दिएका छन्।

No comments:
Post a Comment